मितिः २०८२ साल कार्तिक २१ गते
स्थानः काठमाडौं
विषयः नर्सहरूको अस्तित्व, आत्मसम्मान र अधिकारको प्रश्नमा अब मौन बस्न सकिँदैन
नेपाल नर्सिङ संघका वर्तमान नेतृत्व समक्ष,
हामी सम्पूर्ण नर्सहरू, स्वास्थ्यकर्मीहरू तथा नर्सिङ पेशाप्रति समर्पित सच्चा सन्तानहरूको तर्फबाट यो खुला पत्र प्रस्तुत गर्दछौं।
हामी वर्षौंसम्म आशामा थियौं —
शायद कुनै दिन हाम्रो संघले हाम्रो आवाज बोल्नेछ, हाम्रो पसिना र आँसुको मूल्य बुझ्नेछ र नर्सहरूको पक्षमा दृढतापूर्वक उभिनेछ भनेर।
तर आजको वास्तविकता भिन्न छ।
१. नेतृत्वको मौनता र घमण्डले नर्सहरूको अस्तित्व संकट
नेतृत्व भनेको जिम्मेवारी हो, विशेषाधिकार होइन। तर आज संघको नेतृत्व आत्मकेन्द्रित अहंकार र मौनताको खोलमा हराएको छ। हामी आन्दोलनरत छौं, सडकमा छौं, अन्यायविरुद्ध बोल्दैछौं, वर्षौंदेखि न्यायको माग गर्दैछौं, तर संघको आधिकारिक आवाज मौन छ। “मौनता पनि कहिलेकाहीँ अन्यायको साथ दिनु जत्तिकै अपराध हुन्छ।” अधिकारका पक्षमा बोल्नुपर्ने बेला मौन रहनु, नीतिगत र नैतिक दुवै दृष्टिले अस्वीकार्य छ।
२. अब नर्सहरूले आफ्नै संगठन पुनः निर्माण गर्ने
नेपाल नर्सिङ संघ सबै नर्सहरूको साझा संस्था हो —केवल कुर्सीमा बस्ने केही व्यक्तिहरूको स्वामित्व होइन। अब हामी संघलाई फेरि नर्सहरूको साँचो आवाज बनाउनेछौं। वर्षौंदेखि चपेटामा परेको नर्सिङ पेशालाई न्याय दिलाउनेछौं। जो नेतृत्व गर्न सक्छ, इच्छाशक्ति र निस्वार्थ भावना बोकेका छन् —ती सबै नर्सहरूलाई अगाडि आउन आह्वान गर्दछौं। संघले २४ घण्टाभित्र आफ्नो भूमिका स्पष्ट गर्नुपर्छ। यदि सकिँदैन भने, सामूहिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेर नयाँ नेतृत्वलाई बाटो खुला गरिदिनुहोस्। संघको ताला लगाएर बस्ने वा पदका नाममा निष्क्रिय रहने अधिकार कुनै पनि पदाधिकारीको व्यक्तिगत सम्पत्ति होइन।
३. आन्दोलनरत नर्सहरूलाई धम्की र दवाव दिन बन्द गर
नर्सहरूलाई धम्क्याउने, दवाव दिने वा झुटा आश्वासनद्वारा आफ्ना बुनियादी मागहरूबाट विचलित पार्ने सबै क्रियाकलापको हामी कडा निन्दा गर्दछौं। हामी शान्तिपूर्ण, व्यावसायिक र न्यायोचित आन्दोलनमा छौं। हामीलाई “पेशा प्रति निष्ठावान” भनाएर मौन बनाउन खोज्नेहरूलाई स्पष्ट सन्देश —अब नर्सहरू डराउँदैनन्, र आफ्ना अधिकारका लागि पछि हट्दैनन्।
४. हाम्रा मागहरू स्पष्ट, न्यायोचित र व्यावहारिक छन्।
सरकारी मापदण्डअनुसार नर्सहरूको न्यायोचित पारिश्रमिक सुनिश्चित गर।
निजी अस्पताल र मेडिकल कलेजहरूमा हुने श्रमशोषण अन्त्य गर।
पेशागत सुरक्षा, बीमा र सम्मानजनक व्यवहार सुनिश्चित गर।
संघले आफ्ना सदस्यहरूको पक्षमा स्पष्ट र साहसी आवाज उठाओस्।
नेतृत्वबाट भाग्ने वा जिम्मेवारी टार्ने अभ्यास अब टिक्ने छैन।
५. नेतृत्वको आत्ममूल्यांकन अपरिहार्य
आदरणीय चन्द्रकला शर्मा म्याडम, हामी तपाईंको दीर्घ शिक्षण, अनुभव र योगदानको आदर गर्छौं। तर नेतृत्वमा बसेर जिम्मेवारी निर्वाह गर्न असफल हुनु गल्ती होइन, तर गल्ती स्वीकार नगर्नु नेतृत्वको कमजोरी हो। हामी तपाईंलाई सदैव सम्मान गर्छौं, तर तपाईंको मौनता र निष्क्रियता प्रति अब हामी मौन रहन सक्दैनौं। तपाईंको मौनताले नर्सिङ पेशाको भविष्य, विशेषतः नयाँ पुस्ताको आत्मविश्वासमा प्रत्यक्ष असर पारेको छ। देशको दक्ष जनशक्ति मानसिक थकानका कारण विदेशिन बाध्य भएको यथार्थ गम्भीर चिन्ताको विषय हो। हामी नेपालमै बसेर आफ्नो भविष्य देख्न चाहन्छौं —तर त्यसका लागि संघले नेतृत्वको जिम्मेवारी उठाउनैपर्छ।
६. नयाँ पुस्ता अब नयाँ इतिहास लेख्दै
हिजो आधा जितेका थियौं, आज पूर्ण विजयको तयारीमा छौं। हाम्रो आवाज साँचो छ, उद्देश्य शुद्ध छ, त्यसैले हामीलाई रोक्न सकिँदैन अग्रजहरू प्रति सम्मान सदैव रहन्छ, तर अन्यायविरुद्ध बोल्ने अधिकार सबैको हो। हामी यो देशका स्वास्थ्यकर्मी, न्यायका प्रहरी र नर्सिङ आत्माका संरक्षक हौं।
आज नर्सिङ पेशामा अन्यायविरुद्ध उठेका दुई निडर आवाजहरू —
जिता बराल र ज्योति रनाभाट —
हाम्रो लागि प्रेरणाका प्रतीक हुन्।
उहाँहरू केवल नर्स मात्र होइनन्,
बरु यो पेशामा भइरहेको शोषण, दमन र मौनताको विरोधमा उठेको साहसिक प्रतीक हुन्।
हामी हृदयदेखि नै जिता बराल म्याम र ज्योति रनाभाट म्यामलाई
न्यायको पक्षमा उभिनुभएको साहस र नेतृत्वका लागि गहिरो सम्मान र साथ व्यक्त गर्दछौं।
७. नेतृत्वका नाममा मौनता अब स्वीकार्य छैन
यदि तपाईंहरू साँच्चै नर्सहरूको प्रतिनिधि हुनुहुन्छ भने हामीसँगै उभिनुहोस्। हाम्रो आवाजको कदर गर्नुस्, न्यायको पक्षमा बोल्नुस्।
नत्र इतिहासले तपाईंहरूलाई दोषी ठहराउनेछ र आउने पुस्ताले तपाईंहरूलाई धिक्कार्नेछ।
हामी नर्सहरू अब मौन छैनौं।
हामी संगठित छौं, सचेत छौं, र न्यायका लागि अडिग छौं।
“न्याय त जसरी पनि लिन्छौं।”
अब आउने पुस्ताका नर्सहरू
शोषण र दमनमा होइन, न्यायका देवी भएर गर्वका साथ यो पेशामा आउनेछन्।
सबै आन्दोलनरत नर्स र स्वास्थ्यकर्मीहरूको तर्फबाट
“हामी नर्सहरू अब मौन छैनौं।”
