नेपाल हेल्थ न्युज, बुटवल । पाल्पाकी २९ वर्षीया गीता पाण्डेको गर्भपतनका क्रममा मृत्यु भएको घटनाले रूपन्देहीमा गम्भीर चिकित्सा लापरबाहीको प्रश्न उठाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दुलेखा स्वास्थ्य क्लिनिकका डा. सतिष रुपाखेतीलाई मंगलबार बेलुका नियन्त्रणमा लिइएको हो। यसअघि जोनल फार्मेसीका सन्ध्या बस्नेत, निलम घर्ती मगर तथा इन्दुलेखा क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे पक्राउ परिसकेका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन सबै पक्षमाथि अनुसन्धान भइरहेको छ। “घटनामा कसको कस्तो भूमिका छ भन्ने तथ्य अनुसन्धानपछि स्पष्ट हुनेछ,” उनले बताए।
मृतकका पति प्रकाश पाण्डेले आर्थिक लाभको उद्देश्यले उपचारमा गम्भीर लापरबाही गरिएको आरोप लगाउँदै पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। उनका अनुसार कुनै दीर्घ रोग नभएकी गीता पूर्ण रूपमा स्वस्थ थिइन्।
घटनाक्रम अनुसार, गीता चैत २७ गते खत्री नर्सिङ होममा करिब १२ हप्ताको गर्भ परीक्षणका लागि पुगेकी थिइन्। त्यहाँ गर्भ असामान्य रहेको भन्दै उनलाई वैशाख ५ गते पुनः बोलाइएको थियो। तर त्यसपछि उनलाई अर्को क्लिनिकमा पठाइयो, जहाँ औषधि दिएर गर्भपतन प्रक्रिया सुरु गरिएको थियो।
अन्ततः इन्दुलेखा क्लिनिकमा गर्भपतन गराउने क्रममा उनको अवस्था गम्भीर बनेको र बेहोस भएपछि उनलाई लुम्बिनी सिटी अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको परिवारले जनाएको छ।
प्रकाश पाण्डेले उपचार प्रक्रियाबारे आफूलाई स्पष्ट जानकारी नदिइएको र भ्रुणसम्बन्धी विवरणसमेत लुकाइएको आरोप लगाएका छन्। उनले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान जारी राखेको छ भने आवश्यक प्रमाण संकलन गरी कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।
महिनामा दुईपटक महिनावारी: सामान्य कि चिन्ताको विषय ?
बुधबार, वैशाख ९, २०८३
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
बुधबार, वैशाख ९, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा.विष्णु गौतम नियुक्त
बुधबार, वैशाख ९, २०८३
केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार
मंगलबार, वैशाख ८, २०८३

