नेभिगेशन

बाढीमा सर्वस्व गुमाएकी विष्णुकुमारीको केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

नेपाल हेल्थ न्युज, काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट सर्वस्व गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डङ्गोलको काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफलतापूर्वक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको छ। प्रत्यारोपणपछि पूर्ण रूपमा स्वस्थ भएपछि डङ्गोललाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

विष्णुकुमारीलाई उनका पति राजकुमार डङ्गोलले मिर्गौला दान गरेका हुन्। सफल प्रत्यारोपणपछि राजकुमारसमेत पत्नीसँगै अस्पतालबाट डिस्चार्ज भएका छन्।

बाढीले विष्णुकुमारीको घरबारसँगै लामो समयदेखि उपचारका लागि बचत गर्दै आएको रकमसमेत बगाएपछि उनी उपचारको अभावमा गम्भीर अवस्थामा पुगेकी थिइन्। उनको अवस्थाबारे सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि नेपाली कांग्रेसका नेता तथा केएमसीका सञ्चालक डा. सुनीलकुमार शर्माले उनको सम्पूर्ण उपचार निःशुल्क गरिदिने घोषणा गरेका थिए।

डा. शर्माको निर्देशनपछि बिरामी र मिर्गौला दाताका लागि खानपिनलगायत आवश्यक व्यवस्थासमेत मिलाइएको थियो। त्यसपछि केएमसीका विज्ञ चिकित्सकको टोलीले आवश्यक प्रक्रिया पूरा गरी मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो।

प्रत्यारोपणपछि स्वस्थ भएर घर फर्किने क्रममा डङ्गोल दम्पतीले उपचारमा संलग्न ट्रान्सप्लान्ट सर्जन डा. सुरेश महर्जन, डा. विजयमानसिंह कटुवाल, डा. अनिल पोख्रेलसहित सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीप्रति आभार व्यक्त गरे।

केएमसीका अनुसार अस्पतालमा हालसम्म गरिएका सबै मिर्गौला प्रत्यारोपण सफल भएका छन्। विष्णुकुमारी डङ्गोल केएमसीमा सफल मिर्गौला प्रत्यारोपण गराउने ८६औँ बिरामी हुन्।

विपद्का बेला पीडितको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै डा. शर्माले यसअघि नै बाढीपीडितका लागि केएमसीका अस्पतालका ढोका निःशुल्क खुला रहने घोषणा गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट