नेभिगेशन

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा सारियो

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले भारी वर्षा, हिमपात, हावाहुरी तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै स्थगित गरेको उन्नाइसौं नाम दर्ता प्रमाणपत्र परीक्षाको नयाँ मिति सार्वजनिक गरेको छ।

परिषद्का अनुसार यसअघि २०८३ साल असोज ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने भनिएको परीक्षा अब असोज १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित विज्ञहरूको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै परीक्षा स्थगित गरिएको परिषद्ले जनाएको छ।

नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ७ गते जारी गरेको सूचनाअनुसार सम्बन्धित निकायलाई उक्त अवधिमा तोकिएका परीक्षाहरू स्थगित गर्न सार्वजनिक सूचना जारी गरिएको थियो। साथै, स्वास्थ्यकर्मीलाई ‘हाई अलर्ट’मा रहन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गरेको आह्वानलाई समेत ध्यानमा राख्दै परीक्षा सारिएको परिषद्को भनाइ छ।

परिषद्ले नयाँ मितिअनुसारको परीक्षा तालिका पुनः प्रकाशित गर्ने जनाएको छ। परीक्षा तालिका तथा अन्य आवश्यक जानकारी परिषद्को आधिकारिक वेबसाइट र आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ। परीक्षाको मिति परिवर्तन हुँदा परीक्षार्थीहरूमा पर्न गएको असुविधाप्रति परिषद्ले क्षमायाचना गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ