नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालले सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नयाँ सुधार अभियान सुरु गरेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पाको संयोजकत्वमा अस्पताल सुधार, अनुगमन तथा व्यवस्थापन समिति गठन गरिएको हो।
समितिले अस्पतालभित्र देखिएका विभिन्न समस्याहरूलाई प्राथमिकताका साथ समाधान गर्ने लक्ष्य राखेको छ। डा. शेर्पाका अनुसार सरसफाइ सुधार, सेवाग्राहीका गुनासो सम्बोधन तथा कर्मचारी व्यवस्थापनलाई केन्द्रमा राखेर काम तीव्र पारिएको छ। उहाँले समस्या देखिएलगत्तै समाधान गर्ने कार्यशैली अपनाइएको बताउनुभयो।
उहाँका अनुसार अस्पतालप्रति आमनागरिकमा रहेका असन्तुष्टि हटाउँदै सेवामा विश्वास बढाउने उद्देश्यले सुधार प्रक्रिया अघि बढाइएको हो। “सुधारको सुरुवात गुनासो सम्बोधनबाट गरेका छौं, लक्ष्य अस्पताललाई नमूना संस्थाका रूपमा विकास गर्नु हो,” उहाँले उल्लेख गर्नुभयो।
हाल अस्पतालमा सरसफाइ, स्वच्छ खानेपानी र शौचालय व्यवस्थापन सुधार गर्ने कार्य भइरहेको छ। साथै अस्पताल परिसर वरपरको करिब २०० मिटर क्षेत्रमा सुर्तिजन्य पदार्थ सेवनमा रोक लगाउने अभियान सञ्चालनमा छ। वातावरण सुन्दर बनाउन बगैँचा व्यवस्थापनको काम पनि अघि बढाइएको छ।
डा. शेर्पाले भौतिक तथा संरचनागत सुधार पनि उत्तिकै आवश्यक रहेको बताउँदै त्यसतर्फ पनि योजना अनुसार काम भइरहेको जानकारी दिनुभयो।
सेवाग्राहीको सहभागिता बढाउन अस्पतालले क्यूआर कोडमार्फत सुझाव र गुनासो संकलन गर्ने व्यवस्था सुरु गरेको छ। उक्त कोड अस्पतालका विभिन्न स्थान र सामाजिक सञ्जालमार्फत उपलब्ध गराइएको छ। अस्पताल प्रशासनले सर्वसाधारणलाई क्यूआर कोड स्क्यान गरेर आफ्ना अनुभव, सुझाव र गुनासो पठाउन आग्रह गरेको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
