नेपाल हेल्थ न्युज, बैतडी । बैतडीको पाटनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लामो समयदेखि पशु चिकित्सकविहीन हुँदा पशु स्वास्थ्य सेवा प्रभावित बनेको छ। करिब डेढ वर्षदेखि विशेषज्ञ चिकित्सक नहुँदा जटिल रोगको पहिचान र उपचारमा समस्या भइरहेको जनाइएको छ।
केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी भए पनि सुदूरपश्चिम प्रदेश सरकारले पदपूर्ति गर्न नसक्दा सेवा प्रवाहमा कठिनाइ भइरहेको हो। यसअघि करारमा कार्यरत चिकित्सक स्थायी नियुक्ति पाएपछि अन्यत्र सरुवा भएपछि उक्त पद खाली रहेको बताइएको छ।
केन्द्रका निमित्त प्रमुख गुमानीदत्त पन्तका अनुसार चिकित्सक अभावका कारण पछिल्ला दिनमा विभिन्न चुनौतीहरू देखिएका छन्। केही समयअघि सिगास गाउँपालिकामा जंगलमा घाइते भएको चितुवाको बच्चाको उपचारका लागि डडेल्धुराबाट चिकित्सक बोलाउनुपरेको थियो। त्यसैगरी, शिवनाथ गाउँपालिकामा गाईको उपचारका लागि पनि बाहिरबाटै विशेषज्ञ झिकाउनुपरेको अवस्था रहेको उनले बताए।
उनका अनुसार सामान्य उपचार सेवा केन्द्रमै उपलब्ध भए पनि विशेषज्ञको हस्ताक्षर आवश्यक पर्ने रिपोर्ट तथा जटिल रोगको उपचारमा समस्या हुने गरेको छ। गम्भीर अवस्थाका पशुको उपचारका लागि कहिलेकाहीँ धनगढीबाट समेत चिकित्सक बोलाउनुपर्ने बाध्यता रहेको छ।
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको यस केन्द्रमा लामो समयदेखि चिकित्सक अभाव हुँदा स्थानीय सेवाग्राही मारमा परेका छन्। विशेषज्ञ सेवा नहुँदा रोग पहिचान, निदान, प्रयोगशाला परीक्षण, शल्यक्रिया तथा स्वास्थ्य प्रमाणीकरणजस्ता सेवा प्रभावकारी हुन सकेका छैनन्। यस अवस्थाले पशुपालन क्षेत्रमा लगानी गर्न किसानहरू पनि हिच्किचाउन थालेको गुनासो गरेका छन्।
भक्तपुर अस्पतालमा १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माग
सोमबार, भदौ २९, २०८३
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
