नेभिगेशन

हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने

नेपाल हेल्थ न्युज, काठमाडौं । हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण आगामी चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। आयोजकका अनुसार सम्मेलन सन् २०२७ मार्च १७ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ।

हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेका अनुसार सम्मेलनमा विश्वभरका भास्कुलर विशेषज्ञ चिकित्सक तथा वैज्ञानिकलाई सहभागी गराउने तयारी भइरहेको छ। मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सम्मेलनमा १०० भन्दा बढी देशका विशेषज्ञलाई निमन्त्रणा पठाइएको जानकारी दिनुभयो। हालसम्म ६० भन्दा बढी देशबाट सहभागिताका लागि दर्ता भइसकेको आयोजकले जनाएको छ।

नेपालमा भास्कुलरसम्बन्धी पहिलो बृहत् अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा सन् २०२४ मा हिमभासको पहिलो संस्करण आयोजना गरिएको थियो। उक्त सम्मेलनमा ४२ देशका विशेषज्ञ चिकित्सक तथा वैज्ञानिक सहभागी भएका थिए भने स्वदेशी तथा विदेशी गरी ३५० भन्दा बढीको सहभागिता रहेको थियो।

दोस्रो संस्करणलाई अघिल्लोभन्दा थप व्यापक बनाउने तयारी गरिएको छ। यसपटक कम्तीमा दोब्बर विदेशी विशेषज्ञ सहभागी हुने आयोजकको अपेक्षा छ। सम्मेलनमा भास्कुलरसम्बन्धी अध्ययन, अनुसन्धानका प्रतिवेदन, वैज्ञानिक पेपर तथा पोस्टर प्रस्तुत गरिनेछ। आयोजकका अनुसार ३०० भन्दा बढी पेपर तथा पोस्टर प्रस्तुत गर्ने तयारी छ।

भास्कुलर चिकित्सा मानव शरीरका विभिन्न रक्तनलीको अध्ययन, रोग पहिचान, अनुसन्धान तथा उपचारसँग सम्बन्धित चिकित्सा विधा हो। सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, इटाली, फ्रान्स, उरुग्वे, जापान, चीन, भारत र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशका विशेषज्ञ सहभागी हुनेछन्।

त्यस्तै बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, सिंगापुर, टर्की, अस्ट्रिया, कोलम्बिया, इजिप्ट, हङकङ, स्वीडेन र ओमानलगायत देशका विज्ञको सहभागिता पनि सुनिश्चित भइसकेको आयोजकले जनाएको छ।

अध्यक्ष पाण्डेका अनुसार हिमभासको मुख्य उद्देश्य हिमालय क्षेत्रसँग सम्बन्धित मुलुकसहित विश्वभरका भास्कुलर विशेषज्ञलाई एउटै मञ्चमा ल्याएर चिकित्सा ज्ञान, सीप, अनुसन्धान तथा उपचारसम्बन्धी अनुभव आदानप्रदान गर्नु हो।

यसपटकको सम्मेलनमार्फत नेपालको मेडिकल टुरिजम प्रवर्द्धनलाई समेत प्राथमिकता दिइएको छ। पहिलो हिमभासमा सहभागी ४० भन्दा बढी विदेशी विशेषज्ञ सम्मेलनपछि माउन्टेन फ्लाइट तथा अन्नपूर्ण आधार शिविर (एबीसी) ट्रेकमा गएको पाण्डेले जानकारी दिनुभयो। यसपटक पनि सम्मेलनपछि केही दिन नेपालमा बसेर विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने इच्छा विदेशी चिकित्सकहरूले व्यक्त गरेको उहाँले बताउनुभयो।

पाण्डेका अनुसार पहिलो हिमभासपछि ३०० भन्दा बढी विदेशी बिरामीले उपचारका लागि आफूलाई सम्पर्क गरेका छन्। भारत, भुटान र बंगलादेशसँगै मध्यपूर्व, मलेसिया, इन्डोनेसिया, टर्की तथा केही युरोपेली मुलुकबाट समेत बिरामी नेपालमा उपचारका लागि आउन थालेको उहाँको दाबी छ।

नेपालमा तुलनात्मक रूपमा सस्तो, सहज र गुणस्तरीय उपचार उपलब्ध हुने सन्देश अन्तर्राष्ट्रिय स्तरमा पुग्नु हिमभासको महत्वपूर्ण उपलब्धि भएको पाण्डेको भनाइ छ।

हिमभास २०२७ मार्फत विश्वभरका भास्कुलर विशेषज्ञबीच चिकित्सा ज्ञान तथा अनुभव आदानप्रदानलाई थप विस्तार गर्नुका साथै नेपालको स्वास्थ्य सेवा र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने आयोजकको लक्ष्य छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ