नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा पनि विश्वस्तरमा प्रयोग भइरहेका आधुनिक मुटु उपचार प्रविधि विस्तार गर्न सकिने अवस्था बनेको वरिष्ठ कार्डियोलोजिस्ट डा. स्मृति शाक्यले बताउनुभएको छ। उहाँका अनुसार आवश्यक उपकरण, पूर्वाधार र स्रोतसाधनको व्यवस्थापन गर्न सके नेपालमै जटिल संरचनागत मुटुरोगको आधुनिक उपचार सम्भव छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा इन्टरभेन्सनल कार्डियोलोजिस्टका रूपमा कार्यरत डा. शाक्य हालै इजरायलबाट ‘स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन’ सम्बन्धी फेलोसिप पूरा गरेर नेपाल फर्किनुभएको हो।
करिब सात वर्षदेखि मनमोहन सेन्टरमा सेवा दिँदै आउनुभएकी उहाँले आफूले विदेशमा हासिल गरेको ज्ञान र व्यावहारिक सीपलाई नेपालमै प्रयोग गर्ने योजना रहेको बताउनुभयो।
“नेपालमा अत्याधुनिक मुटु उपचार प्रविधि ल्याउन आवश्यक तयारी र व्यवस्थापनका लागि म आफ्नोतर्फबाट पहल गर्नेछु,” उहाँले भन्नुभयो। स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सनअन्तर्गत मुटुका भल्भ तथा अन्य संरचनामा देखिएका समस्याको उपचार परम्परागत रूपमा गरिने ठूलो शल्यक्रियाको विकल्पका रूपमा गर्न सकिन्छ। विशेषगरी उमेर बढी भएका, अन्य गम्भीर स्वास्थ्य समस्या भएका वा खुला शल्यक्रियाको जोखिम उच्च भएका बिरामीका लागि यस्ता उपचार प्रविधि उपयोगी हुन सक्ने डा. शाक्यको भनाइ छ।
उहाँका अनुसार ट्रान्सक्याथेटर एओर्टिक भल्भ इम्प्लान्टेसन र ट्रान्सक्याथेटर एज–टु–एज रिपेयर पछिल्लो समय संरचनागत मुटुरोगको उपचारमा प्रयोग भइरहेका महत्वपूर्ण प्रविधि हुन्। यस्ता विधिबाट बिरामीको छाती चिरेर शल्यक्रिया गर्नु नपर्ने भएकाले उपचार प्रक्रिया तुलनात्मक रूपमा कम आक्रामक हुन्छ।
(टाभी) मा क्याथेटरको माध्यमबाट बिग्रिएको एओर्टिक भल्भको स्थानमा नयाँ भल्भ राखिन्छ भने (टिइइआर) प्रविधिबाट केही प्रकारका भल्भ चुहिने समस्या मर्मत गर्ने प्रयास गरिन्छ। यस्ता उपचार बिरामीको अवस्था र चिकित्सकीय मूल्याङ्कनका आधारमा छनोट गरिन्छ।
डा. शाक्यले इजरायलस्थित शेबा मेडिकल सेन्टरमा रहँदा यी प्रविधिसहित संरचनागत मुटुरोगको उपचारमा प्रयोग हुने आधुनिक विधिबारे प्रत्यक्ष अनुभव र सीप हासिल गर्नुभएको हो।
उहाँले आफ्नो फेलोसिपलाई व्यक्तिगत व्यावसायिक विकाससँग मात्र जोडेर नहेरेको बताउनुभएको छ। नेपालमा नयाँ प्रविधि र उपचार पद्धति भित्र्याउने तथा नेपाली बिरामीलाई सम्भव भएसम्म स्वदेशमै आधुनिक उपचारको अवसर उपलब्ध गराउने उद्देश्यले चुनौतीपूर्ण परिस्थितिमा समेत तालिम पूरा गरेको उहाँको भनाइ छ।
अब मनमोहन सेन्टरमा आवश्यक पूर्वाधार, उपकरण र व्यवस्थापन जुटाउन सके उपयुक्त बिरामीका लागि यस्ता सेवा सञ्चालन गर्ने दिशामा काम गर्ने उहाँले बताउनुभयो।
नेपालमा आधुनिक कार्डियोलोजी सेवाको विस्तारसँगै जटिल मुटुरोगका लागि विदेश जानुपर्ने अवस्थालाई क्रमशः कम गर्न सकिने उहाँको विश्वास छ। विश्वमा विकसित भइरहेका नयाँ उपचार प्रविधिलाई नेपालमा पनि व्यवस्थित रूपमा भित्र्याउन सके बिरामीले स्वदेशमै गुणस्तरीय उपचार पाउने अवसर बढ्ने उहाँको धारणा छ।
बागलुङमा १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
आइसियुमा अनधिकृत प्रवेश र भिडियो निर्माणमा पाँच स्वास्थ्य परिषद्को आपत्ति
बुधबार, भदौ ३१, २०८३
आमालाई ६ महिना र बुबालाई ४२ दिन सुत्केरी बिदाको प्रस्ताव
बुधबार, भदौ ३१, २०८३

