नेभिगेशन

रसुवामा बाढीपछि स्वास्थ्य मन्त्रालय ‘हाई अलर्ट’मा, अस्पतालहरू तयारी अवस्थामा

नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवामा आएको बाढीबाट हुन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय बनाएको जनाएको छ।

मन्त्रालयले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राख्दै घाइतेको तत्काल उपचार र आवश्यक परे माथिल्लो तहका अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाएको जनाएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार बाढीको सूचना पाएलगत्तै मन्त्रालय बिहानैदेखि सतर्क अवस्थामा छ। प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आवश्यक तयारीका लागि जानकारी गराइएको छ भने मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरसमेत सक्रिय पारिएको छ।

‘बिहानदेखि काम जुटिसकेका छौं । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई जानकारी गराइसकेका छौं। हाम्रो हब–स्याटेलाइट अस्पतालको नेटवर्क सक्रिय गरिएको छ,’ डा. अधिकारीले बताउनुभयो।

उहाँका अनुसार रसुवा तथा आसपासका स्वास्थ्य संस्थामा प्राथमिक उपचारसँगै बिरामीको अवस्था पहिचान गर्ने ‘ट्रायज’ व्यवस्था गरिनेछ। स्थानीयस्तरमा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई हब अस्पतालमा रिफर गरी थप उपचार गर्ने पूर्वनिर्धारित विपद् कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ।

मन्त्रालयले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसहितका प्रमुख हब अस्पताललाई सम्भावित गम्भीर घाइतेको उपचारका लागि तयारी अवस्थामा राखेको जनाएको छ।

प्रभावित क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाबाट रिफर भएर आउने बिरामीलाई काठमाडौंका ठूला अस्पतालमा व्यवस्थापन गर्ने तयारीसमेत गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो।

त्यस्तै, त्रिशूली अस्पताल, रसुवा अस्पताल, धुन्चे अस्पताल तथा आसपासका स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाबीच समन्वय गरी बिरामीको अवस्थाअनुसार स्थानीयस्तरमै उपचार गर्ने वा तत्काल माथिल्लो तहको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ।

‘यस्ता विपद्का घटनाका लागि पहिले नै बनेका कार्ययोजना छन्। हरेक अस्पतालको आफ्नै विपद् कार्ययोजना हुन्छ। स्थानीय अस्पतालबाट उपचार सम्भव नभएमा हब अस्पतालमा रिफर गर्ने र त्यहाँबाट गम्भीर बिरामीको व्यवस्थापन गर्ने प्रणाली अहिले सक्रिय गरिएको छ,’ अधिकारीले भन्नुभयो।

बाढीबाट गम्भीर घाइते भएर काठमाडौं आइपुगेकाको यकिन विवरण भने तत्काल उपलब्ध हुन सकेको छैन। मन्त्रालयका अनुसार घाइते तथा प्रभावितको विवरण संकलन र अद्यावधिक गर्ने काम भइरहेको छ।

प्रवक्ता अधिकारीले गम्भीर घाइतेको विवरण पूर्ण रूपमा अद्यावधिक भइनसकेको र थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जानकारी दिनुभयो अहिलेसम्म आइपुगेका गम्भीर घाइतेको विवरण पूर्ण रूपमा अध्यावधिक भइसकेको छैन। विवरण आएपछि बेलुकासम्म अपडेट गर्छौं,’ उहाँले भन्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट