डा. उज्ज्वल चालिसे करिब १५ वर्षदेखि क्यान्सर उपचार, अनुसन्धान र अस्पताल व्यवस्थापनमा सक्रिय एक अग्रणी चिकित्सक हुनुहुन्छ । उहाँ अहिले भक्तपुर क्यान्सर हस्पिटलका कार्यकारी निर्देशकको भूमिकामा हुनुहुन्छ । क्यान्सरको प्रमाणिक, वैज्ञानिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उपचार विस्तार गर्नेतर्फ उहाँ निरन्तर लागिरहनुभएको छ ।
उहाँ क्यान्सरको छिटो पहिचान, अत्याधुनिक डायग्नोस्टिक प्रविधिको प्रभाव र न्युक्लियर मेडिसिन सेवाको सरकारी स्तरमा विकासका बारेमा स्पष्ट दृष्टि राख्नुहुन्छ । यसै क्रममा नेपाल सरकारद्वारा उपलब्ध गराइएको बजेटमार्फत भक्तपुर क्यान्सर हस्पिटलमा पेट (पोजिट्रोन इमिसन टोमाग्राफी) सिटी स्क्यान स्थापना गर्ने प्रक्रियालाई उहाँले नेतृत्व गरिरहनुभएको छ ।
प्रश्न १ः क्यान्सरको छिटो निदान किन अत्यन्त महत्वपूर्ण मानिन्छ ?
क्यान्सर सुरुका चरणमा प्रायः लक्षण नदेखिने रोग हो । शरीरको कुनै भित्री अंगमा शान्त रुपमा विकास भएर बिस्तारै फैलिँदै जान सक्छ, जसलाई महिनौँ लाग्नसक्छ । सुरुमा नै पत्ता लगाउन सकियो भने उपचार अत्यन्त प्रभावकारी हुन्छ र धेरैजसो अवस्थामा रोग पूर्ण रूपमा निको पार्न सकिन्छ । त्यसैले छिटो निदान अत्यन्त महत्वपूर्ण हुन्छ ।
प्रश्न २ः पेट सिटी क्यान्सर निदानमा किन आवश्यक मानिन्छ ?
सामान्य सिटी स्क्यानले शरीरभित्रका संरचना कालो–सेतो (ब्ल्याक एन्ड ह्वाइट) रूपमा देखाउँछ । तर पेट सिटी स्क्यानमा रेडियो आइसोटोपको माध्यमबाट क्यान्सरग्रस्त भाग रंगिन देखिन्छ । क्यान्सर भएको क्षेत्रमा ग्लुकोजको अप्टेक असामान्य हुन्छ, पेट सिटीले त्यही ट्रेस गर्छ । यसले क्यान्सर छ कि छैन, कति फैलिएको छ, उपचार कत्तिको प्रभावकारी छ—यी सबै कुरामा सटीक जानकारी दिन्छ । रेडिएशन पनि न्युन मात्रामा हुन्छ र शरीरका अन्य अंगलाई हानी गर्दैन ।
प्रश्न ३ः पेट सिटीबिनै नेपालमा क्यान्सर कसरी स्टेजिङ गरिँदै आएको छ ?
हालसम्म नेपालमा पेट सिटी पर्याप्त रूपमा उपलब्ध नभएकाले सिटी स्क्यान र एमआरआईमार्फत् क्यान्सरको चरण (स्टेज) पत्ता लगाउने र सोही आधारमा उपचार गर्ने प्रचलन छ । विकसित राष्ट्रमा भने पेट सिटी बिना क्यान्सर स्टेजिङ् प्रायः गरिँदैन ।
प्रश्न ४ः भक्तपुर क्यान्सर हस्पिटलले पेट सिटी सेवा कहिले उपलब्ध गराउने लक्ष्य राखेको छ ?
यस वर्ष नेपाल सरकारबाट पेट सिटी स्क्यान खरीदका लागि बजेट प्राप्त भइसकेको छ । हामी प्राविधिक अध्ययनको अन्तिम चरणमा छौँ र चाँडै टेन्डर प्रक्रिया अगाडि बढाउँदैछौँ । केवल पेट सिटी स्क्यान मात्र होइन, हस्पिटलमै न्यूक्लियर मेडिसिन विभाग स्थापना गर्ने तयारीमा छौँ ।
प्रश्न ५ः न्यूक्लियर मेडिसिन भनेको के हो ?
न्यूक्लियर मेडिसिन दुई भागमा विभाजित हुन्छ—
कः डायग्नोस्टिक (रोग पत्ता लगाउने)
- पेट स्क्यान
- बोन स्क्यान
- गामा क्यामेरा
यी सबैमा सूक्ष्म रेडियो आइसोटोप प्रयोग गरिन्छ ।
ख.थेराप्युटिक (उपचार गर्ने)
केही क्यान्सरहरूमा रेडियो–आइसोटोपको माध्यमबाट प्रत्यक्ष उपचार गरिन्छ । नेपालमा निजी क्षेत्रमा भने केही सेवा सुरु भए पनि सरकारी स्तरमा न्युक्लियर मेडिसिन विभाग स्थापना गर्ने हाम्रो प्रयास ऐतिहासिक कदम हुनेछ ।
प्रश्न ६ः भक्तपुर क्यान्सर हस्पिटलमा न्यूक्लियर मेडिसिन विभाग स्थापना किन आवश्यक भएको हो ?
सरकारी अस्पतालमा हालसम्म यी सेवाहरू उपलब्ध छैनन् । क्यान्सरको सही निदान र प्रभावकारी उपचारका लागि न्युक्लियर मेडिसिन अत्यावश्यक भएकाले हामी यस वर्षदेखि नै यसको पूरै विभाग स्थापनाका लागि अघि बढिरहेका छौँ ।
प्रश्न ६ः बिरामीहरूले पेट सिटी सेवाको प्रत्यक्ष उपयोग कहिलेदेखि गर्न पाउनेछन् ?
यो आर्थिक वर्षमै खरीद प्रक्रिया सम्पन्न गर्ने लक्ष्य छ । उपकरण जडान र तयारीका लागि थप २–४ महिना लाग्न सक्छ । त्यसपछि भक्तपुर क्यान्सर हस्पिटलमा पेट सिटी सेवा सुरु हुनेछ ।
प्रश्न ७ः पेट सिटी नभएको कारण रोग पत्ता लगाउन र उपचारमा ढिलाइ हुने खतरा कति हुन्छ ?
हो, पेट सिटी नहुँदा रोग पहिचानमा ढिलाइ हुनसक्छ । हाम्रो हस्पिटलमा धेरै आधुनिक डायग्नोस्टिक परीक्षण उपलब्ध भए पनि पेट सिटी नभएकै कारण धेरै बिरामीलाई निजी क्षेत्र वा भारतजस्ता देशमा जानुपर्ने बाध्यता छ ।
यसले–
- आर्थिक बोझ
- समयको बर्बादी
- अनावश्यक झन्झट
जस्ता समस्या बढाइरहेको छ । कतिपयले महँगो भएकाले पेट सिटी नै गर्न सक्दैनन् । यस्तो अवस्थामा सही स्टेजिङ नहुन सक्छ । उदाहरणका लागि—हामीले सिटी वा एमआरआईको आधारमा स्टेज–थ्री भनेको बिरामी पेट सिटी गरेपछि शरीरका अन्य भागमा फैलिएको स्टेज– चार पनि हुनसक्छ । यस्तो त्रुटिपूर्ण स्टेजिङले उपचारको नतिजामा ठूलो फरक पार्छ । त्यसैले पेट सिटीले रोग थाहा पाउन र सही उपचार तय गर्न अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ ।
प्रश्न ८ः निजी क्षेत्रमा पेट सिटी एक दशकदेखि चलिरहेको भए पनि सबै बिरामीले किन उपयोग गर्न सकेका छैनन् ?
निजी क्षेत्रमा पेट सिटी सेवा महँगो छ । सबै बिरामी आर्थिक रूपमा सक्षम छैनन् । क्यान्सर जो–कसैलाई पनि हुन सक्छ । तर सबैले महँगो शुल्ब तिर्न सक्दैनन् । यसकारण सरकारी अस्पतालमा पेट सिटी जडान हुनु बिरामीका लागि ठूलो राहत हो—
- सस्तो सेवा
- सजिलो पहुँच
- नियमित प्रवाह
- प्रभावकारी रिपोर्ट
यी सबै सरकारी स्तरबाट सम्भव हुन्छ । यसै कारणले पेट सिटी सरकारी अस्पतालमै ल्याउनुपर्ने माग लामो समयदेखि थियो र सरकारले यो वर्ष बजेट उपलब्ध गराएर त्यो जिम्मेवारी हामीलाई दिएको हो ।
प्रश्न ९ः सरकारी स्तरमा पेट सिटीस्थापना गर्न लागिरहेको भक्तपुर क्यान्सर हस्पिटल नै पहिलो अस्पताल हो ?
हो, हामीले सेवा सुरु गरेपछि सरकारी अस्पतालमा पेट सिटी सेवा उपलब्ध गराउने पहिलो अस्पताल भक्तपुर क्यान्सर हस्पिटल नै हुनेछ । हालः
- गामा क्यामेरा मात्र बीर अस्पताल र बीपी कोइराला क्यान्सर हस्पिटल, भरतपुरमा छ ।
- तर पेट सिटी सेवा सरकारी स्तरमा कतै छैन ।
प्रश्न १०ः पेट सिटी सञ्चालनका लागि रेडियो आइसोटोप आपूर्ति कत्तिको चुनौतीपूर्ण हुन्छ ?
पेट सिटी स्क्यान केवल मेसिनले मात्र हुँदैन । रेडियो आइसोटोप बनाएको केही घण्टाभित्र इन्जेक्सनमार्फत् बिरामीलाई दिएर स्क्यान गर्नुपर्छ । यो आइसोटोपको आयु २–३ घण्टा मात्र हुने भएकाले–
- समयमै आपूर्ति
- ढुवानी
- चाँडो प्रयोग
अत्यन्त संवेदनशील काम हो । काठमाडौंमा पेट सिटी राख्दा भने दिल्लीबाट फ्लाइट–मार्फत आइसोटोप ल्याएर समयमै स्क्यान गर्नु सम्भव हुन्छ । त्यसैले काठमाडौं उपत्यकामा सञ्चालन व्यावहारिक छ ।
प्रश्न ११ः उपत्यकाबाहिर—चितवन, भरतपुर वा पोखरामा पेट सिटी राख्न किन चुनौती हुन्छ ?
उपत्यकाबाहिर दिल्लीबाट आइसोटोप ल्याएर समयमा प्रयोग गर्न सम्भव नहुन सक्छ । त्यसैले त्यहाँ पेट सिटी राख्नुपरेमा साइक्लोट्रोन नामक आइसोटोप उत्पादन मेसिन पनि साथमै राख्नुपर्छ ।
- सरकारको योजनाअनुसार बिपी कोइराला क्यान्सर हस्पिटल, भरतपुरमा साइक्लोट्रोन र पेट सिटी राख्ने तयारी पहिले नै थियो तर ठूलो परियोजना भएकाले ढिलाइ भइरहेको छ ।
केही निजी संस्थाले काठमाडौंमै बिना साइक्लोट्रोन पेट सिटी चलाइरहेकाले सरकारी संस्थाले पनि काठमाडौंमा पेट सिटी गर्न नसक्ने कुनै कारण छैन । महत्वपूर्ण कुरा भनेको–
- निरन्तर आइसोटोप आपूर्ति
- हरेक हप्ता नियमित पेट स्क्यान —सुनिश्चित गर्दै सेवा अवरुद्ध नहुनु हो ।

प्रश्न १२ः साइक्लोट्रोन महँगो हुने भएकाले अहिले पेट सिटी किन मात्र जडान गर्ने तयारी भइरहेको छ ?
साइक्लोट्रोनको लागि ठूलो बजेट आवश्यक पर्छ जुन अहिले उपलब्ध छैन । त्यसैले पहिलो चरणमा हामी पेट सिटी जडान गर्ने र आवश्यक आइसोटोप भारतबाट हरेक हप्ता आयात गर्ने मोडेलमा अघि बढिरहेका छौँ । तर भारतबाट ल्याउँदा—
- ढुवानी ढिलाइ
- फ्लाइट अवरोध
- मौसमजन्य कारण
—जस्ता जोखिमका कारण यो पूर्णतः भरपर्दो हुँदैन र महँगो पनि पर्छ । अब दीर्घकालीन रूपमा आइसोटोप नेपालमै उत्पादन गर्नुपर्ने आवश्यकता स्पष्ट बन्दै गएको छ ।
प्रश्न १३ः नेपालमै आइसोटोप उत्पादन केन्द्र स्थापना गर्नेबारे कस्तो बहस भइरहेको छ ?
साइक्लोट्रोन काठमाडौंमै केन्द्रित गरेर चलाउने र नेपालको लागि ‘मेडिकल आइसोटोप रिसर्च एण्ड प्रोडक्सन सेन्टर’ स्थापना गर्ने विषयमा बहस भइरहेको छ । नेपाल सरकारका विभिन्न निकाय–विशेषतः शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा यसबारे छलफल अगाडि बढेको छ । यदि यो प्रोजेक्ट अगाडि बढ्यो भने—
- नेपालमै आइसोटोप उत्पादन
- सरकारी तथा निजी अस्पताललाई आपूर्ति
- सेवा शुल्क घट्ने—जस्ता फाइदा हुनेछन् ।
प्रश्न १४ः साइक्लोट्रोन र न्युक्लियर रियाक्टरबीच के फरक छ ? धेरैले दुवैलाई किन एउटै ठान्छन् ?
हामीले ’आणविक’ भन्यो कि धेरैले न्युक्लियर रियाक्टर परमाणु उर्जा वा एटम बम भन्ने ठान्छन् । तर पेट सिटी मा प्रयोग हुने साइक्लोट्रोन यी सबैभन्दा पूर्णतः फरक छ ।
क. न्युक्लियर रियाक्टर
- धेरै प्रकारका आइसोटोप उत्पादन गर्न सक्छ ।
- ऊर्जा उत्पादन, उद्योग, सैन्य प्रयोग आदि सबैमा प्रयोग हुन्छ ।
ख. साइक्लोट्रोन (हामीलाई चाहिएको)
- केवल मेडिकल उद्देश्यको आइसोटोप उत्पादनका लागि
- अत्यन्त सुरक्षित
- रेडिएसन कोषबाहिर निस्कदैन
- विश्वभर चलनचल्ती (३,००० भन्दा बढी युनिट सञ्चालनमा)
- भारतका धेरै शहरमा सरकारी तथा निजी दुवै स्तरमा साइक्लोट्रोन उत्पादन भइरहेको छ ।
प्रश्न १५ः नेपालमा मेडिकल उद्देश्यका लागि कस्ता आइसोटोप उत्पादन गर्न आवश्यक हुन्छ ?
क्यान्सर निदान तथा उपचारमा सबैभन्दा धेरै प्रयोग हुने ४–५ प्रमुख मेडिकल आइसोटोप उत्पादन गर्न सक्ने साइक्लोट्रोन चाहिन्छ । यी आइसोटोप–
- पेट सिटी स्क्यान
- थाइरोइड क्यान्सर उपचार
- हड्डीमा फैलिएको क्यान्सरको दर्द उपचार जस्ता सेवामा प्रयोग हुन्छन् ।
निजी क्षेत्रमा यसमा लगानी नहुनुका कारण–
- लागत धेरै
- प्रतिफल कम छ ।
तर यदि सरकार बनाउँछ भने बिरामीको खर्च आधा भन्दा कम हुन्छ ।
प्रश्न १६ः आइसोटोप भारतबाट ल्याउँदा कति खर्च हुन्छ, नेपालमा उत्पादन भए खर्च कति कम हुन्छ ?
- भारतबाट आयात गर्दा—एक बिरामीका लागि आइसोटोप लागत रु. २०–२५ हजार पर्छ ।
- नेपालमै उत्पादन गर्न सके—८ हजारभन्दा पनि कममा सेवा दिन सकिन्छ ।
- त्यसैगरी निजी क्षेत्रले पेट सिटी स्क्यानमा ७०,००० रुपैयाँसम्म शुल्क लिन्छन् ।
- नेपालमै आइसोटोप उत्पादन भयो भने सरकारी सेवामा—निजीको तुलनामा आधाभन्दा कम शुल्कमा पेट सिटी उपलब्ध हुन्छ ।
प्रश्न १७ः पेट सिटी क्यान्सरमा मात्र होइन, अन्य रोगमा पनि उपयोगी हुन्छ भन्छन्, कसरी ?
हो, पेट सिटी बहुउपयोगी प्रविधि हो । क्यान्सरबाहेक—
- जटिल क्षयरोग
- शरीरका अन्य संक्रमण
- मेटाबोलिक विकार जस्ता अवस्थामा पनि पेट सिटीले स्पष्ट निदान दिन्छ ।
सिटी स्क्यानले देखाउन नसकेको ‘एक्टिव डिजिज एरिया’ पेट सिटीले चाँडो र स्पष्ट देखाउँछ ।

प्रश्न १८ः पेट सिटी केवल निदानका लागि हो ? कि उपचारमा पनि प्रयोग हुन्छ ?
पेट सिटी निदानका लागि मात्र हो । उपचार पेट सिटीले गर्दैन । पेट सिटी न्यूक्लियर मेडिसिनको डायग्नोष्टिक ब्रान्च हो । तर उही न्यूक्लियर मेडिसिन प्रविधिबाट—
- रेडियोआयोडिनद्वारा थाइरोइड क्यान्सरको उपचार
- हड्डीमा फैलिएको क्यान्सरको पीडा नियन्त्रण—जस्ता उपचार पनि गर्न सकिन्छ ।
प्रश्न १९ः पेट सिटी क्यान्सरको निदान, उपचार योजना र फलोअपमा किन अत्यावश्यक छ ?
पेट सिटीले एकैचोटि शरीरभरका सबै अंगको जानकारी दिने भएकाले–
- क्यान्सर कहाँ–कहाँ फैलिएको छ ?
- कुन किसिमको उपचार उपयुक्त हुने ?
- उपचारपछि कति सुधार भयो ?—जस्ता कुरामा महत्वपूर्ण भूमिका खेल्छ ।
पेट सिटी हाइब्रिड टेक्नोलोजी हो—सिटी स्क्यानले संरचना देखाउँछ भने पेट स्क्यानले सक्रिय क्यान्सर देखाउँछ । त्यसैले रिपोर्ट अत्यन्त स्पष्ट, सूक्ष्म र भरपर्दो हुन्छ ।
प्रश्न २०ः पेट सिटीमा आईसोटोप र ग्लुकोजको मेकानिजम के हो?
पेट सिटीमा प्रयोग हुने आइसोटोप वास्तवमा रेडियो–एक्टिभ पदार्थ हो जसले विकिरण (रेडिएसन) उत्सर्जन गर्छ । यो आइसोटोपलाई अत्यधिक सानो–डोजमा ग्लुकोजसँग ‘ट्याग’ गरेर सुईमार्फत शरीरमा पठाइन्छ । शरीरका सबै अंगहरूले सामान्य रूपमा ग्लुकोज उपभोग गर्छन् तर केही अंगहरूले (जस्तै मस्तिष्क, लिभर) बढी मात्रामा खान्छन् । क्यान्सरका कोषहरूले पनि अत्यधिक ग्लुकोज खान्छन् ।
पेट स्क्यानले यही अत्यधिक ग्लुकोज खपत भएका भागमा आइसोटोपको एक्टिभिटी कति छ भनेर डिटेक्ट गर्छ । डिटेक्टरले शरीरभित्रको रेडियो–एक्टिभ गतिविधिको फोटो खिच्छ र त्यसको विश्लेषण डाक्टरले गर्छन् ।
प्रश्न २०ः हालै सञ्चालनमा आएको नयाँ प्रयोगशाला भवनले कस्ता सेवा–सुविधाहरू प्रदान गरिरहेको छ ?
अस्पतालमा पहिले पनि प्रयोगशाला सेवा थियो तर बढी चाप र नयाँ प्रविधिका परीक्षण थप्न आधुनिक, व्यवस्थित भवन आवश्यक थियो । नयाँ ल्याबमार्फत्
- क्यान्सरका विशेष टेष्टहरू थपिएका छन् ।
- पहिले नै उपलब्ध रहेका सेवाहरू (हिस्टोप्याथोलोजी, बायोप्सी, साइटोलोजी, फ्रोजन सेक्शन, ट्युमर मार्कर, हेमाटोलोजी, बोन म्यारो आदि) अझ आधुनिक मेसिनबाट गर्न थालिएको छ ।
- सम्पूर्ण रिपोर्ट अब अनलाइन एलआईएस (ल्याबोरेटोरी इन्फर्मेसन सिस्टम) मार्फत उपलब्ध हुन्छ ।
प्रश्न २१ः नयाँ ल्याबमा थपिएका महत्वपूर्ण परीक्षणहरू के–के छन् ?
क. इम्युनोहिस्टोक्यामेष्ट्र (आईएचसी) फूल प्यानल
- क्यान्सरको प्रकार अत्यन्तै सूक्ष्म रूपमा छुट्याउन मद्दत गर्छ ।
- कुन औषधि कुन प्रकारको क्यान्सरमा प्रभावकारी हुन्छ भन्ने निर्धारणमा सहायता गर्छ ।
ख.फ्लोसाइटोमेन्ट्री
- रक्त क्यान्सरको प्रकार छुट्याउने अत्याधुनिक प्रविधि ।
- यसअघि नमुना विदेश पठाउनुपर्ने बाध्यता हटेको छ ।
- बालबालिकामा धेरै देखिने रक्त क्यान्सरका लागि यो सेवा निःशुल्क छ ।
ग.फ्रोजन सेक्सन
- शल्यक्रिया चलिरहँदा नै बायोप्सीको रिपोर्ट प्राप्त हुने विधि ।
- क्यान्सर कहाँसम्म फैलिएको छ र कति भाग हटाउनुपर्छ भन्ने निर्णय तुरुन्तै गर्न मद्दत गर्छ ।
प्रश्न २२ः क्यान्सर उपचारमा प्रमाणिक (इभिडेन्स वेस्ड) विधि किन आवश्यक छ ?
क्यान्सरको विश्वभर मान्य प्रमाणिक उपचार विधि तीन मुख्य शाखामा आधारित हुन्छ
क.रेडिएसन थेरापी
ख. सर्जरी
ग. केमोथेरापी
प्रयोगात्मक वा अप्रमाणित उपचारको पछाडि लाग्दा जोखिम धेरै हुन्छ । त्यसैले सरकारले मान्यता दिएको प्रमाणिक उपचार नै सुरक्षित र प्रभावकारी हुन्छ ।
प्रश्न २३ः सरकारी अस्पतालमा क्यान्सर उपचार किन सस्तो र विश्वसनीय मानिन्छ ?
- सरकारी अस्पतालमा उपचार खर्च निजीको तुलनामा धेरै सस्तो हुन्छ ।
- स्वास्थ्य बीमाले ९०% सम्म खर्च व्यहोर्छ ।
- प्रदेश सरकारले दिने अतिरिक्त सुविधा पनि उपयोग गर्न सकिन्छ ।
- सस्तो भयो भन्दैमा गुणस्तर सम्झौता हुँदैन—सरकारी अस्पताल नियमित, जवाफदेही र प्रमाणिक सेवा प्रदान गर्ने संस्था हो ।
- अत्याधुनिक उपकरण र प्रमाणित विशेषज्ञहरू उपलब्ध हुन्छन् ।
- बिरामीको चाप बढी हुने भएकाले पालो पर्खिनुपर्ने अवस्था हुन्छ । त्यसैले क्षमता विस्तार आवश्यक छ ।
भिडियो पनि हेनुहोस्
लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्वाधार अभावको चक्रमा
सोमबार, जेठ १८, २०८३
ओम सर्जिकल कन्सर्नलाई मेडिका कर्पोरेसन अमेरिकाको सम्मान
बिहीबार, वैशाख १७, २०८३
२५ वर्षको विश्वासः स्वास्थ्य प्रविधिमा ‘वेब ट्रेडिङ’को यात्रा
आइतबार, चैत २२, २०८२


