नेपाल हेल्थ न्युज, काठमाडौं । अटिजममा आधारित नमूना विद्यालय स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक अवधारणापत्र तयार गर्न गठित प्राविधिक समितिले आफ्नो प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई बुझाएको छ।
मन्त्रालयद्वारा गठित ६ सदस्यीय प्राविधिक समितिले करिब तीन महिनाको अध्ययन तथा परामर्शपछि तयार पारेको प्रतिवेदन बुधबार मन्त्री पोखरेललाई हस्तान्तरण गरेको हो।
समितिको संयोजकत्व सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले गर्नुभएको थियो।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पोखरेलले सरकारले अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ अटिजममा आधारित नमूना विद्यालय स्थापना गर्ने तयारी अघि बढाएको बताउनुभयो।
उहाँले प्रतिवेदनमा समेटिएका सुझावलाई चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
समितिका संयोजक श्रेष्ठका अनुसार प्रतिवेदनमा एक संघीयस्तरको अनुसन्धान केन्द्र स्थापना गर्ने तथा प्रत्येक प्रदेशमा अटिजममा आधारित नमूना विद्यालय सञ्चालनका लागि आवश्यक मापदण्ड, संरचना र व्यवस्थापनसम्बन्धी सुझाव समावेश गरिएको छ।
साथै, अटिजम भएका बालबालिकाले विशिष्टीकृत शिक्षा तथा सेवा प्राप्त गर्ने सुनिश्चितताका लागि आवश्यक नीतिगत व्यवस्था पनि अवधारणापत्रमा समेटिएको उहाँले जानकारी दिनुभयो।
विश्व अटिजम सचेतना दिवसका अवसरमा सरकारले सातै प्रदेशमा अटिजममा आधारित नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको थियो।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
