नेभिगेशन

आमालाई ६ महिना र बुबालाई ४२ दिन सुत्केरी बिदाको प्रस्ताव

नेपाल हेल्थ न्युज, काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा लैजाने तयारी गरिएको छ। संशोधन विधेयकमा आमालाई कम्तीमा छ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने प्रस्ताव गरिएको छ।

कानुनमन्त्री सोबिता गौतमका अनुसार संशोधन विधेयक तयार भइसकेको छ र अब मन्त्रिपरिषद् हुँदै संसद्मा पेस गर्ने तयारी भइरहेको छ।

मन्त्री गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको व्यस्त जीवन, कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको उल्लेख गर्नुभएको छ। जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकले नवजात शिशु तथा परिवारलाई पर्याप्त समय दिन सक्ने वातावरण बनाउनु राज्यको जिम्मेवारी भएको उहाँको भनाइ छ।

प्रस्तावित विधेयकमा आमाका लागि कम्तीमा छ महिनाको तलबसहितको प्रसूति बिदा र बुबाका लागि ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदाको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ।

मन्त्री गौतमले बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको बताउनुभएको छ। अभिभावकत्व दुवै अभिभावकको संयुक्त जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले सोही अवधारणाअनुसार कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिनुभएको छ।

सरकारले प्रस्ताव गरेको यो व्यवस्था कार्यान्वयनमा आएमा नेपालमा सुरक्षित मातृत्वसँगै पितृत्व र संयुक्त अभिभावकत्वलाई समेत कानुनी रूपमा थप प्राथमिकता दिने नीति बन्नेछ। विधेयक संसद्बाट पारित भएपछि मात्र प्रस्तावित व्यवस्था कानुनी रूपमा लागू हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ