नेपाल हेल्थ न्युज, काठमाडौं । बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय रहँदै आएको आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा निःशुल्क स्वास्थ्य सेवा विस्तार गर्ने भएको छ। कम्पनीले चितवन मेडिकल कलेजसँगको सहकार्यमा बाढी प्रभावित नागरिकलाई लक्षित गरी सात दिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो।
यसअघि आर्या फार्मा ल्याबले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री हस्तान्तरण गरेको थियो। बाढी प्रभावित क्षेत्रका नागरिकलाई प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ।
शिविर विदुर नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन हुनेछ। विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नं. ५ स्थित त्रिशूली विद्यालय र वडा नं. ९ स्थित भैरवडाँडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको छ।
शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श, निःशुल्क औषधि वितरण र विभिन्न रोगको परीक्षण गरिनेछ। स्वास्थ्य परीक्षणका क्रममा जटिल समस्या देखिएका तथा थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था पनि मिलाइएको छ।
बाढीपछि प्रभावित परिवारहरू स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यावहारिक कठिनाइमा परेको अवस्थालाई ध्यानमा राख्दै उनीहरूकै बस्तीमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्न लागिएको आर्या फार्मा ल्याबले जनाएको छ।
कम्पनीका अनुसार विपद्को समयमा राहत सामग्री सहयोगसँगै समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रमले प्रभावित परिवारसँगै उभिने तथा उनीहरूको पुनःस्थापनामा सहयोग गर्ने संस्थागत प्रतिबद्धता झल्काउँछ।
बाढीपछि उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै आर्या फार्मा ल्याबले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत राहत तथा स्वास्थ्य सेवामार्फत आफ्नो सहयोगलाई निरन्तरता दिएको जनाएको छ।
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
मंगलबार, भदौ ३०, २०८३
भेरी अस्पतालमा शवगृह विस्तार गरिने
मंगलबार, भदौ ३०, २०८३

