नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंमा डेन्टल साईन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले नेपाल स्वास्थ्य व्यवसायी परिषद विरुद्ध विरोध प्रदर्शन सुरु गरेको छ। परिषदभित्र लामो समयदेखि देखिएका कानुनी, संरचनागत तथा प्रतिनिधित्वसम्बन्धी समस्याहरू समाधान नभएको भन्दै एसोसिएसनले आन्दोलन थालेको हो।
एसोसिएसनका पदाधिकारीहरूले परिषद अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन्। उनीहरूले परिषद ऐन २०५३ लागू भएको धेरै समय बितिसक्दा पनि ऐनअनुसार परिषद पूर्ण रूपमा गठन हुन नसकेको बताएका छन्। समयमै प्रतिनिधि नियुक्ति नहुनु, पेशागत संघ–संगठनहरूको समावेशी प्रतिनिधित्व अभाव र परिषदका नियमित काम प्रभावित हुनु मुख्य समस्या रहेको उनीहरूको दाबी छ।
एसोसिएसनका अनुसार दन्त स्वास्थ्य क्षेत्रमा कार्यरत डेन्टल हाइजेनिस्ट, डेन्टल असिस्टेन्टलगायत दर्तावाल स्वास्थ्यकर्मीहरूको अधिकारमा हस्तक्षेप भइरहेको छ। केही पदाधिकारीले पदको दुरुपयोग गर्दै स्वास्थ्यकर्मीमाथि मानसिक तथा व्यावसायिक दबाब सिर्जना गरेको, भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने जस्ता गतिविधि भएको आरोप पनि लगाइएको छ।
परिषदमा आवश्यक सदस्य संख्या नपुग्दा दर्ता, नवीकरण, सीपीडी, अनुशासनात्मक कारबाही र नियमनसम्बन्धी काम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको एसोसिएसनले जनाएको छ। यसले स्वास्थ्य सेवाको गुणस्तर र नागरिकको स्वास्थ्य अधिकारमा समेत असर परेको उनीहरूको भनाइ छ।
त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँग भएका सहमतिहरू कार्यान्वयन नभएको, परिषदभित्र आर्थिक अनियमितता, नातावाद र कानुनविपरीत गतिविधि बढेको आरोप पनि उठाइएको छ।
एसोसिएसनका अध्यक्ष माईकल देवकोटाले आफ्ना मागहरू बारम्बार उठाउँदा पनि सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको बताएका छन्। आन्दोलनअन्तर्गत परिषद अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै लाइसेन्सको प्रतिलिपि बुझाउने, माइतीघर मण्डला मा धर्ना दिने र परिषदमाथि छानबिनको माग गर्ने कार्यक्रमहरू तय गरिएको छ। एसोसिएसनले आफ्ना मागहरू तुरुन्त सम्बोधन नगरे अझ कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
मेडिकल कलेजहरुलाई तीन साता भित्र विद्यार्थी भर्ना वापतको रकम बुझाउन निर्देशन
शुक्रबार, चैत २७, २०८२
नर्स जीता बरालको लाइसेन्स पुनः बहाल, लामो संघर्षपछि न्याय
शुक्रबार, चैत २७, २०८२
औषधि व्यवस्था विभागका महानिर्देशक ढकाल तानिए स्वास्थ्य मन्त्रालय
शुक्रबार, चैत २७, २०८२
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
शुक्रबार, चैत २७, २०८२
