नेपाल हेल्थ न्युज, हेटौंडा । इन्द्रबहादुर बानियाँ ले डिउटी समयमा चिकित्सक तथा कर्मचारी अनुपस्थित देखिएपछि हेटौंडा अस्पताल व्यवस्थापनलाई कडा निर्देशन दिएका छन्। जिम्मेवारीअनुसार सेवा प्रवाह नगरे कडा कदम चालिने चेतावनी पनि उनले दिएका हुन्।
बुधबार साँझ उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौंडा अस्पताल मा आकस्मिक अनुगमन गरेका थिए। निरीक्षणका क्रममा डिउटीमा खटिनुपर्ने चिकित्सक र कर्मचारी उपस्थित नभेटिएपछि उनले व्यवस्थापन समितिका अध्यक्ष भिमसागर गुरागाईंलाई तुरुन्त बोलाएर चासो व्यक्त गरेका थिए।
यस घटनापछि बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बसेको थियो। बैठकमा मन्त्रालयका पदाधिकारी, प्रतिष्ठानका पदाधिकारी, अस्पताल व्यवस्थापन समिति तथा सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो। छलफलमा सेवा प्रवाहमा देखिएको कमजोरी सुधार गर्न तत्काल कदम चाल्ने सहमति भएको जनाइएको छ।
मुख्यमन्त्रीका अनुसार डिउटी समयमा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीलाई सचेत गराइनेछ र पुनः लापरबाही दोहोरिए कडा कारबाही गरिनेछ। अस्पताल प्रशासनलाई बिरामी सेवामा कुनै अवरोध नआउने गरी कार्यतालिका मिलाउन, बिदा लिनु परे पूर्वजानकारी दिन तथा डिउटी अवधिमा अनिवार्य पोशाक प्रयोग गर्न निर्देशन दिइएको छ।
यसका साथै स्वास्थ्य उपकरणको नियमित जाँच तथा मर्मत सम्भार, अस्पताल परिसरको सरसफाइ र सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ। प्रदेश सरकारले नागरिकलाई प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै अस्पताल प्रशासनलाई जिम्मेवार र पारदर्शी ढंगले काम गर्न सचेत गराएको छ।
भक्तपुर क्यान्सर अस्पतालमा जटिल मस्तिष्क सफल शल्यक्रिया
सोमबार, वैशाख २१, २०८३
दुई दिनको बिदापछि सरकारी अस्पतालमा बिरामीको भीड, सेवा व्यवस्थापनमा चुनौती
सोमबार, वैशाख २१, २०८३
सरकारद्वारा मन्त्रालय पुनर्संरचना: ४ मन्त्रालय खारेज हुँदै
सोमबार, वैशाख २१, २०८३
१५ दिनसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन’
सोमबार, वैशाख २१, २०८३

