नेपाल हेल्थ न्युज, न्युयोर्क । अमेरिकामा गरिएको नयाँ अध्ययनले एउटै नाकमार्फत प्रयोग गर्न सकिने स्प्रे खोपले विभिन्न श्वासप्रश्वाससम्बन्धी रोगबाट जोगाउन सहयोग पुर्याउन सक्ने सम्भावना देखाएको छ । स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले विकास गरेको यो प्रयोगात्मक खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई समग्र रूपमा सक्रिय बनाउने लक्ष्य राखेको जनाइएको छ ।
परम्परागत खोपहरूले शरीरलाई कुनै विशेष भाइरस वा जीवाणुविरुद्ध लड्न सिकाउने गर्छन् । खोपको सुरुआत सन् १७९६ मा एडवर्ड जेनरले गरेयता अधिकांश खोप यही सिद्धान्तमा आधारित छन् । तर यस नयाँ अवधारणाअनुसार तयार गरिएको स्प्रेले भने शरीरभित्र रहेका प्रतिरक्षा कोषिकालाई सधैं सतर्क अवस्थामा राखेर विभिन्न किसिमका संक्रमणविरुद्ध तुरुन्त प्रतिक्रिया दिन सक्षम बनाउने प्रयास गरेको छ ।
प्रतिष्ठित वैज्ञानिक पत्रिका (साइन्स) मा प्रकाशित अध्ययनअनुसार नाकमार्फत प्रयोग गरिने यो स्प्रेले फोक्सोमा रहेका सेता रक्तकोषिकालाई सक्रिय बनाउँछ । जनावरमा गरिएको प्रारम्भिक परीक्षणमा यसको प्रभाव करिब तीन महिनासम्म देखिएको अनुसन्धान टोलीले जनाएको छ । साथै, भाइरसलाई फोक्सो हुँदै शरीरभित्र पस्नबाट उल्लेखनीय रूपमा रोक्न सक्ने संकेत पनि पाइएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार यसले फ्लु, कोभिडजस्ता भाइरल रोगका साथै केही जीवाणुजन्य संक्रमण र धुलोका कारण हुने एलर्जी नियन्त्रणमा पनि सहयोग पुर्याउन सक्छ । यस उपलब्धिलाई खोप विज्ञानका क्षेत्रमा उत्साहजनक प्रगतिको रूपमा हेरिएको छ । अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक डानियला फरेराले श्वासप्रश्वाससम्बन्धी रोगको रोकथाममा नयाँ दृष्टिकोण विकास हुन सक्ने बताएकी छन् ।
यद्यपि, यो अध्ययन अझै प्रारम्भिक चरणमै छ । मानवमा यसको औपचारिक परीक्षण हुन बाँकी रहेको छ । जनावर र मानिसको प्रतिरक्षा प्रणालीबीच केही भिन्नता हुने भएकाले यसको दीर्घकालीन प्रभाव र सम्भावित असरबारे थप अनुसन्धान आवश्यक रहेको वैज्ञानिकहरूले बताएका छन् ।
लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनका प्राध्यापक जोनाथन बलले शरीरको प्रतिरक्षा प्रणालीलाई लामो समयसम्म अत्यधिक सक्रिय अवस्थामा राख्दा त्यसले नकारात्मक असर पार्ने सम्भावना हुन सक्ने भन्दै सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् ।
वैज्ञानिकहरूका अनुसार हालका खोपको विकल्पका रूपमा होइन, सहायक सुरक्षा कवचका रूपमा प्रयोग गर्न सकिने वैज्ञानिकहरूको विश्वास छ ।
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
