नेभिगेशन

गेटामा एमबीबीएस सञ्चालन गर्न चार वटा प्रादेशिक अस्पताललाई जोड्ने निर्णय

नेपाल हेल्थ न्युज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश मातहतका चार वटा प्रादेशिक अस्पताललाई गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ।

बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कैलालीका सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, लम्कीचुहा अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

चिकित्सा शिक्षाका विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउन यी अस्पताललाई उपयोग गर्ने विश्वविद्यालयको योजना रहेको छ। गेटा अस्पताललाई समेत सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय यसअघि नै सरकारले गरिसकेको छ।

गेटामा मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय कुन स्वरूपमा स्थापना गर्ने भन्ने लामो समयदेखिको अन्योल अन्त्य गर्दै सरकारले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। त्यसका लागि आवश्यक ऐनसमेत निर्माण भइसकेको छ।

विश्वविद्यालयका रजिष्ट्रार भीमबहादुर चन्दका अनुसार विश्वविद्यालयमा प्राध्यापक, सहप्राध्यापक र सहायक प्राध्यापक गरी ७७ जना जनशक्ति छनोटको प्रक्रिया अघि बढिरहेको छ। चालु शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप चार जना प्राध्यापक र १३ जना सहप्राध्यापक गरी १७ जनाको अन्तिम नतिजा गत आइतबार सार्वजनिक गरिएको छ।

विश्वविद्यालयले चालु शैक्षिक सत्रमै एमबीबीएस, बीएस्सी नर्सिङ, बीएस्सी एमएलटी र बी अप्टोमेट्री गरी चार वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। त्यसका लागि चिकित्सा शिक्षा आयोगको आवश्यक प्रक्रिया अघि बढाइएको विश्वविद्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट