नेभिगेशन

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा तालिका सार्वजनिक, कुन विषयको कति गते?

नेपाल हेल्थ न्युज, भक्तपुर । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको मिति र समय निर्धारण गरेको छ।

आयोगको परीक्षा निर्देशनालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार एकीकृत प्रवेश परीक्षा २०८३ कात्तिक १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ। सबै परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने आयोगले जनाएको छ।

आयोगका अनुसार चिकित्सा शास्त्र स्नातक (एमबीबीएस) को १४ गते र दन्त चिकित्सा स्नातक (बीडीएस) को प्रवेश परीक्षा कात्तिक १५ गते हुनेछ।

त्यस्तै, नर्सिङ विज्ञान स्नातक, प्रसूति विज्ञान स्नातक, वाक् तथा श्रवणसम्बन्धी भाषा विकार विज्ञान र कृत्रिम रक्तसञ्चार प्रविधिका कार्यक्रमको प्रवेश परीक्षा कात्तिक १६ गते सञ्चालन हुनेछ।

आयुर्वेद चिकित्सा तथा शल्यचिकित्सा स्नातक, नर्सिङ विज्ञान स्नातक, चिकित्सा प्रयोगशाला प्रविधि स्नातक, चिकित्सा चित्रण प्रविधि स्नातक, विकिरण उपचार प्रविधि, फिजियोथेरापी, औषधि विज्ञान र दृष्टि विज्ञान लगायतका कार्यक्रमको प्रवेश परीक्षा कात्तिक १७ गते तोकिएको छ। यसैगरी जनस्वास्थ्य स्नातकको प्रवेश परीक्षा कात्तिक १८ गते सञ्चालन हुने आयोगले जनाएको छ।

आयोगका अनुसार परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्र निर्धारण गरिनेछ। परीक्षार्थीको परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण भने प्रवेशपत्रमा उल्लेख गरिनेछ। आयोगले परीक्षासम्बन्धी अन्य आवश्यक जानकारीका लागि २०८३ साउन २१ गते प्रकाशित सूचना हेर्न परीक्षार्थीलाई अनुरोध गरेको छ।

 

WhatsApp-Image-2026-09-07-at-12.57.59-PM-1788765831.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट