नेभिगेशन

साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

नेपाल हेल्थ न्युज, ललितपुर । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरघरमै स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ।

महानगरका नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या परेमा महानगरपालिकाको हटलाइन नम्बर ११३१ मा सम्पर्क गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ।

महानगरका अनुसार हटलाइनमा बिरामीसम्बन्धी जानकारी प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स तथा आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगेर उपचार सेवा प्रदान गर्नेछ।

चिकित्सकले बिरामीको स्वास्थ्य अवस्थाअनुसार आवश्यक उपचार गर्नेछन्। घरमै उपचार सम्भव नभएका बिरामीलाई भने सोही एम्बुलेन्समार्फत उपयुक्त अस्पतालमा रिफर गरिने व्यवस्था गरिएको महानगरले जनाएको छ।

यस सेवामार्फत विशेषगरी घरबाट बाहिर निस्कन कठिनाइ हुने बालबालिका, अशक्त व्यक्ति तथा ज्येष्ठ नागरिकलाई सहज र पहुँचयुक्त स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। ललितपुर महानगरपालिकाभित्र हाल करिब दुई लाख ९४ हजार नागरिक बसोबास गर्दै आएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट