नेभिगेशन
विश्व फिजियोथेरापी दिवस २०२६

स्ट्रोकपछि मात्रै होइन, स्ट्रोक हुन नदिन पनि फिजियोथेरापी

न्युरोफिजियोथेरापीको बदलिँदो भूमिकाः पक्षघातबाट पुनःस्थापनादेखि मुटु र मस्तिष्कको रोग रोकथामसम्म

नेपाल हेल्थ न्युज, काठमाडौं । फिजियोथेरापी भन्नेबित्तिकै धेरैको दिमागमा स्ट्रोक वा चोटपटकपछि कमजोर भएको हातखुट्टा चलाउने, मांसपेशी बलियो बनाउने र बिरामीलाई हिँड्न सिकाउने उपचारको चित्र आउँछ । तर फिजियोथेरापीको भूमिका त्यतिमै सीमित छैन ।

विशेषगरी न्युरोफिजियोथेरापीले स्ट्रोक भइसकेपछि बिरामीको गुमेको शारीरिक क्षमता फर्काउने मात्र नभई स्ट्रोकका जोखिम कारक नियन्त्रणमार्फत यसको रोकथाममा समेत महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

नेपाल फिजियोथेरापी एसोसिएसनकी उपाध्यक्ष तथा न्युरोलोजिकल रिह्याबिलिटेसन कन्सल्टेन्ट डा. मञ्जु ज्ञवालीका अनुसार, फिजियोथेरापीलाई अब रोग लागेपछि गरिने उपचारमा मात्र सीमित राख्नु हुँदैन ।
विश्व फिजियोथेरापीले सन् २०२६ देखि २०३० सम्म मुटु तथा मस्तिष्कसँग सम्बन्धित रोग, विशेषगरी कार्डियोभास्कुलर डिजिज र स्ट्रोकको रोकथाम तथा व्यवस्थापनमा फिजियोथेरापीको भूमिकालाई प्राथमिकतामा राखेको छ । 

‘हाम्रो जस्तो निम्न मध्यम आम्दानी हुने देशमा रोग लागिसकेपछि उपचार गर्न आर्थिक तथा अन्य कारणले कठिन हुनसक्छ । त्यसैले फिजियोथेरापीलाई रोकथामको माध्यमका रुपमा पनि लैजानुपर्छ’— डा. ज्ञवाली भन्नुहुन्छ । 

स्ट्रोक रोकथाममा व्यायामको भूमिका
स्ट्रोक अचानक हुने समस्या जस्तो देखिए पनि यसको पछाडि विभिन्न जोखिम कारक हुन्छन् । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, शारीरिक निष्क्रियता तथा अस्वस्थ जीवनशैली स्ट्रोकको जोखिम बढाउने महत्वपूर्ण कारक हुन् ।

यिनै जोखिमलाई समयमै पहिचान गरेर नियन्त्रण गर्न सकिए स्ट्रोकको जोखिम घटाउन सकिने डा. ज्ञवाली बताउनुहुन्छ ।

उहाँका अनुसार नियमित शारीरिक सक्रियता र उचित व्यायामले रक्तचाप तथा रगतमा चिनीको मात्रा नियन्त्रणमा सहयोग गर्न सक्छ । त्यसैले जोखिममा रहेका व्यक्तिले आवश्यकताअनुसार विशेषज्ञको सल्लाह र फिजियोथेरापिस्टको सुपरिवेक्षणमा व्यायाम तथा शारीरिक गतिविधिलाई आफ्नो जीवनशैलीको हिस्सा बनाउनुपछ ।

‘ब्लड प्रेसर,सुगर नियन्त्रणमा राख्ने, शारीरिक सक्रियता बढाउने र  फिजियोथेरापीष्टको सुपरभिजनमा एक्सरसाइज सुरु गरेमा स्ट्रोकको जोखिमलाई कम गर्न सकिन्छ’—उहाँ भन्नुहुन्छ ।


यसले फिजियोथेरापीलाई रिह्याबिलिटेसनबाट प्रिभेन्सनतर्फ विस्तार हुँदै गएको स्वास्थ्य सेवाको एउटा महत्वपूर्ण अंगका रूपमा प्रस्तुत गर्छ ।

स्ट्रोक भइसकेपछि के गर्छ न्युरोफिजियोथेरापीले ?
स्ट्रोकले मस्तिष्कको कुन भागमा असर गरेको छ भन्ने आधारमा बिरामीमा विभिन्न प्रकारका शारीरिक तथा कार्यात्मक समस्या देखिन सक्छन् । कसैको हात कमजोर हुने, कसैको खुट्टा चलाउन कठिन हुने, कसैलाई सन्तुलन मिलाउन समस्या हुन्छ भने कसैको हिँडडुल र दैनिक क्रियाकलापमै अरूको सहयोग आवश्यक पर्न सक्छ ।

यस्तो अवस्थामा न्युरोफिजियोथेरापीको मुख्य उद्देश्य बिरामीले गुमाएका वा कमजोर भएका क्षमतालाई सकेसम्म पुनःस्थापित गर्नु हो ।
यसअन्तर्गत हातखुट्टाको शक्ति तथा चलायमानता सुधार गर्ने, सन्तुलन र हिँडाइमा सुधार ल्याउने, दैनिक क्रियाकलापमा आत्मनिर्भर बनाउने तथा लामो समयसम्म ओछ्यानमा सीमित हुनबाट जोगाउने काम गरिन्छ।

डा. ज्ञवालीका अनुसार स्ट्रोकपछि बिरामीलाई अरूमाथि निर्भर हुनबाट जोगाउँदै सकेसम्म स्वतन्त्र जीवनमा फर्काउनु न्युरोफिजियोथेरापीको महत्वपूर्ण उद्देश्य हो ।

‘स्ट्रोकमा शरीरको कुन अंग प्रभावित भएको छ, त्यसअनुसार गुमेको पावर फर्काउने, हातखुट्टा चलाउने, बिरामीलाई हिँड्न सिकाउने र बेडरिडन हुनबाट जोगाउने काम फिजियोथेरापी रिह्याबिलिटेसनले गर्छ’—उहाँ भन्नुहुन्छ ।

‘जति चाँडो सुरु ग¥यो, त्यति राम्रो’
स्ट्रोकपछि पुनःस्थापना कहिले सुरु गर्ने भन्ने प्रश्न निकै महत्वपूर्ण हुन्छ । सामान्य बुझाइमा बिरामी अस्पतालबाट घर फर्किएपछि फिजियोथेरापी सुरु गर्ने भन्ने हुन सक्छ । तर आधुनिक स्ट्रोक पुनःस्थापनाको अवधारणाले बिरामीको अवस्था स्थिर भएपछि अस्पतालमै पुनःस्थापना सुरु गर्ने कुरालाई महत्व दिन्छ ।

डा. ज्ञवालीका अनुसार स्ट्रोकपछि सम्भव भएसम्म छिटो न्युरोफिजियोथेरापी तथा स्ट्रोक रिह्याबिलिटेसन सुरु गर्नुपर्छ । कतिपय अवस्थामा बिरामी आईसीयूमै रहँदादेखि पुनःस्थापनाको आवश्यकता मूल्यांकन गरिन्छ ।

‘जति चाँडो सुरु ग¥यो, त्यति नै राम्रो हुन्छ । अगाडिको तीन महिनासम्म उपचार र रिह्याबिलिटेसन एकदमै प्रभावकारी हुन्छ’— उहाँ भन्नुहुन्छ ।

तीन महिनापछि पुनःस्थापनाको सम्भावना समाप्त हुने होइन । आवश्यकताअनुसार त्यसपछि पनि फिजियोथेरापी जारी राख्न सकिन्छ ।
स्ट्रोकको आकस्मिक मेडिकल उपचारले बिरामीको ज्यान जोगाउन र मस्तिष्कमा थप क्षति हुन नदिन भूमिका खेल्छ भने त्यसपछि गरिने न्युरोफिजियोथेरापीले बिरामीको शारीरिक क्षमता, गतिशीलता र दैनिक जीवनमा पुनःस्थापना गर्न सहयोग गर्छ ।

त्यसैले स्ट्रोक उपचारलाई औषधि वा आकस्मिक उपचारमा सीमित नगरी मेडिकल उपचारसँगै पुनःस्थापनालाई उपचारकै निरन्तर प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने देखिन्छ ।

हातखुट्टा चलाउनु मात्रै होइन
न्युरोफिजियोथेरापीलाई सामान्य व्यायाम वा मसाजसँग मात्र जोडेर हेर्नु यसको वास्तविक अवधारणालाई सीमित गर्नु हो ।
स्ट्रोकपछि बिरामीको शरीरमा देखिएको कमजोरीको पछाडि मस्तिष्क र स्नायु प्रणालीमा आएको समस्या हुन्छ । त्यसैले पुनःस्थापनामा शरीरको प्रभावित भागलाई मात्र चलाउने नभई मस्तिष्क र शरीरबीचको समन्वय पुनःस्थापित गर्न सहयोग गर्ने विभिन्न अभ्यास गरिन्छ ।

बिरामीलाई बस्न, उभिन, सन्तुलन कायम गर्न, हिँड्न तथा दैनिक जीवनका काम गर्न क्रमशः सक्षम बनाउने प्रक्रिया न्युरोफिजियोथेरापीको महत्वपूर्ण हिस्सा हो ।


यसको अन्तिम उद्देश्य हातखुट्टा चलाउनु मात्र नभई बिरामीलाई स्वतन्त्र र गुणस्तरीय जीवनमा फर्काउनु हो ।

नेपालमा बढ्दो आवश्यकता
नेपालमा पनि स्ट्रोकको समस्या महत्वपूर्ण स्वास्थ्य चुनौतीका रूपमा देखिएको डा. ज्ञवालीको अनुभव छ । अझ पछिल्लो समय स्ट्रोकलाई वृद्ध उमेरसँग मात्र जोडेर हेर्न नमिल्ने उनी बताउँछिन्।

‘पहिला स्ट्रोक भनेको बुढ्यौलीको रोग हो भन्ने गरिन्थ्यो । अहिले एकदमै युवा उमेरका मानिसमा पनि स्ट्रोक धेरै देखिन थालेको छ’— उहाँ भन्नुहुन्छ । 

यसका पछाडि जीवनशैली, खानपान, शारीरिक निष्क्रियता तथा अन्य जोखिम कारकको भूमिका हुनसक्ने उहाँको भनाइ छ ।

कम उमेरमै स्ट्रोक हुँदा यसको असर व्यक्ति र परिवारमा दीर्घकालीन हुनसक्छ । काम गर्ने उमेरमै व्यक्ति अशक्त हुँदा रोजगारी गुम्ने, परिवारमा आर्थिक बोझ बढ्ने र दैनिक जीवनका लागि अरूमा निर्भर हुनुपर्ने अवस्था आउन सक्छ ।

त्यसैले स्ट्रोकको उपचारसँगै प्रभावकारी पुनःस्थापना सेवा विस्तार गर्नु नेपालको स्वास्थ्य प्रणालीका लागि पनि महत्वपूर्ण आवश्यकता बन्दै गएको छ ।

स्ट्रोकपछि ‘फेरि आफ्नो जीवनमा फर्कने’ आशा
स्ट्रोकपछि बिरामी र परिवारमा सबैभन्दा ठूलो प्रश्न हुन्छ—अब पहिलेजस्तो जीवनमा फर्कन सकिन्छ कि सकिँदैन ?
यसको उत्तर प्रत्येक बिरामीको अवस्था, स्ट्रोकको प्रकार तथा मस्तिष्कमा भएको क्षति, उपचार सुरु भएको समय, पुनःस्थापनाको निरन्तरता र अन्य स्वास्थ्य अवस्थाले निर्धारण गर्छ । तर उचित समयमा सुरु गरिएको व्यवस्थित पुनःस्थापनाले कार्यक्षमता सुधार गर्न महत्वपूर्ण सहयोग गर्न सक्छ ।
डा. ज्ञवालीका अनुसार न्युरोफिजियोथेरापीको उद्देश्य बिरामीलाई सम्भव भएसम्म उसको पुरानै जीवनमा फर्काउन सहयोग गर्नु हो ।

‘एक्युट स्ट्रोकको मेडिकल ट्रिटमेन्टपछि न्युरोफिजियोथेरापी पनि उपचारकै एउटा माध्यम हो । यसले बिरामीलाई पहिलाको जीवनमा फर्कन र इन्डिपेन्डेन्ट हुन सहयोग गर्छ’—उहाँ भन्नुहुन्छ । 

यसैले स्ट्रोकपछि ‘अब केही गर्न सकिँदैन’ भन्ने निराशाभन्दा समयमै उपचार, नियमित पुनःस्थापना र परिवारको सहयोग महत्वपूर्ण हुन्छ ।

स्ट्रोकबाहेक पनि न्युरोफिजियोथेरापीको व्यापक दायरा
न्युरोफिजियोथेरापीको आवश्यकता स्ट्रोकमा मात्र सीमित छैन । यसले मस्तिष्क, मेरुदण्ड तथा पेरिफेरल नर्भसँग सम्बन्धित विभिन्न रोग तथा अवस्थामा भूमिका खेल्छ ।
डा. ज्ञवालीका अनुसार पार्किन्सन्स डिजिज, मोटर न्युरोन डिजिजलगायत विभिन्न न्युरोलोजिकल समस्यामा न्युरोफिजियोथेरापी उपयोगी हुन्छ ।

त्यस्तै मेरुदण्डका नसामा समस्या वा नसा च्यापिने अवस्थादेखि हातखुट्टामा जाने पेरिफेरल नर्भसँग सम्बन्धित समस्यामा पनि बिरामीको अवस्थाअनुसार यसको भूमिका हुन्छ ।

अर्थात् न्युरोफिजियोथेरापी भनेको स्ट्रोकपछि हातखुट्टा चलाउने मात्र उपचार होइन; स्नायु प्रणालीसँग सम्बन्धित रोगमा बिरामीको कार्यक्षमता र स्वतन्त्रता जोगाउने तथा पुनःस्थापित गर्ने उपचार पद्धति हो ।

‘रिह्याबिलिटेसनलाई उपचारकै हिस्सा मान्नुपर्छ’
नेपालमा न्युरोलोजिकल रोगको उपचारको पहुँच विस्तार हुँदै गए पनि पुनःस्थापना सेवाको महत्वबारे अझै पर्याप्त जनचेतना आवश्यक देखिन्छ ।


स्ट्रोक भएपछि तत्काल अस्पताल पुग्ने, आवश्यक मेडिकल उपचार लिने र त्यसपछि पुनःस्थापनालाई लामो समयसम्म निरन्तरता दिने संस्कार विकास गर्नुपर्ने देखिन्छ ।

त्यसैगरी स्ट्रोकको जोखिममा रहेका व्यक्तिले पनि रोग लागेपछि मात्र फिजियोथेरापी सम्झने होइन, नियमित शारीरिक सक्रियता, व्यायाम र स्वस्थ जीवनशैलीलाई रोग रोकथामको हिस्साका रूपमा लिनुपर्ने हुन्छ ।

विश्व फिजियोथेरापी दिवसले यही सन्देशलाई थप बल दिएको छ—फिजियोथेरापी रोग वा चोटपटकपछि गरिने सेवा होइन, रोगको रोकथामदेखि उपचार, पुनःस्थापना र गुणस्तरीय जीवनसम्म जोडिने स्वास्थ्य सेवाको महत्वपूर्ण कडी हो।
विशेषगरी स्ट्रोकको सन्दर्भमा यसको यात्रा अझ व्यापक छ—‘स्ट्रोक हुन नदिन जोखिम घटाउनेदेखि, स्ट्रोक भइसकेपछि गुमेको क्षमता फर्काउने र बिरामीलाई पुनः आत्मनिर्भर जीवनमा फर्काउनेसम्म ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फिजियोथेरापी