नेभिगेशन

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया

नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालले अत्यन्त उच्च उमेरकी वृद्धामा जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी चिकित्सा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । काठमाडौँ कोटेश्वर निवासी १०३ वर्षीया महिलाको मस्तिष्कमा भएको ठूलो रक्तस्रावको शल्यक्रिया सफल भएपछि हाल उहाँको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ ।

वीर अस्पतालको न्युरोसर्जरी विभागका प्रमुख वरिष्ठ न्युरोसर्जन डा. राजीव झाका अनुसार यति उच्च उमेरका बिरामीमा मस्तिष्क शल्यक्रिया गर्नु चिकित्सकीय रूपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ । यद्यपि, जोखिम हुँदाहुँदै पनि शल्यक्रिया सफल हुनु अस्पतालका लागि गर्वको विषय भएको उहाँले बताउनुभयो ।

परिवारका सदस्यका अनुसार ती वृद्धालाई करिब एक महिनादेखि लगातार टाउको दुख्ने तथा पटक–पटक लड्ने समस्या देखिँदै आएको थियो । सुरुमा उमेरजन्य कमजोरी ठानिए पनि दुई दिनसम्म निरन्तर बेहोस भएपछि उहाँलाई नजिकैको अस्पताल लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीर अस्पताल रेफर गरिएको थियो ।

वीर अस्पतालको इमरजेन्सी कक्षमा ल्याउँदा बिरामी अचेत अवस्थामा रहेको र विस्तृत परीक्षण गर्दा मस्तिष्कमा ठूलो सबड्युरल रक्तस्राव भएको पुष्टि भएको अस्पतालले जनाएको छ । चिकित्सकहरूका अनुसार यस्तो अवस्थामा तत्काल शल्यक्रिया आवश्यक पर्थ्यो तर बिरामीको १०३ वर्षको उमेरले निर्णय झन् जटिल बनेको थियो ।

शल्यक्रियाको जोखिम, सम्भावित जटिलता र नतिजाबारे चिकित्सक टोलीले परिवारसँग विस्तृत छलफल गरेपछि शल्यक्रिया गर्ने सामूहिक निर्णय गरिएको थियो । डा. राजीव झाको नेतृत्वमा डा. समीर आर्याल, डा. नम्रता खड्का, डा. आयुष विमली तथा नर्स सिन्धु गौतमसहितको टोलीले शल्यक्रिया सम्पन्न गरेको हो ।

शल्यक्रियापछि बिरामीको अवस्थामा क्रमिक सुधार देखिएको र हाल उहाँ पूर्ण होसमा रहेको अस्पतालले जनाएको छ । उहाँ बोल्न सक्ने, आफैं खाना खान सक्ने अवस्थामा रहेको र छिट्टै डिस्चार्ज गर्ने तयारी भइरहेको डा. झाले जानकारी दिनुभयो ।

डा. झाका अनुसार १०० वर्षभन्दा माथिका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया विश्वमै निकै दुर्लभ मानिन्छ । अन्तर्राष्ट्रिय रूपमा यस्ता केसहरू निकै कम मात्र रिपोर्ट भएका छन् । चिकित्सा विज्ञहरूका अनुसार अत्यधिक उमेर, कमजोर शारीरिक अवस्था र शल्यक्रियापछिका जटिलताका कारण यस्ता बिरामीमा प्रायः शल्यक्रिया नगर्ने चलन छ ।

यस सफलताले वीर अस्पतालको न्युरोसर्जरी विभागको क्षमता र नेपाली चिकित्सा क्षेत्रको दक्षतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको डा. झाले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट