काठमाडौँ, १९ भदौ । डा. विकास जैसी स्वास्थ्य सेवाअन्तर्गत एघारौँ तहमा बढुवा हुनुभएको छ। लोक सेवा आयोगले खुलाएको आन्तरिक प्रतिस्पर्धाबाट स्वास्थ्य सेवा, मेडिसिन समूह, हेपाटोलोजी उपसमूहअन्तर्गत प्रमुख कन्सल्टेन्ट हेपाटोलोजिस्ट (फिजिसियन) पदमा जैसी बढुवा हुनुभएको छ।
यसैबीच, आयोगले मेडिकल अधिकृत पदका लागि लिखित परीक्षाबाट छनोट भई अन्तर्वार्ताका लागि योग्य ठहरिएका पाँच जना चिकित्सकको नाम अन्तर्वार्ता सूचीबाट हटाएको छ।
छात्रवृत्ति करारमा तोकिएको सेवा अवधि तथा अन्य सर्त पूरा नगरेको पाइएपछि आयोगले उनीहरूको दरखास्त तथा लिखित परीक्षा समेत बदर गर्दै अन्तर्वार्ताका लागि प्रकाशित सूचीबाट नाम हटाएको हो।
नाम हटाइने चिकित्सकहरूमा डा. अन्विति पराजुली, डा. आशुतोष झा, डा. संगीन छन्त्याल, डा. सागर विश्वकर्मा र डा. सुविदराज दाहाल रहेका छन्।
आयोगका अनुसार चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम २२ को उपनियम (५) मा छात्रवृत्तिमा मनोनयन भई अध्ययन गरेका व्यक्तिले कबुलियतनामा बमोजिम सेवा गरिरहेको अवस्थामा तोकिएको एक वर्षभन्दा बढी अवधि पूरा गरेपछि मात्रै लोक सेवा आयोग वा अन्य सरकारी संस्थाबाट लिइने परीक्षामा उम्मेदवार हुन सक्ने व्यवस्था छ।
तर, ती पाँच चिकित्सकले उक्त कानुनी व्यवस्थाअनुसार तोकिएको सर्त पूरा नगरेको पाइएपछि उनीहरूको उम्मेदवारी रद्द गरिएको आयोगले जनाएको छ।
आयोगले प्रकाशित गरेको सूचनामा कानुनी व्यवस्था पालना नगरेका कारण उनीहरूको नाम अन्तर्वार्ता सूचीबाट हटाइएको उल्लेख छ।
स्वास्थ्य बीमाका सेवा प्रदायकले अब ईएमआर प्रणालीमार्फत दाबी पेश गर्नुपर्ने
शुक्रबार, भदौ १९, २०८३
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान
शुक्रबार, भदौ १९, २०८३
बाढीपीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन
शुक्रबार, भदौ १९, २०८३
सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
शुक्रबार, भदौ १९, २०८३
