नेपाल हेल्थ न्युज, काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा दुई साताअघि कलेजो प्रत्यारोपण गरिएका एक ६४ वर्षीय पुरुष बिरामी स्वास्थ्य लाभपछि सोमवार अस्पतालबाट डिस्चार्ज भएका छन्।
लिभर सिरोसिसका कारण कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेका ती बिरामीलाई उनका २८ वर्षीय छोराले कलेजो दान गरेका थिए। प्रत्यारोपण टोलीका संयोजक प्रा.डा. रमेशसिंह भण्डारीका अनुसार बुबा–छोराबीच सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न भएको हो।
डा. भण्डारीले बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेकाले आवश्यक चिकित्सकीय निगरानीपछि डिस्चार्ज गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार त्रिवि शिक्षण अस्पतालले हालसम्म २६ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
उहाँले प्रारम्भिक १० वटा कलेजो प्रत्यारोपण विदेशी विशेषज्ञ चिकित्सकको सहयोगमा गरिएको भए पनि त्यसपछिका १६ वटा प्रत्यारोपण नेपाली चिकित्सकहरूको टोलीले आफ्नै नेतृत्वमा सफलतापूर्वक गर्दै आएको बताउनुभयो।
“अहिले हामी २६औँ कलेजो प्रत्यारोपणसम्म आइपुगेका छौँ। सुरुका १० वटा प्रत्यारोपणमा विदेशी विशेषज्ञको सहयोग लिएका थियौँ, त्यसपछिका सबै प्रत्यारोपण नेपाली चिकित्सकहरूको टोलीले आफ्नै नेतृत्वमा गरिरहेको छ। यो अस्पताल मात्र नभई समग्र देशकै स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि हो,” डा. भण्डारीले भन्नुभयो।
उहाँले कलेजो प्रत्यारोपण सेवामा त्रिवि शिक्षण अस्पतालको टोली आत्मनिर्भर बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा अझ जटिल प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो।
त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठ १७ गते विदेशी विशेषज्ञ चिकित्सकहरूको सहकार्यमा पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु गरिएको थियो। त्यसपछि २०८० पुस २७ गतेदेखि भने नेपाली चिकित्सकहरूको टोलीले विदेशी चिकित्सकको प्रत्यक्ष सहयोगबिनै कलेजो प्रत्यारोपण गर्दै आएको छ।
चिकित्सकहरूका अनुसार नेपालमै दक्ष जनशक्ति र अत्याधुनिक प्रविधिको विकाससँगै कलेजो प्रत्यारोपण सेवा विस्तार हुँदै गएको छ। यसले उपचारका लागि विदेश जानुपर्ने बिरामीहरूको बाध्यता क्रमशः घट्दै जाने विश्वास गरिएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
