नेभिगेशन

गर्भावस्थामा पारासिटामोल सुरक्षित रहेको नयाँ अध्ययनको निष्कर्ष

नेपाल हेल्थ न्युज, काठमाडौं । गर्भावस्थाका क्रममा पारासिटामोल प्रयोग गर्दा बच्चामा अटिजम वा विकाससम्बन्धी समस्या बढ्ने भन्ने दाबीलाई नयाँ वैज्ञानिक अध्ययनले अस्वीकार गरेको छ। हालै प्रकाशित एक विस्तृत अध्ययनले चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्दा पारासिटामोल सुरक्षित रहेको निष्कर्ष निकालेको हो।

यस अध्ययनका अनुसार पारासिटामोल र बच्चामा अटिजमबीच प्रत्यक्ष सम्बन्ध देखिने कुनै ठोस प्रमाण फेला परेको छैन। यसअघि केही वर्षयता पारासिटामोलको प्रयोगलाई लिएर विवाद उत्पन्न भएको थियो, जसले गर्भवती महिला र स्वास्थ्यकर्मीहरूमा अन्योल सिर्जना गरेको थियो।

विश्वप्रसिद्ध चिकित्सा जर्नल लान्सेट अब्स्टेट्रिक्स, गाइनोकोलोजी एन्ड वुमन्स हेल्थ मा प्रकाशित यस समीक्षा अध्ययनमा गर्भावस्थामा पारासिटामोल प्रयोगसम्बन्धी ४३ वटा अनुसन्धानलाई विश्लेषण गरिएको थियो। ती अध्ययनहरूमा लाखौं महिलाको तथ्यांक समेटिएको थियो।

अनुसन्धानमा औषधि सेवन गर्ने र नगर्ने आमाहरूबीच तुलना गरिएको थियो। विश्लेषणपछि पारासिटामोलले गर्भको बच्चामा अटिजमको जोखिम बढाउँछ भन्ने कुनै प्रमाण नभेटिएको अध्ययन टोलीले जनाएको छ।

अध्ययनकी प्रमुख लेखक तथा परामर्शदाता अब्स्टेट्रिसियन प्रोफेसर आस्मा खालिलका अनुसार, ‘हाम्रो निष्कर्ष स्पष्ट छ। चिकित्सकको निर्देशनमा प्रयोग गरिएमा पारासिटामोल गर्भावस्थामा सुरक्षित विकल्प हो।’

लण्डनस्थित सेन्ट जर्ज युनिभर्सिटीकी प्रोफेसर समेत रहेकी खालिलले पारासिटामोल गर्भवती महिलामा ज्वरो वा दुखाइको उपचारका लागि पहिलो रोजाइको औषधि भएको बताउनुभयो।

नयाँ अध्ययनले यस विषयमा फैलिएको भ्रम चिर्दै गर्भवती महिलालाई अनावश्यक डरबाट मुक्त गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ