नेभिगेशन

आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा

नेपाल हेल्थ न्युज, काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर बिरामीको अन्तर्वार्ता लिएको विषय प्रतिनिधिसभामा उठेको छ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले आईसीयूमै पुगेर अन्तर्वार्ता लिइएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभएको छ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले आईसीयू अत्यन्त संवेदनशील अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको कक्ष भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘दुई दिन अगाडि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदांगो पारिदिएको छ।’ आईसीयूमा पुगेर अन्तर्वार्ता लिनु र त्यसका लागि स्वीकृति दिनु दुवै गम्भीर विषय भएको उहाँको भनाइ थियो। मानिसको जीवनभन्दा ठूलो अर्को कुनै विषय हुन नसक्ने भन्दै उहाँले घटनाबारे आवश्यक छानबिन हुनुपर्ने बताउनुभयो।

यसअघि प्रेस काउन्सिल नेपालले पनि घटनाप्रति ध्यानाकर्षण भएको जनाएको थियो। रसुवा बाढीमा परेर उद्धार गरिएका एक व्यक्तिको आईसीयूमै अन्तर्वार्ता लिएको विषयमा काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाउनुभएको थियो।

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाबाट करिब १० दिनपछि उद्धार गरिएका व्यक्तिको वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै अन्तर्वार्ता लिइएको थियो। उक्त अन्तर्वार्ता ‘इन्साइड द बंकर’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट