नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा आधुनिक न्युरोसर्जरी सेवाको सुरुवात गर्ने अग्रणी चिकित्सक डा. दिनेशनाथ गोंगल को ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आफ्नै निवासमा निधन भएको जानकारी नजिकका न्युरोलोजिस्ट डा. प्रकाश विष्टले दिएका छन्।
उनको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको चिकित्सकहरू बताउँछन्। मंगलबार नै उनको दाहसंस्कार गर्ने तयारी गरिएको छ।
डा. गोंगल नेपालमा न्युरोसर्जरी मात्र नभई जटिल शल्यचिकित्साका विभिन्न विधिहरूको सुरुवात गर्ने अग्रदूतका रूपमा परिचित थिए। उनले पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सफलतापूर्वक गरेका थिए।
सन् १९६१ मा त्रिभुवन राजपथमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक बिरामीमाथि वीर अस्पतालमा टाउको खोल्ने शल्यक्रिया गर्दै उनले नेपालमा पहिलोपटक न्युरोसर्जरीको अभ्यास सुरु गरेका थिए। त्यही शल्यक्रिया नेपालको चिकित्सा इतिहासमा कोशेढुंगा मानिन्छ।
उनले करिब चार दशकसम्म वीर अस्पतालमा सेवा दिँदै ४० हजारभन्दा बढी सफल शल्यक्रिया सम्पन्न गरेका थिए। सीमित स्रोत–साधन र आधुनिक उपकरणको अभावका बीच उनले जोखिम मोलेर नयाँ शल्य विधिहरूको विकास गरेका थिए।
डा. गोंगल चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का संस्थापक निर्देशक समेत थिए। उनको योगदानले नेपालमा आधुनिक शल्यचिकित्साको आधार निर्माण भएको मानिन्छ।
सन् १९३० को दशकमा काठमाडौंमा जन्मिएका उनका पुख्र्यौली घर पाल्पाको तानसेन हो। जुद्धोदय स्कुलबाट प्रारम्भिक शिक्षा पूरा गरेका उनले त्रिचन्द्र कलेजबाट आइएस्सी र बीएस्सी अध्ययन गरे। त्यसपछि भारतको दरभंगा मेडिकल कलेजबाट एमबिबिएस र मुम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरेका थिए।
चिकित्सा क्षेत्रमा मात्र सीमित नरही उनले युवावस्थामा प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय भूमिका खेलेका थिए। आन्दोलनका क्रममा पम्प्लेट वितरण र जुलुसमा सहभागी भएका कारण उनी पक्राउ समेत परेका थिए।
जीवनको उत्तरार्धमा स्वास्थ्य समस्याका कारण सक्रिय शल्यक्रियाबाट टाढा भए पनि अस्पतालप्रति उनको लगाव अन्तिम समयसम्म कायम रहेको बताइन्छ।
डा. गोंगललाई केवल कुशल सर्जन मात्र नभई दूरदर्शी गुरुका रूपमा पनि सम्झिने गरिन्छ। उनको निधनले नेपाली चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
नेपालका न्युरोसर्जरीका पिता डा. दिनेशनाथ गोंगलको अन्तिम सन्देश
मंगलबार, वैशाख ८, २०८३
२३ लाख बालकालिकालाई खुवाइयो भिटामिन ‘ए’
मंगलबार, वैशाख ८, २०८३
गुणस्तर नपुगेपछि ओन्डाट्रोन–४ नामक औषधि बजारबाट फिर्ता लिन निर्देशन
मंगलबार, वैशाख ८, २०८३
नेतृत्व अभाव र बजेट संकटले थलिँदै स्वास्थ्य बीमा बोर्ड
मंगलबार, वैशाख ८, २०८३

