नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काठमाडौंको बालुवाटारस्थित मारिया हस्पिटल (मारिया हेल्थ सेन्टर प्रा.लि.) लाई आवश्यक अनुमति तथा क्लिनिकल मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरेको छ।
काउन्सिलले बिहीबार जारी गरेको सूचनाअनुसार अस्पतालमा गरिएको स्थलगत अनुगमनका क्रममा विदेशी चिकित्सकमार्फत गैरकानूनी रूपमा बिरामीको स्वास्थ्य परीक्षण भइरहेको भेटिएको थियो। सोही आधारमा काउन्सिलले अस्पतालविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
घटना सार्वजनिक भएपछि काउन्सिलले चिकित्सा अभ्यासमा संलग्न तीन जना चिनियाँ चिकित्सकको अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरेको छ। साथै, उक्त संस्थाको बोर्डमा नाम राखेर काउन्सिलको आचारसंहिता उल्लङ्घन गरेको आरोपमा संलग्न नेपाली चिकित्सकहरूलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
काउन्सिलले अस्पताललाई भौतिक रूपमा बन्द गर्न तथा सञ्चालकहरूमाथि आवश्यक कारबाही अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरिसकेको जनाएको छ। यस्तै, भिसा सर्तविपरीत कार्य गर्ने विदेशी नागरिकहरूको गैर-पर्यटकीय भिसा तथा श्रम इजाजत खारेज गर्न सम्बन्धित निकायमा विस्तृत प्रतिवेदन पठाइएको छ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने तथा काउन्सिलको आचारसंहिता विपरीत हुने गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनअनुसार कारबाहीको दायरामा ल्याइने बताउनुभयो।
काउन्सिलले अनुमति नलिई सञ्चालन भइरहेका स्वास्थ्य संस्था वा दर्ताबिनै लुकिछिपी बिरामी जाँच गर्ने चिकित्सकबारे जानकारी भए प्रमाणसहित उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। उजुरीकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने पनि काउन्सिलले जनाएको छ।

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
