नेभिगेशन
विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थरहित दिवस ३१ मे २०२६

चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार

निकोटिनको आकर्षण पछाडिको यथार्थ

add final

नेपाल हेल्थ न्युज । मे ३१ अर्थात् विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थरहित दिवस। यस वर्षको नारा छ— “निकोटिन र सुर्तीजन्य पदार्थको आकर्षणको वास्तविकता उजागर गर्दै लतविरुद्ध प्रतिरोध गरौं।” यो नारा केवल एक दिवसको सन्देश मात्र होइन, आजको विश्वले सामना गरिरहेको गम्भीर सार्वजनिक स्वास्थ्य संकटप्रतिको चेतावनी पनि हो।

केही दशकअघिसम्म सुर्तीजन्य पदार्थका उत्पादनहरू मुख्यतः वयस्कहरूका लागि बजारमा ल्याइन्थे। तर अहिले परिस्थिति बदलिएको छ। सुर्ती तथा निकोटिन उद्योगले नयाँ पुस्तालाई लक्षित गर्दै आकर्षक रङ्गका प्याकेट, विभिन्न स्वादयुक्त उत्पादन, सामाजिक सञ्जालमार्फत प्रचार र आधुनिक जीवनशैलीसँग जोडिएका सन्देशहरू प्रयोग गरिरहेका छन्।

विद्युतीय चुरोट, निकोटिन पाउच तथा यस्तै नयाँ उत्पादनहरूलाई कम हानिकारक वा आधुनिक विकल्पका रूपमा प्रस्तुत गरिए पनि तिनको मूल उद्देश्य निकोटिनको लतमा नयाँ पुस्तालाई फसाउनु नै हो। आकर्षणको चम्किलो आवरणभित्र लुकेको वास्तविकता भनेको स्वास्थ्यमा गम्भीर क्षति, आर्थिक भार र अन्ततः अकाल मृत्यु हो।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वभर लाखौं मानिसको मृत्यु सुर्तीजन्य पदार्थका कारण हुने गरेको छ। सुर्ती सेवन गर्नेहरू मात्र होइन, अरूको धुवाँको असरबाट पनि असंख्य मानिसले ज्यान गुमाइरहेका छन्। फोक्सोको क्यान्सर, मुखको क्यान्सर, घाँटीको क्यान्सर, स्वरयन्त्रको क्यान्सर, अन्ननलीको क्यान्सर, मुटुरोग, पक्षघात तथा दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगहरूमा सुर्तीजन्य पदार्थ प्रमुख जोखिम कारकका रूपमा स्थापित भइसकेको छ।

नेपाल पनि यस समस्याबाट अछुतो छैन। हाम्रा अस्पतालहरूमा उपचारका लागि आउने धेरै बिरामीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुर्तीजन्य पदार्थका कारण उत्पन्न रोगसँग संघर्ष गरिरहेका छन्। विशेष गरी क्यान्सर अस्पतालहरूमा मुख, घाँटी र फोक्सोको क्यान्सरका बिरामीहरूको संख्या चिन्ताजनक छ। सुर्ती सेवनका कारण हुने रोगहरूको उपचारमा राज्यले प्रत्येक वर्ष ठूलो रकम खर्च गर्नुपरेको छ। उपचार खर्च मात्र होइन, श्रमशक्तिको क्षति, परिवारमाथिको आर्थिक बोझ र उत्पादकत्वमा आउने गिरावटलाई समेत जोड्दा यसको वास्तविक मूल्य झनै भयावह देखिन्छ।

यति ठूलो स्वास्थ्य र आर्थिक क्षति बेहोरिरहँदा पनि हालै सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३र८४ को बजेटमा सुर्तीजन्य पदार्थमा गरिएको कर वृद्धि अपेक्षाभन्दा निकै कम देखिएको छ। करिब १० प्रतिशतको हाराहारीमा सीमित रहेको यो वृद्धि सार्वजनिक स्वास्थ्यको दृष्टिकोणबाट पर्याप्त मान्न सकिँदैन।

विश्व स्वास्थ्य संगठन तथा सार्वजनिक स्वास्थ्यका विज्ञहरूले सुर्तीजन्य पदार्थको खपत घटाउन उच्च कर नीतिलाई सबैभन्दा प्रभावकारी उपायमध्ये एक मान्दै आएका छन्। मूल्य बढ्दा विशेषगरी किशोरकिशोरी र युवाहरूमा यसको प्रयोग घट्ने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन्। नेपालको सन्दर्भमा पनि कम्तीमा ५० प्रतिशत कर वृद्धि गरी त्यसबाट प्राप्त हुने राजस्वलाई क्यान्सर, मुटुरोग तथा अन्य नसर्ने रोगहरूको रोकथाम र उपचारमा लगानी गर्न सकिने पर्याप्त आधार देखिन्छ।

एकातिर राज्यले क्यान्सर तथा अन्य गम्भीर रोगहरूको उपचारमा अर्बौं रुपैयाँ खर्च गरिरहेको छ भने अर्कोतिर ती रोगका प्रमुख कारणमध्ये एक रहेको सुर्तीजन्य पदार्थमाथि अपेक्षित कठोरता देखिन सकेको छैन।

विश्वका केही देशहरूमा अझै पनि सुर्तीको खपत अत्यन्त उच्च छ। विशेष गरी इन्डोनेशिया, चीन तथा केही पूर्वी युरोपेली देशहरूमा धूम्रपान गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढी छ। अर्कोतर्फ इथियोपिया, घाना तथा केही अफ्रिकी राष्ट्रहरूले सुर्तीको प्रयोगलाई न्यून स्तरमा राख्न सफलता प्राप्त गरेका छन्। जनचेतना, कडा कानुनी व्यवस्था, प्रभावकारी नियन्त्रण नीति र सामाजिक संस्कृतिले त्यस्ता देशहरूमा सुर्तीको खपत कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। यसबाट नेपालले पनि सिक्नुपर्ने धेरै पाठहरू छन्।

आज सबैभन्दा ठूलो चिन्ता युवापुस्तालाई लिएर छ। सुर्ती उद्योगले आफ्नो भविष्य सुरक्षित गर्न नयाँ ग्राहक खोजिरहेको छ, र ती ग्राहक प्रायः किशोरकिशोरी तथा युवा नै हुन्। आकर्षक स्वाद, आधुनिक डिजाइन र डिजिटल प्रचारका माध्यमबाट उनीहरूलाई निकोटिनको लततर्फ धकेल्ने प्रयास भइरहेको छ। आजको विश्व सुर्तीजन्य पदार्थरहित दिवसको नाराले पनि यही वास्तविकतालाई उजागर गर्न खोजेको हो।

आकर्षक प्याकेट, स्वादयुक्त उत्पादन र आधुनिक देखिने प्रचार अभियानको पछाडि स्वास्थ्य नष्ट गर्ने र जीवनभरको लत सिर्जना गर्ने रणनीति लुकेको छ भन्ने कुरा समाजले बुझ्न आवश्यक छ।

विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा हामीले एउटा गम्भीर प्रश्न आफैँलाई सोध्नुपर्छ— स्वास्थ्यमा यति ठूलो क्षति पुर्‍याउने र राज्यलाई अर्बौं रुपैयाँको आर्थिक भार थप्ने पदार्थप्रति हामी कति कठोर बन्न तयार छौंरु यदि स्वस्थ र समुन्नत समाज निर्माण गर्ने हो भने सुर्तीजन्य पदार्थको नियन्त्रणलाई केवल स्वास्थ्य क्षेत्रको विषयका रूपमा होइन, राष्ट्रिय विकास, आर्थिक समृद्धि र भावी पुस्ताको सुरक्षासँग जोडिएको विषयका रूपमा हेर्नुपर्छ।

आजको सन्देश स्पष्ट छ। आकर्षक प्रचार, स्वादयुक्त उत्पादन र चम्किलो प्याकेटले सुर्तीजन्य पदार्थको वास्तविकता लुकाउन सक्दैनन्। पर्दा पछाडि निकोटिनको लत, रोग, पीडा र मृत्यु लुकेको छ। त्यसैले आकर्षण होइन, यथार्थलाई चिन्ने समय आएको छ। युवापुस्तालाई जोगाऔं, सुर्तीको लतविरुद्ध सशक्त अभियान चलाऔं र स्वस्थ नेपाल निर्माणको दिशामा दृढतापूर्वक अघि बढौं।

(सामाजिक अभियन्ता तथा नेपाल अर्बुद रोग निवारण संस्थाका नि-वर्तमान अध्यक्ष)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य लेख