नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको पाइएको छ। वीर अस्पतालस्थित राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा ब्रेन ट्युमरका बिरामी १५.४ प्रतिशतले वृद्धि भएका छन्।
देशभरका २० भन्दा बढी न्युरो केन्द्रहरूको तथ्याङ्क समेटेर गरिएको अध्ययनअनुसार २०८२ सालमा करिब ३ हजार बिरामीको ब्रेन ट्युमरको उपचार गरिएको छ। अध्ययनले पुरुष र महिला दुवै समान रूपमा प्रभावित भएको देखाएको छ, जसमा ५०.०७ प्रतिशत पुरुष र ४९.९३ प्रतिशत महिला रहेका छन्। बिरामीहरूको औसत उमेर ४६ वर्ष रहेको छ।
उमेर समूहअनुसार ३० देखि ५० वर्षका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित भएको पाइएको छ। भौगोलिक रूपमा बागमती प्रदेशबाट ३६.४ प्रतिशत बिरामी उपचारका लागि आएका छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा उपचार सेवाको पहुँच अझै कमजोर रहेको अध्ययनले देखाएको छ।
अध्ययनले थप गम्भीर पक्ष पनि उजागर गरेको छ। नेपालमा उच्च-ग्रेड ग्लियोमाका बिरामी ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेका छन्, जसले बिरामीहरू ढिलो अवस्थामा मात्र उपचारका लागि अस्पताल पुग्ने प्रवृत्ति बढिरहेको संकेत गर्छ।
यस्तै, मेनिन्जियोमाको हिस्सा ७.४ प्रतिशतबाट बढेर २७.१ प्रतिशत पुगेको छ भने ग्रेड–३ मेनिन्जियोमामा १५ प्रतिशतले कमी आएको छ, जसलाई सकारात्मक संकेतका रूपमा लिइएको छ।
राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ स्नायु तथा मेरुदण्ड रोग विशेषज्ञ प्रा. डा. राजीव झाले प्रारम्भिक चरणमै रोग पहिचान र उपचार भए धेरै बिरामीको जीवन बचाउन सकिने बताएका छन्। उनका अनुसार, समयमै निदान नहुँदा रोग जटिल अवस्थामा पुग्ने जोखिम बढिरहेको छ।
विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालले जुन महिनाभर (असार १६ गतेसम्म) ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेको छ। बिरामीलाई राहत दिने उद्देश्यले यो सेवा विगत दुई वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अस्पतालले जनाएको छ।
यस अवसरमा वीर अस्पतालले काठमाडौंमा जनचेतनामूलक प्रभातफेरि समेत आयोजना गरेको थियो। साथै, नेपालमा न्युरो-अन्कोलोजी सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै डा. चिरधाम बुढाथोकीलाई ‘च्याम्पियन अफ न्युरोअन्कोलोजी केयर–२०२६’ बाट सम्मान गरिएको छ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
