डा. उज्ज्वल चालिसे करिब १५ वर्षदेखि क्यान्सर उपचार, अनुसन्धान र अस्पताल व्यवस्थापनमा सक्रिय एक अग्रणी चिकित्सक हुनुहुन्छ । उहाँ अहिले भक्तपुर क्यान्सर हस्पिटलका कार्यकारी निर्देशकको भूमिकामा हुनुहुन्छ । क्यान्सरको प्रमाणिक, वैज्ञानिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उपचार विस्तार गर्नेतर्फ उहाँ निरन्तर लागिरहनुभएको छ ।
उहाँ क्यान्सरको छिटो पहिचान, अत्याधुनिक डायग्नोस्टिक प्रविधिको प्रभाव र न्युक्लियर मेडिसिन सेवाको सरकारी स्तरमा विकासका बारेमा स्पष्ट दृष्टि राख्नुहुन्छ । यसै क्रममा नेपाल सरकारद्वारा उपलब्ध गराइएको बजेटमार्फत भक्तपुर क्यान्सर हस्पिटलमा पेट (पोजिट्रोन इमिसन टोमाग्राफी) सिटी स्क्यान स्थापना गर्ने प्रक्रियालाई उहाँले नेतृत्व गरिरहनुभएको छ ।
प्रश्न १ः क्यान्सरको छिटो निदान किन अत्यन्त महत्वपूर्ण मानिन्छ ?
क्यान्सर सुरुका चरणमा प्रायः लक्षण नदेखिने रोग हो । शरीरको कुनै भित्री अंगमा शान्त रुपमा विकास भएर बिस्तारै फैलिँदै जान सक्छ, जसलाई महिनौँ लाग्नसक्छ । सुरुमा नै पत्ता लगाउन सकियो भने उपचार अत्यन्त प्रभावकारी हुन्छ र धेरैजसो अवस्थामा रोग पूर्ण रूपमा निको पार्न सकिन्छ । त्यसैले छिटो निदान अत्यन्त महत्वपूर्ण हुन्छ ।
प्रश्न २ः पेट सिटी क्यान्सर निदानमा किन आवश्यक मानिन्छ ?
सामान्य सिटी स्क्यानले शरीरभित्रका संरचना कालो–सेतो (ब्ल्याक एन्ड ह्वाइट) रूपमा देखाउँछ । तर पेट सिटी स्क्यानमा रेडियो आइसोटोपको माध्यमबाट क्यान्सरग्रस्त भाग रंगिन देखिन्छ । क्यान्सर भएको क्षेत्रमा ग्लुकोजको अप्टेक असामान्य हुन्छ, पेट सिटीले त्यही ट्रेस गर्छ । यसले क्यान्सर छ कि छैन, कति फैलिएको छ, उपचार कत्तिको प्रभावकारी छ—यी सबै कुरामा सटीक जानकारी दिन्छ । रेडिएशन पनि न्युन मात्रामा हुन्छ र शरीरका अन्य अंगलाई हानी गर्दैन ।
प्रश्न ३ः पेट सिटीबिनै नेपालमा क्यान्सर कसरी स्टेजिङ गरिँदै आएको छ ?
हालसम्म नेपालमा पेट सिटी पर्याप्त रूपमा उपलब्ध नभएकाले सिटी स्क्यान र एमआरआईमार्फत् क्यान्सरको चरण (स्टेज) पत्ता लगाउने र सोही आधारमा उपचार गर्ने प्रचलन छ । विकसित राष्ट्रमा भने पेट सिटी बिना क्यान्सर स्टेजिङ् प्रायः गरिँदैन ।
प्रश्न ४ः भक्तपुर क्यान्सर हस्पिटलले पेट सिटी सेवा कहिले उपलब्ध गराउने लक्ष्य राखेको छ ?
यस वर्ष नेपाल सरकारबाट पेट सिटी स्क्यान खरीदका लागि बजेट प्राप्त भइसकेको छ । हामी प्राविधिक अध्ययनको अन्तिम चरणमा छौँ र चाँडै टेन्डर प्रक्रिया अगाडि बढाउँदैछौँ । केवल पेट सिटी स्क्यान मात्र होइन, हस्पिटलमै न्यूक्लियर मेडिसिन विभाग स्थापना गर्ने तयारीमा छौँ ।
प्रश्न ५ः न्यूक्लियर मेडिसिन भनेको के हो ?
न्यूक्लियर मेडिसिन दुई भागमा विभाजित हुन्छ—
कः डायग्नोस्टिक (रोग पत्ता लगाउने)
- पेट स्क्यान
- बोन स्क्यान
- गामा क्यामेरा
यी सबैमा सूक्ष्म रेडियो आइसोटोप प्रयोग गरिन्छ ।
ख.थेराप्युटिक (उपचार गर्ने)
केही क्यान्सरहरूमा रेडियो–आइसोटोपको माध्यमबाट प्रत्यक्ष उपचार गरिन्छ । नेपालमा निजी क्षेत्रमा भने केही सेवा सुरु भए पनि सरकारी स्तरमा न्युक्लियर मेडिसिन विभाग स्थापना गर्ने हाम्रो प्रयास ऐतिहासिक कदम हुनेछ ।
प्रश्न ६ः भक्तपुर क्यान्सर हस्पिटलमा न्यूक्लियर मेडिसिन विभाग स्थापना किन आवश्यक भएको हो ?
सरकारी अस्पतालमा हालसम्म यी सेवाहरू उपलब्ध छैनन् । क्यान्सरको सही निदान र प्रभावकारी उपचारका लागि न्युक्लियर मेडिसिन अत्यावश्यक भएकाले हामी यस वर्षदेखि नै यसको पूरै विभाग स्थापनाका लागि अघि बढिरहेका छौँ ।
प्रश्न ६ः बिरामीहरूले पेट सिटी सेवाको प्रत्यक्ष उपयोग कहिलेदेखि गर्न पाउनेछन् ?
यो आर्थिक वर्षमै खरीद प्रक्रिया सम्पन्न गर्ने लक्ष्य छ । उपकरण जडान र तयारीका लागि थप २–४ महिना लाग्न सक्छ । त्यसपछि भक्तपुर क्यान्सर हस्पिटलमा पेट सिटी सेवा सुरु हुनेछ ।
प्रश्न ७ः पेट सिटी नभएको कारण रोग पत्ता लगाउन र उपचारमा ढिलाइ हुने खतरा कति हुन्छ ?
हो, पेट सिटी नहुँदा रोग पहिचानमा ढिलाइ हुनसक्छ । हाम्रो हस्पिटलमा धेरै आधुनिक डायग्नोस्टिक परीक्षण उपलब्ध भए पनि पेट सिटी नभएकै कारण धेरै बिरामीलाई निजी क्षेत्र वा भारतजस्ता देशमा जानुपर्ने बाध्यता छ ।
यसले–
- आर्थिक बोझ
- समयको बर्बादी
- अनावश्यक झन्झट
जस्ता समस्या बढाइरहेको छ । कतिपयले महँगो भएकाले पेट सिटी नै गर्न सक्दैनन् । यस्तो अवस्थामा सही स्टेजिङ नहुन सक्छ । उदाहरणका लागि—हामीले सिटी वा एमआरआईको आधारमा स्टेज–थ्री भनेको बिरामी पेट सिटी गरेपछि शरीरका अन्य भागमा फैलिएको स्टेज– चार पनि हुनसक्छ । यस्तो त्रुटिपूर्ण स्टेजिङले उपचारको नतिजामा ठूलो फरक पार्छ । त्यसैले पेट सिटीले रोग थाहा पाउन र सही उपचार तय गर्न अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ ।
प्रश्न ८ः निजी क्षेत्रमा पेट सिटी एक दशकदेखि चलिरहेको भए पनि सबै बिरामीले किन उपयोग गर्न सकेका छैनन् ?
निजी क्षेत्रमा पेट सिटी सेवा महँगो छ । सबै बिरामी आर्थिक रूपमा सक्षम छैनन् । क्यान्सर जो–कसैलाई पनि हुन सक्छ । तर सबैले महँगो शुल्ब तिर्न सक्दैनन् । यसकारण सरकारी अस्पतालमा पेट सिटी जडान हुनु बिरामीका लागि ठूलो राहत हो—
- सस्तो सेवा
- सजिलो पहुँच
- नियमित प्रवाह
- प्रभावकारी रिपोर्ट
यी सबै सरकारी स्तरबाट सम्भव हुन्छ । यसै कारणले पेट सिटी सरकारी अस्पतालमै ल्याउनुपर्ने माग लामो समयदेखि थियो र सरकारले यो वर्ष बजेट उपलब्ध गराएर त्यो जिम्मेवारी हामीलाई दिएको हो ।
प्रश्न ९ः सरकारी स्तरमा पेट सिटीस्थापना गर्न लागिरहेको भक्तपुर क्यान्सर हस्पिटल नै पहिलो अस्पताल हो ?
हो, हामीले सेवा सुरु गरेपछि सरकारी अस्पतालमा पेट सिटी सेवा उपलब्ध गराउने पहिलो अस्पताल भक्तपुर क्यान्सर हस्पिटल नै हुनेछ । हालः
- गामा क्यामेरा मात्र बीर अस्पताल र बीपी कोइराला क्यान्सर हस्पिटल, भरतपुरमा छ ।
- तर पेट सिटी सेवा सरकारी स्तरमा कतै छैन ।
प्रश्न १०ः पेट सिटी सञ्चालनका लागि रेडियो आइसोटोप आपूर्ति कत्तिको चुनौतीपूर्ण हुन्छ ?
पेट सिटी स्क्यान केवल मेसिनले मात्र हुँदैन । रेडियो आइसोटोप बनाएको केही घण्टाभित्र इन्जेक्सनमार्फत् बिरामीलाई दिएर स्क्यान गर्नुपर्छ । यो आइसोटोपको आयु २–३ घण्टा मात्र हुने भएकाले–
- समयमै आपूर्ति
- ढुवानी
- चाँडो प्रयोग
अत्यन्त संवेदनशील काम हो । काठमाडौंमा पेट सिटी राख्दा भने दिल्लीबाट फ्लाइट–मार्फत आइसोटोप ल्याएर समयमै स्क्यान गर्नु सम्भव हुन्छ । त्यसैले काठमाडौं उपत्यकामा सञ्चालन व्यावहारिक छ ।
प्रश्न ११ः उपत्यकाबाहिर—चितवन, भरतपुर वा पोखरामा पेट सिटी राख्न किन चुनौती हुन्छ ?
उपत्यकाबाहिर दिल्लीबाट आइसोटोप ल्याएर समयमा प्रयोग गर्न सम्भव नहुन सक्छ । त्यसैले त्यहाँ पेट सिटी राख्नुपरेमा साइक्लोट्रोन नामक आइसोटोप उत्पादन मेसिन पनि साथमै राख्नुपर्छ ।
- सरकारको योजनाअनुसार बिपी कोइराला क्यान्सर हस्पिटल, भरतपुरमा साइक्लोट्रोन र पेट सिटी राख्ने तयारी पहिले नै थियो तर ठूलो परियोजना भएकाले ढिलाइ भइरहेको छ ।
केही निजी संस्थाले काठमाडौंमै बिना साइक्लोट्रोन पेट सिटी चलाइरहेकाले सरकारी संस्थाले पनि काठमाडौंमा पेट सिटी गर्न नसक्ने कुनै कारण छैन । महत्वपूर्ण कुरा भनेको–
- निरन्तर आइसोटोप आपूर्ति
- हरेक हप्ता नियमित पेट स्क्यान —सुनिश्चित गर्दै सेवा अवरुद्ध नहुनु हो ।

प्रश्न १२ः साइक्लोट्रोन महँगो हुने भएकाले अहिले पेट सिटी किन मात्र जडान गर्ने तयारी भइरहेको छ ?
साइक्लोट्रोनको लागि ठूलो बजेट आवश्यक पर्छ जुन अहिले उपलब्ध छैन । त्यसैले पहिलो चरणमा हामी पेट सिटी जडान गर्ने र आवश्यक आइसोटोप भारतबाट हरेक हप्ता आयात गर्ने मोडेलमा अघि बढिरहेका छौँ । तर भारतबाट ल्याउँदा—
- ढुवानी ढिलाइ
- फ्लाइट अवरोध
- मौसमजन्य कारण
—जस्ता जोखिमका कारण यो पूर्णतः भरपर्दो हुँदैन र महँगो पनि पर्छ । अब दीर्घकालीन रूपमा आइसोटोप नेपालमै उत्पादन गर्नुपर्ने आवश्यकता स्पष्ट बन्दै गएको छ ।
प्रश्न १३ः नेपालमै आइसोटोप उत्पादन केन्द्र स्थापना गर्नेबारे कस्तो बहस भइरहेको छ ?
साइक्लोट्रोन काठमाडौंमै केन्द्रित गरेर चलाउने र नेपालको लागि ‘मेडिकल आइसोटोप रिसर्च एण्ड प्रोडक्सन सेन्टर’ स्थापना गर्ने विषयमा बहस भइरहेको छ । नेपाल सरकारका विभिन्न निकाय–विशेषतः शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा यसबारे छलफल अगाडि बढेको छ । यदि यो प्रोजेक्ट अगाडि बढ्यो भने—
- नेपालमै आइसोटोप उत्पादन
- सरकारी तथा निजी अस्पताललाई आपूर्ति
- सेवा शुल्क घट्ने—जस्ता फाइदा हुनेछन् ।
प्रश्न १४ः साइक्लोट्रोन र न्युक्लियर रियाक्टरबीच के फरक छ ? धेरैले दुवैलाई किन एउटै ठान्छन् ?
हामीले ’आणविक’ भन्यो कि धेरैले न्युक्लियर रियाक्टर परमाणु उर्जा वा एटम बम भन्ने ठान्छन् । तर पेट सिटी मा प्रयोग हुने साइक्लोट्रोन यी सबैभन्दा पूर्णतः फरक छ ।
क. न्युक्लियर रियाक्टर
- धेरै प्रकारका आइसोटोप उत्पादन गर्न सक्छ ।
- ऊर्जा उत्पादन, उद्योग, सैन्य प्रयोग आदि सबैमा प्रयोग हुन्छ ।
ख. साइक्लोट्रोन (हामीलाई चाहिएको)
- केवल मेडिकल उद्देश्यको आइसोटोप उत्पादनका लागि
- अत्यन्त सुरक्षित
- रेडिएसन कोषबाहिर निस्कदैन
- विश्वभर चलनचल्ती (३,००० भन्दा बढी युनिट सञ्चालनमा)
- भारतका धेरै शहरमा सरकारी तथा निजी दुवै स्तरमा साइक्लोट्रोन उत्पादन भइरहेको छ ।
प्रश्न १५ः नेपालमा मेडिकल उद्देश्यका लागि कस्ता आइसोटोप उत्पादन गर्न आवश्यक हुन्छ ?
क्यान्सर निदान तथा उपचारमा सबैभन्दा धेरै प्रयोग हुने ४–५ प्रमुख मेडिकल आइसोटोप उत्पादन गर्न सक्ने साइक्लोट्रोन चाहिन्छ । यी आइसोटोप–
- पेट सिटी स्क्यान
- थाइरोइड क्यान्सर उपचार
- हड्डीमा फैलिएको क्यान्सरको दर्द उपचार जस्ता सेवामा प्रयोग हुन्छन् ।
निजी क्षेत्रमा यसमा लगानी नहुनुका कारण–
- लागत धेरै
- प्रतिफल कम छ ।
तर यदि सरकार बनाउँछ भने बिरामीको खर्च आधा भन्दा कम हुन्छ ।
प्रश्न १६ः आइसोटोप भारतबाट ल्याउँदा कति खर्च हुन्छ, नेपालमा उत्पादन भए खर्च कति कम हुन्छ ?
- भारतबाट आयात गर्दा—एक बिरामीका लागि आइसोटोप लागत रु. २०–२५ हजार पर्छ ।
- नेपालमै उत्पादन गर्न सके—८ हजारभन्दा पनि कममा सेवा दिन सकिन्छ ।
- त्यसैगरी निजी क्षेत्रले पेट सिटी स्क्यानमा ७०,००० रुपैयाँसम्म शुल्क लिन्छन् ।
- नेपालमै आइसोटोप उत्पादन भयो भने सरकारी सेवामा—निजीको तुलनामा आधाभन्दा कम शुल्कमा पेट सिटी उपलब्ध हुन्छ ।
प्रश्न १७ः पेट सिटी क्यान्सरमा मात्र होइन, अन्य रोगमा पनि उपयोगी हुन्छ भन्छन्, कसरी ?
हो, पेट सिटी बहुउपयोगी प्रविधि हो । क्यान्सरबाहेक—
- जटिल क्षयरोग
- शरीरका अन्य संक्रमण
- मेटाबोलिक विकार जस्ता अवस्थामा पनि पेट सिटीले स्पष्ट निदान दिन्छ ।
सिटी स्क्यानले देखाउन नसकेको ‘एक्टिव डिजिज एरिया’ पेट सिटीले चाँडो र स्पष्ट देखाउँछ ।

प्रश्न १८ः पेट सिटी केवल निदानका लागि हो ? कि उपचारमा पनि प्रयोग हुन्छ ?
पेट सिटी निदानका लागि मात्र हो । उपचार पेट सिटीले गर्दैन । पेट सिटी न्यूक्लियर मेडिसिनको डायग्नोष्टिक ब्रान्च हो । तर उही न्यूक्लियर मेडिसिन प्रविधिबाट—
- रेडियोआयोडिनद्वारा थाइरोइड क्यान्सरको उपचार
- हड्डीमा फैलिएको क्यान्सरको पीडा नियन्त्रण—जस्ता उपचार पनि गर्न सकिन्छ ।
प्रश्न १९ः पेट सिटी क्यान्सरको निदान, उपचार योजना र फलोअपमा किन अत्यावश्यक छ ?
पेट सिटीले एकैचोटि शरीरभरका सबै अंगको जानकारी दिने भएकाले–
- क्यान्सर कहाँ–कहाँ फैलिएको छ ?
- कुन किसिमको उपचार उपयुक्त हुने ?
- उपचारपछि कति सुधार भयो ?—जस्ता कुरामा महत्वपूर्ण भूमिका खेल्छ ।
पेट सिटी हाइब्रिड टेक्नोलोजी हो—सिटी स्क्यानले संरचना देखाउँछ भने पेट स्क्यानले सक्रिय क्यान्सर देखाउँछ । त्यसैले रिपोर्ट अत्यन्त स्पष्ट, सूक्ष्म र भरपर्दो हुन्छ ।
प्रश्न २०ः पेट सिटीमा आईसोटोप र ग्लुकोजको मेकानिजम के हो?
पेट सिटीमा प्रयोग हुने आइसोटोप वास्तवमा रेडियो–एक्टिभ पदार्थ हो जसले विकिरण (रेडिएसन) उत्सर्जन गर्छ । यो आइसोटोपलाई अत्यधिक सानो–डोजमा ग्लुकोजसँग ‘ट्याग’ गरेर सुईमार्फत शरीरमा पठाइन्छ । शरीरका सबै अंगहरूले सामान्य रूपमा ग्लुकोज उपभोग गर्छन् तर केही अंगहरूले (जस्तै मस्तिष्क, लिभर) बढी मात्रामा खान्छन् । क्यान्सरका कोषहरूले पनि अत्यधिक ग्लुकोज खान्छन् ।
पेट स्क्यानले यही अत्यधिक ग्लुकोज खपत भएका भागमा आइसोटोपको एक्टिभिटी कति छ भनेर डिटेक्ट गर्छ । डिटेक्टरले शरीरभित्रको रेडियो–एक्टिभ गतिविधिको फोटो खिच्छ र त्यसको विश्लेषण डाक्टरले गर्छन् ।
प्रश्न २०ः हालै सञ्चालनमा आएको नयाँ प्रयोगशाला भवनले कस्ता सेवा–सुविधाहरू प्रदान गरिरहेको छ ?
अस्पतालमा पहिले पनि प्रयोगशाला सेवा थियो तर बढी चाप र नयाँ प्रविधिका परीक्षण थप्न आधुनिक, व्यवस्थित भवन आवश्यक थियो । नयाँ ल्याबमार्फत्
- क्यान्सरका विशेष टेष्टहरू थपिएका छन् ।
- पहिले नै उपलब्ध रहेका सेवाहरू (हिस्टोप्याथोलोजी, बायोप्सी, साइटोलोजी, फ्रोजन सेक्शन, ट्युमर मार्कर, हेमाटोलोजी, बोन म्यारो आदि) अझ आधुनिक मेसिनबाट गर्न थालिएको छ ।
- सम्पूर्ण रिपोर्ट अब अनलाइन एलआईएस (ल्याबोरेटोरी इन्फर्मेसन सिस्टम) मार्फत उपलब्ध हुन्छ ।
प्रश्न २१ः नयाँ ल्याबमा थपिएका महत्वपूर्ण परीक्षणहरू के–के छन् ?
क. इम्युनोहिस्टोक्यामेष्ट्र (आईएचसी) फूल प्यानल
- क्यान्सरको प्रकार अत्यन्तै सूक्ष्म रूपमा छुट्याउन मद्दत गर्छ ।
- कुन औषधि कुन प्रकारको क्यान्सरमा प्रभावकारी हुन्छ भन्ने निर्धारणमा सहायता गर्छ ।
ख.फ्लोसाइटोमेन्ट्री
- रक्त क्यान्सरको प्रकार छुट्याउने अत्याधुनिक प्रविधि ।
- यसअघि नमुना विदेश पठाउनुपर्ने बाध्यता हटेको छ ।
- बालबालिकामा धेरै देखिने रक्त क्यान्सरका लागि यो सेवा निःशुल्क छ ।
ग.फ्रोजन सेक्सन
- शल्यक्रिया चलिरहँदा नै बायोप्सीको रिपोर्ट प्राप्त हुने विधि ।
- क्यान्सर कहाँसम्म फैलिएको छ र कति भाग हटाउनुपर्छ भन्ने निर्णय तुरुन्तै गर्न मद्दत गर्छ ।
प्रश्न २२ः क्यान्सर उपचारमा प्रमाणिक (इभिडेन्स वेस्ड) विधि किन आवश्यक छ ?
क्यान्सरको विश्वभर मान्य प्रमाणिक उपचार विधि तीन मुख्य शाखामा आधारित हुन्छ
क.रेडिएसन थेरापी
ख. सर्जरी
ग. केमोथेरापी
प्रयोगात्मक वा अप्रमाणित उपचारको पछाडि लाग्दा जोखिम धेरै हुन्छ । त्यसैले सरकारले मान्यता दिएको प्रमाणिक उपचार नै सुरक्षित र प्रभावकारी हुन्छ ।
प्रश्न २३ः सरकारी अस्पतालमा क्यान्सर उपचार किन सस्तो र विश्वसनीय मानिन्छ ?
- सरकारी अस्पतालमा उपचार खर्च निजीको तुलनामा धेरै सस्तो हुन्छ ।
- स्वास्थ्य बीमाले ९०% सम्म खर्च व्यहोर्छ ।
- प्रदेश सरकारले दिने अतिरिक्त सुविधा पनि उपयोग गर्न सकिन्छ ।
- सस्तो भयो भन्दैमा गुणस्तर सम्झौता हुँदैन—सरकारी अस्पताल नियमित, जवाफदेही र प्रमाणिक सेवा प्रदान गर्ने संस्था हो ।
- अत्याधुनिक उपकरण र प्रमाणित विशेषज्ञहरू उपलब्ध हुन्छन् ।
- बिरामीको चाप बढी हुने भएकाले पालो पर्खिनुपर्ने अवस्था हुन्छ । त्यसैले क्षमता विस्तार आवश्यक छ ।
नेपालमा रोबोटिक सर्जरीको उदय
शुक्रबार, माघ २३, २०८२
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२

