नेपाल हेल्थ न्युज, सिराहा । लहान नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २४ वटै वडामा निःशुल्क क्यान्सर पहिचान तथा उपचार शिविर सञ्चालन गर्ने भएको छ । क्यान्सर रोगको समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले ‘लहान क्यान्सर केयर सेन्टर’ सँग आज औपचारिक सम्झौता गरेको छ ।
एक समारोहका बिच नगरपालिका र केयर सेन्टरबिच सम्झौता भएको घोषणा गरिएको हो । कार्यक्रममा लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले क्यान्सर जस्तो गम्भीर रोगको समयमै पहिचान भए उपचार सम्भव हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नगरका सबै वडामा पुगेर निःशुल्क शिविरमार्फत सेवा दिने छौँ । करिब एक हजार जना नगरवासीलाई यो सेवा उपलब्ध गराउने हाम्रो मुख्य योजना छ ।
नगर प्रमुख चौधरीले शिविरमार्फत क्यान्सरको प्रारम्भिक पहिचान गरिने र थप उपचार आवश्यक पर्ने बिरामीका लागि समन्वय गरिने जानकारी दिनुभयो । यस अभियानका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्थापन गरिसकेको छ ।
लहान क्यान्सर केयर सेन्टरका प्रमुख अशोकलाल अमात्यले क्यान्सर पहिचान अभियान आजैदेखि सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा पहिचान भएका बिरामीको उपचारमा भक्तपुर क्यान्सर अस्पतालले प्राविधिक सहयोग गर्ने छ । यस अभियानमा लायन्स क्लब अफ लहानलगायत स्थानीय सङ्घ संस्थाले पनि समन्वय र सहजीकरण गर्ने छन् ।
केयर सेन्टरले यसअघि पनि पूर्वाञ्चल क्यान्सर अस्पताल झापा र भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको छ भने समुदाय र विद्यालयस्तरमा सचेतना कार्यक्रम गर्दै आएको छ ।
त्यस्तै, प्रत्येक महिनाको अन्तिम बुधबार विशेषज्ञ चिकित्सकमार्फत स्क्रिनिङ सेवा दिँदै आएको छ । साथै, महिलामा हुने पाठेघरको मुखको क्यान्सर पहिचानका लागि ‘प्याप स्मेयर’ परीक्षण दैनिक रूपमा भइरहेको जनाइएको छ ।
समारोहमा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल साहले लहान क्यान्सर सेन्टरसँग प्राविधिक सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । उहाँले यो अभियानले सिराहा मात्र नभई सप्तरी र उदयपुरसम्मका बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नर्सिङ सुधारको माग गर्दै ज्योति रानाभाटको अनिश्चितकालीन सत्याग्रह सुरु
बिहीबार, साउन १४, २०८३
आईसीयूमा भर्ना नपाएको भन्दै बिरामीका आफन्तद्वारा भक्तपुर अस्पतालमा तोडफोड
बिहीबार, साउन १४, २०८३
कङ्गोमा इबोला नियन्त्रण गर्न राष्ट्रसङ्घको आग्रह
बिहीबार, साउन १४, २०८३
किन बढ्छ मनसुनजन्य रोगको जोखिम?
बिहीबार, साउन १४, २०८३
