नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालले अत्यन्त उच्च उमेरकी वृद्धामा जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी चिकित्सा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । काठमाडौँ कोटेश्वर निवासी १०३ वर्षीया महिलाको मस्तिष्कमा भएको ठूलो रक्तस्रावको शल्यक्रिया सफल भएपछि हाल उहाँको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ ।
वीर अस्पतालको न्युरोसर्जरी विभागका प्रमुख वरिष्ठ न्युरोसर्जन डा. राजीव झाका अनुसार यति उच्च उमेरका बिरामीमा मस्तिष्क शल्यक्रिया गर्नु चिकित्सकीय रूपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ । यद्यपि, जोखिम हुँदाहुँदै पनि शल्यक्रिया सफल हुनु अस्पतालका लागि गर्वको विषय भएको उहाँले बताउनुभयो ।
परिवारका सदस्यका अनुसार ती वृद्धालाई करिब एक महिनादेखि लगातार टाउको दुख्ने तथा पटक–पटक लड्ने समस्या देखिँदै आएको थियो । सुरुमा उमेरजन्य कमजोरी ठानिए पनि दुई दिनसम्म निरन्तर बेहोस भएपछि उहाँलाई नजिकैको अस्पताल लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीर अस्पताल रेफर गरिएको थियो ।
वीर अस्पतालको इमरजेन्सी कक्षमा ल्याउँदा बिरामी अचेत अवस्थामा रहेको र विस्तृत परीक्षण गर्दा मस्तिष्कमा ठूलो सबड्युरल रक्तस्राव भएको पुष्टि भएको अस्पतालले जनाएको छ । चिकित्सकहरूका अनुसार यस्तो अवस्थामा तत्काल शल्यक्रिया आवश्यक पर्थ्यो तर बिरामीको १०३ वर्षको उमेरले निर्णय झन् जटिल बनेको थियो ।
शल्यक्रियाको जोखिम, सम्भावित जटिलता र नतिजाबारे चिकित्सक टोलीले परिवारसँग विस्तृत छलफल गरेपछि शल्यक्रिया गर्ने सामूहिक निर्णय गरिएको थियो । डा. राजीव झाको नेतृत्वमा डा. समीर आर्याल, डा. नम्रता खड्का, डा. आयुष विमली तथा नर्स सिन्धु गौतमसहितको टोलीले शल्यक्रिया सम्पन्न गरेको हो ।
शल्यक्रियापछि बिरामीको अवस्थामा क्रमिक सुधार देखिएको र हाल उहाँ पूर्ण होसमा रहेको अस्पतालले जनाएको छ । उहाँ बोल्न सक्ने, आफैं खाना खान सक्ने अवस्थामा रहेको र छिट्टै डिस्चार्ज गर्ने तयारी भइरहेको डा. झाले जानकारी दिनुभयो ।
डा. झाका अनुसार १०० वर्षभन्दा माथिका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया विश्वमै निकै दुर्लभ मानिन्छ । अन्तर्राष्ट्रिय रूपमा यस्ता केसहरू निकै कम मात्र रिपोर्ट भएका छन् । चिकित्सा विज्ञहरूका अनुसार अत्यधिक उमेर, कमजोर शारीरिक अवस्था र शल्यक्रियापछिका जटिलताका कारण यस्ता बिरामीमा प्रायः शल्यक्रिया नगर्ने चलन छ ।
यस सफलताले वीर अस्पतालको न्युरोसर्जरी विभागको क्षमता र नेपाली चिकित्सा क्षेत्रको दक्षतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको डा. झाले बताउनुभयो ।
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
सोमबार, चैत २, २०८२
चिकित्सक अचेत अवस्थामा फेला
आइतबार, चैत १, २०८२
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
अल्झिएको चिकित्सक संघको चुनावः समाधान खोज्दै निर्वाचन समिति
आइतबार, चैत १, २०८२
