नेभिगेशन

नेपालमा रोबोटिक सर्जरीको उदय

बिरामीको अनुभवः  ‘डर लाग्यो, तर अपरेसन सजिलै भयो’

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा शल्य चिकित्सा क्षेत्र दिनानुदिन आधुनिक हुँदै गएको छ । अस्पतालहरूको पूर्वाधार विस्तार, दक्ष विशेषज्ञको संख्या वृद्धि, प्रविधिको प्रयोग र बिरामीका उपचार अपेक्षामा आएको परिवर्तनले नेपालको उपचार प्रणालीलाई आएको ‘तेज र रूपान्तरण’ पहिले कहिल्यै निर्माण भएको थिएन ।

तर अहिले एउटा यस्तै मोड आएको छ । यसले नेपाललाई भविष्यको आधुनिक शल्य सेवातर्फ मात्र नभई विश्व–स्तरीय स्वास्थ्य प्रविधिको प्रतिस्पर्धामा उभ्याउने संकेत दिएको छ । यो प्रविधि हो— रोबोटिक सर्जरी र यो चितवन मेडिकल कलेज (सिएमसी) बाट बिस्तार भएको छ ।

काठमाडौँ उपत्यकाबाहिर पहिलोपटक रोबोटिक सर्जरी सुरु गरेर सिएमसीले केवल एउटा प्रविधि ल्याएको मात्र नभई नेपालको शल्य चिकित्सा क्षमताको नयाँ सुरुवात् गरेको छ । सिएमसीले धेरै रोबोटिक सर्जरी सफलतापूर्वक गरिरहेको छ । 

प्रविधि र उपचारबीचको ‘इन्जिनियरिङ फ्यूजन’
मानव शरीरमा शल्यक्रिया जटिल प्रक्रिया हो । चिकित्सकको सीप, अनुभव, हातको स्थिरता, उपकरणहरूको गुणस्तर आदिले सर्जरीको नतिजा निर्धारण गर्छ । रोबोटिक सर्जरी परम्परागत ओपन सर्जरी र मिनिमली इनभेसिभ सर्जरी विधिको उन्नत संयोजन हो । परम्परागत ओपन सर्जरीमा शरीरमा ठूलो चिरा पारिन्छ । तर मिनिमली इनभेसिभ सर्जरी (ल्यापारोस्कोपी) मा सानो प्वालबाट क्यामेरा र उपकरणहरू घुसाएर अपरेसन गरिन्छ ।

रोबोटले कसरी काम गर्छ ?
चिकित्सक अपरेसन टेबलमा हुँदैनन् । उनीहरू केही मिटर टाढा रहेको कन्ट्रोल कन्सोल मा बस्छन् । त्यहाँबाट रोबोटिक आर्म (यान्त्रिक हात) लाई कम्प्युटर–पोर्टलबाट चलाइन्छ । यी हातहरू मानव हातभन्दा १० गुणा बढी लचिलो, ३६० डिग्री घुम्ने क्षमता र कम्पनरहित हुन्छन् । क्यामेराले १० गुणादेखि २० गुणासम्म ठूलो त्रिआयामिक—अर्थात् थ्री डी— उच्च गुणस्तर (एचडी) दृश्य देखाउँछ ।  यसले शरीरभित्र ‘माइक्रो लेभल’ मा देखेर चिकित्सकलाई  काम गर्न मद्दत गर्छ ।

10-1770368967.jpeg

विश्वमा रोबोटिक सर्जरीको बिस्फोट 
सन् २००० मा पहिलो रोबोटिक प्रणाली (दा भिन्जी सिस्टम) व्यावसायिक रूपमा सुरु भएपछि २५ वर्षमा विश्वमा यसको प्रयोग असाध्यै तीव्र गतिमा बढ्यो ।

  •     अमेरिकामा बार्षिक १७ लाखभन्दा बढी रोबोटिक सर्जरी हुन्छ ।
  •     भारतमा ८०० भन्दा बढी रोबोटिक प्लेटफर्म चलिरहेका छन् ।
  •     दक्षिण कोरियामा १४ वर्षमै १ लाखभन्दा बढी रोबोटिक अपरेसन सम्पन्न भएका छन् ।

अनुसन्धानले के भन्छ ?
 क्यान्सर, प्रोस्टेट, गाइनेकोलोजी, मिर्गौला, ग्याँस्ट्रोइन्टेस्टाइ (जिआई) सर्जरीका क्षेत्रहरूमा सबैभन्दा लोकप्रिय रहेको छ । जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन (जामा) मा प्रकाशित एक अध्ययन अनुसार रोबोटिक सर्जरीको कम्प्लिकेशन दर ३–५% मात्र छ जुन ओपन वा ल्यापारोस्कोपिक विधिभन्दा कम देखिन्छ ।

युरोपियन जर्नल अफ मिनिमली इनभेसिभ सर्जरीको तुलनामा रोबोटिक सर्जरीपछि अस्पताल बसाइँ १–२ दिन कम र  बिरामीले प्रयोग गर्ने दुखाई औषधि आधा कम हुन्छ । क्यान्सर सर्जरीमामा ट्यूमरको छेउमै रहेको स्वस्थ कोषिकासम्म सुरक्षित दूरी राख्न रोबोटिक विधि सक्षम छ । दीर्घकालीन सर्भाइभल रेट उच्च छ ।

अन्तर्राष्ट्रिय जिआई सर्जरी अध्ययन अनुसार रोबोटिक शल्यक्रियामा औसत रक्तस्राव ८०–१२० एमएल सम्म हुनसक्छ । तर  परम्परागत विधिमा २८०–३५० एमएलसम्म रक्तस्राव हुने गरेको पाइन्छ ।  प्राविधिक सटीकताले नै यसको प्रभावकारिता सिद्ध गर्छ ।

नेपालमा किन अनिवार्य रोबोटिक सर्जरी ?
नेपालमा स्त्री–क्यान्सर (युटेरस, ओभरी), प्रोस्टेट क्यान्सर, गलब्लाडर स्टोन, मिर्गौलामा पत्थरी, जटिल पाचनतन्त्रका रोग जस्ता समस्या बढ्दै छन् । यस्ता जटिल केसहरूमा रोबोटिक विधिले ठूलो फाइदा दिन्छ । नेपालका हजारौँ बिरामी हरेक वर्ष भारत, बंगलादेश, सिंगापुर, दुबईलगायतका देशमा उपचारका लागि जान्छन् ।

एक परिवारले उपचार खर्च, यात्रा, बसोबास, हेरचाह सबै जोडिँदा १०–२५ लाख रुपैयाँ खर्च गर्छ । नेपालमै रोबोटिक सर्जरी उपलब्ध हुँदा खर्च घट्छ, समय बचत, मनोवैज्ञानिक तनाव कम,  आफन्तको सान्निध्यमा उपचार सबै हुनसक्छ । मोटोपना, क्यान्सर, मधुमेह भएकाहरूमा ओपन सर्जरीको जोखिम बढी हुन्छ ।

तर रोबोटिक विधिमा चिरा सानो, संक्रमण कम, जटिलता न्यून हुने भएकाले जोखिम घटाउँछ । अन्तर्राष्ट्रिय स्तरमा नेपालबाट पनि सर्जनहरू प्रशिक्षण पाएर फर्किएका छन् । चितवनमा सुरु भएको सेवा युवा सर्जनका लागि सीप अभिवृद्धिको प्रयोगशाला पनि हो ।सिएमसीले रोबोटिक सर्जरी सुरु गर्नु केवल सामान्य निर्णय थिएन ।

यो लगानी हिम्मत, विशेषज्ञ तालिम, अन्तर्राष्ट्रिय सहकार्य, बिरामी–केन्द्रित सेवालगायतको संयोजन थियो । नेपालको पहिलो रोबोटिक सर्जन डा. प्रतीकमान सिंह गुरुङ (युरो–रोबोटिक सर्जन), डा. विशाल आचार्य (जिआई सर्जन), डा. रोहित कुमार मिश्र (जिआई सर्जन) को टोलीले धेरै अपरेसन सम्पन्न गरिरहेको छ ।

बिरामीको अनुभवः  ‘डर लाग्यो, तर अपरेसन सजिलै भयो’
चितवनकी ४८ वर्षीया एक महिलालाई युटेरस सम्बन्धी समस्या थियो । लामो समयदेखि थकान, तल्लो पेट भारी, रक्तस्राव रोकिएन । जानकारीपछि उहाँ चितवन मेडिकल कलेज आउनुभयो । उहाँलाई रोबोटिक सर्जरीबारे सुझाइयो । उहाँ भन्नुहुन्छ—‘पहिले त डर लाग्यो—‘रोबोटले अपरेसन गर्छ !’ तर डाक्टरको व्याख्या सुनेपछि सहमति भएँ । सर्जरी डेड घण्टा चल्यो । भोलिपल्टैदेखि हिँडडूल गर्न सक्नुभयो । उहाँ ३ दिनमै घर फर्किइन्। अहिले सहज जीवन बाँच्न सफल हुनुभएको छ ।  उहाँ भन्नुहुन्छ—‘पहिले सुन्दा डर लाग्यो, तर वास्तवमा यो धेरै सहज र छिटो निको हुने उपचार प्रक्रिया रहेछ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रितम थापा स्वास्थ्य पत्रकारिता गर्नुहुन्छ ।

थप टेक्नोलोजी अफ हेल्थ