नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको फार्मेसी क्षेत्रलाई गुणस्तरीय, आत्मनिर्भर, अनुसन्धानमुखी तथा बिरामीकेन्द्रित बनाउन नीतिगत सुधार र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको वरिष्ठ फार्मासिस्ट विवेक सिंह महतले बताउनुभएको छ ।
विश्व फार्मासिस्ट दिवस २०२६ को अवसरमा फार्मेसी एसोसिएसन अफ नेपाल (फान) ले आगामी सेप्टेम्बर २५ मा आयोजना गर्न लागेको ‘फार्मा पोलिसी डायलग’ मार्फत नेपालको फार्मेसी क्षेत्रका विद्यमान नीति, कानुन, नियामकीय व्यवस्था र कार्यान्वयन अवस्थाको समीक्षा गर्दै सुधारका व्यावहारिक सिफारिस तयार गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रमका संयोजकसमेत रहेका वरिष्ठ फार्मासिस्ट महतका अनुसार नीति संवादलाई विशेषज्ञ प्रस्तुतीकरण र छलफलमा सीमित नराखी स्पष्ट कार्ययोजनासहित अघि बढाउन आवश्यक छ । नेपालको फार्मेसी क्षेत्रका समस्याको पहिचानसँगै कुन नीति परिवर्तन गर्ने, कसले कार्यान्वयन गर्ने, कहिलेसम्म गर्ने र त्यसको परिणाम कसरी मापन गर्ने भन्ने विषयमा ठोस छलफल हुनुपर्छ ।
औषधि उद्योगदेखि क्लिनिकल फार्मेसीसम्म नीतिगत बहस
महतको नेतृत्वमा प्रस्तावित फार्मा नीति संवादमा नेपालको फार्मेसी क्षेत्रका चार प्रमुख क्षेत्रलाई केन्द्रमा राखिएको छ । औद्योगिक फार्मेसी, फार्मेसी शिक्षा, अस्पताल तथा क्लिनिकल फार्मेसी र सामुदायिक फार्मेसी, व्यापार तथा वितरणसम्बन्धी विषयमा विशेषज्ञ प्रस्तुतीकरण र छलफल गरिनेछ ।
औद्योगिक फार्मेसीअन्तर्गत नेपालको औषधि उत्पादन क्षमता, उद्योगको वृद्धि, स्वदेशी उत्पादनको बजार हिस्सा, गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जिएमपी) कार्यान्वयन, कच्चा पदार्थमा आयात निर्भरता, अनुसन्धान तथा विकास र निर्यात प्रवद्र्धनका विषयमा समीक्षा गरिनेछ ।
नेपाललाई आयातमा निर्भर औषधि बजारबाट गुणस्तरीय, प्रतिस्पर्धी तथा नवप्रवर्तनमुखी स्वदेशी औषधि उद्योगतर्फ अघि बढाउन दीर्घकालीन औद्योगिक रणनीति आवश्यक छ । त्यसका लागि रणनीतिक तथा अत्यावश्यक औषधिको स्वदेशी उत्पादन, उत्पादन प्रविधिको स्तरोन्नति, उद्योग–शिक्षण संस्था–सरकारबीच अनुसन्धान सहकार्य र प्रमाणमा आधारित सरकारी खरिद प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने विषय संवादमा उठाइनेछ ।
फार्मेसी शिक्षालाई दक्षतामा आधारित बनाउनुपर्नेमा जोड
फार्मेसी शिक्षातर्फ वर्तमान शैक्षिक कार्यक्रम, शिक्षण संस्थाको वितरण, विद्यार्थी उत्पादन, रोजगारीको अवस्था तथा पाठ्यक्रमको सान्दर्भिकताबारे छलफल हुनेछ ।
फार्मेसी शिक्षाले शैक्षिक योग्यता भएका स्नातक उत्पादन गर्ने नभई नेपालको स्वास्थ्य सेवा र औषधि उद्योगको वर्तमान तथा भविष्यको आवश्यकता पूरा गर्न सक्ने दक्ष जनशक्ति विकास गर्नुपर्ने अवधारणा संवादमा प्रस्तुत गरिनेछ ।
फार्मेसी शिक्षामा सैद्धान्तिक ज्ञान र व्यावहारिक सीपबीचको अन्तर, अस्पताल तथा उद्योगमा प्रशिक्षणका सीमित अवसर, प्रयोगशाला पूर्वाधार, शिक्षक विकास र अनुसन्धानका चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय फार्मेसी दक्षता रूपरेखा विकास, पाठ्यक्रम परिमार्जन, व्यवस्थित इन्टर्नसिप र निरन्तर व्यावसायिक विकास (सिपिडी) प्रणाली सुदृढ गर्नुपर्ने प्रस्ताव राखिएको छ ।
त्यसैगरी रेगुलारीटिज साइन्स, फर्माकोइकोनोमिक्स, हेल्थ टेक्नोलोजी एसेस्मेन्ट, डिजिटल हेल्थ, डाटा एनालाइटिक्स, बायोटेक्नोलोजी तथा मेडिकेसन सेफ्टी जस्ता उदीयमान विषयलाई फार्मेसी शिक्षामा समावेश गर्ने विषयमा पनि छलफल गरिनेछ ।
औषधि वितरणबाट बिरामीकेन्द्रित फार्मास्युटिकल केयरतर्फ
अस्पताल तथा क्लिनिकल फार्मेसी सत्रमा फार्मासिस्टलाई औषधि वितरण र आपूर्तिमा मात्र सीमित नराखी स्वास्थ्य सेवा टोलीको अभिन्न सदस्यका रूपमा स्थापित गर्ने विषयमा जोड दिइनेछ ।
अस्पताल फार्मेसीको संरचना, फार्मासिस्ट जनशक्ति, औषधि खरिद तथा भण्डारण,फर्मुलारी मेनेज्मेन्ट, ड्रग्स एण्ड थेराप्युटिक कमिटी, औषधिसम्बन्धी सूचना सेवा र बिरामी परामर्श सेवाको अवस्थाबारे समीक्षा गरिनेछ ।
त्यस्तै मेडिकेसन रिकन्सीलिएसन, मेडिकेसन रिभ्यु, प्रिस्किप्सन रिभ्यु, ड्रग इन्टर्याक्सन मोनिटरिङ,एडभर्स ड्रग रियाक्सन मोनिटरिङ, थेराप्युटिक ड्रग मानिटरिङ, एन्टिमाइक्रोबियल स्टेवार्डसिप र दीर्घरोगीका लागि फर्मास्युटिकल केयर जस्ता सेवाको कार्यान्वयन अवस्थालाई छलफलको विषय बनाइनेछ ।
औषधिको सुरक्षित, प्रभावकारी तथा तर्कसंगत प्रयोग सुनिश्चित गर्न फार्मासिस्टको भूमिकालाई स्वास्थ्य सेवा प्रणालीमा संस्थागत रूपमा सुदृढ गर्न आवश्यक छ । यसका लागि न्यूनतम अस्पताल फार्मेसी सेवा मापदण्ड, अस्पतालको आकारअनुसार फार्मासिस्ट जनशक्ति मापदण्ड र संरचित क्लिनिकल फार्मेसी सेवाको विकास आवश्यक हुने विषयलाई प्राथमिकता दिइनेछ ।
सुरक्षित र सहज औषधि पहुँचका लागि आपूर्ति शृङ्खला सुधार
सामुदायिक फार्मेसी, व्यापार तथा औषधि वितरणसम्बन्धी सत्रमा औषधिको उपलब्धता, पहुँच, गुणस्तर र आपूर्ति शृङ्खलाका चुनौतीमाथि छलफल गरिनेछ ।

औषधि अभाव, माग पूर्वानुमानको कमी, म्याद गुज्रिने समस्या, भण्डारण तथा ढुवानी चुनौती कोल्ड चेन, औषधि रिकल, ट्रेसएबिलिटी र ग्रामीण क्षेत्रमा औषधिको पहुँचलाई प्रमुख विषयका रूपमा समेटिएको छ ।
महतका अनुसार कुनै पनि बिरामी भौगोलिक अवस्थाका कारण, गुणस्तरीय तथा सुलभ औषधिबाट वञ्चित हुनु नपसुरक्षित र्ने व्यवस्था निर्माण गर्न पारदर्शी, उत्तरदायी र लचिलो औषधि आपूर्ति शृङ्खला आवश्यक छ ।
यसका लागि राष्ट्रिय मेडिसिन सर्टेज मनिटीरङ सिस्टम, आपतकालीन औषधि आपूर्ति संयन्त्र, जिडिपी, जिएसडिपी अनुपालन, डिजिटल औषधि आपूर्ति शृङ्खला र ई—फार्मेसीका लागि स्पष्ट नियामकीय मापदण्ड विकास गर्नुपर्ने विषयमा छलफल गरिनेछ।
अन्तर्राष्ट्रिय अभ्यासबाट नेपालले सिक्नुपर्ने विषय
कार्यक्रममा अन्तर्राष्ट्रिय परिदृश्यअन्तर्गत फार्मासिस्टको इन्डिपेन्डेन्ट प्रेसक्राइबिङक्ष्सम्बन्धी विषयमा पनि प्रस्तुतीकरण हुने तय गरिएको छ । यसले अन्य देशमा फार्मासिस्टको व्यावसायिक भूमिका, नियामकीय व्यवस्था र बिरामी सेवामा उनीहरूको योगदानबारे छलफल गर्ने अवसर प्रदान गर्नेछ ।
यस्ता अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालको स्वास्थ्य प्रणाली, कानुनी व्यवस्था र व्यावसायिक आवश्यकतासँग तुलना गर्दै सम्भावित सुधारका विषय पहिचान गरिनेछ ।
नीति संवादबाट फार्मेसी सुधार कार्यसूची तयार गर्ने लक्ष्य
फार्मा नीति संवादको महत्वपूर्ण उद्देश्य छलफलबाट ठोस नीतिगत सुधार कार्यसूची तयार गर्नु रहेको छ । कार्यक्रमपछि ‘फार्मेसी पोलिसी रिफर्म एजेन्डा फर नेपाल’ तयार गर्ने प्रस्ताव राखिएको छ ।
यस कार्यसूचीमा प्रत्येक क्षेत्रको वर्तमान अवस्था, प्रमुख नीतिगत खाडल, प्रस्तावित सुधार, जिम्मेवार निकाय, कार्यान्वयन समयसीमा र प्राथमिकता समेटिनेछ ।
प्रस्तावित प्रस्तुतीकरण ढाँचाअनुसार विशेषज्ञहरूले वर्तमान अवस्था, विद्यमान नीति, कार्यान्वयनको अवस्था, उपलब्धि, चुनौती, मूल कारण, अन्तर्राष्ट्रिय तुलना, सुधार प्रस्ताव, कार्यान्वयन संयन्त्र, आवश्यक स्रोत तथा मापनयोग्य परिणाम प्रस्तुत गर्नेछन् ।
यसबाट नीति संवादलाई समस्या पहिचान गर्ने मञ्चका रूपमा नभई सुधारका लागि जिम्मेवारी र समयसीमासहितको कार्ययोजना निर्माण गर्ने माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
सन् २०३० र २०३५ सम्मका लक्ष्यमा केन्द्रित बहस
नेपालको फार्मेसी क्षेत्रलाई दीर्घकालीन रूपमा सुदृढ गर्न सन् २०३० र २०३५ सम्म हाँसिल गर्नुपर्ने मापनयोग्य लक्ष्य निर्धारण गर्ने विषयलाई पनि संवादमा प्राथमिकता दिइनेछ ।
औषधि उत्पादन, फार्मेसी शिक्षा, क्लिनिकल फार्मेसी, औषधि वितरण, अनुसन्धान, जनशक्ति विकास र नियामकीय सुधारका क्षेत्रमा स्पष्ट लक्ष्य निर्धारण गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
महतका अनुसार नीति सुधारको प्रभाव मूल्याङ्कन गर्न जिम्मेवार निकाय, आवश्यक स्रोत, कार्यान्वयन समयसीमा र मापनयोग्य उपलब्धि स्पष्ट हुनुपर्छ। यसले नीति निर्माण र कार्यान्वयनबीचको दूरी कम गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
विभिन्न सरोकारवालालाई एउटै मञ्चमा ल्याउने प्रयास
फार्मा नीति संवादमा नीति निर्माता, नियामक निकाय, सांसद, सरकारी संस्था, औषधि उद्योग, शैक्षिक संस्था, अस्पताल, सामुदायिक फार्मेसी, वितरक, अनुसन्धानकर्ता तथा पेशागत संघ–संस्थाका प्रतिनिधिलाई सहभागी गराउने उद्देश्य राखिएको छ ।
फार्मेसी क्षेत्रका समस्या र सुधारका विषय बहुआयामिक भएकाले सरकार, नियामक निकाय, उद्योग, शैक्षिक क्षेत्र र स्वास्थ्य सेवा प्रदायकबीच सहकार्य आवश्यक रहेको कार्यक्रमको अवधारणाले जोड दिएको छ।
कार्यक्रममा फार्मेसी शिक्षातर्फ प्राध्यापक डा. धर्मप्रसाद खनाल र फार्मासिस्ट फर्शुराम अधिकारी, सामुदायिक फार्मेसी तथा व्यापारतर्फ फार्मासिस्ट बद्री केसी र फार्मासिस्ट हरि ओम थापा, अस्पताल तथा क्लिनिकल फार्मेसीतर्फ डा. सुनील श्रेष्ठ, फार्मासिस्ट गीता श्रेष्ठ र मनबहादुर महरा तथा औद्योगिक फार्मेसीतर्फ फार्मासिस्ट अच्युत विक्रम थापा र फार्मासिस्ट सरोज पौडेलको प्रस्तुतीकरण रहनेछ । अन्तर्राष्ट्रिय परिदृश्यमा फार्मासिस्टको इन्डिपेन्डेन्ट प्रेस्क्राइबिङ सम्बन्धी प्रस्तुतीकरण प्राध्यापक डा. विभु पौड्यालले गर्ने कार्यक्रम विवरणमा उल्लेख छ ।
सुधारका लागि स्पष्ट कार्यदिशा आवश्यक
फार्मेसी एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको फार्मा नीति संवादको मूल उद्देश्य नेपालको फार्मेसी क्षेत्रलाई गुणस्तर सुनिश्चित, आत्मनिर्भर, बिरामीकेन्द्रित, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन आवश्यक नीतिगत सुधारको कार्यदिशा पहिचान गर्नु हो ।
नीतिदेखि कार्यान्वयनसम्मको यात्रालाई प्रभावकारी बनाउन स्पष्ट नीति, जिम्मेवार निकाय, निश्चित समयसीमा र मापनयोग्य परिणाम आवश्यक हुने अवधारणासहित कार्यक्रम अघि बढाइएको छ ।
यस संवादले नेपालको फार्मेसी क्षेत्रको वर्तमान अवस्था समीक्षा गर्दै आगामी सुधारका लागि साझा कार्यसूची निर्माण गर्ने लक्ष्य राखेको छ ।
विश्व फार्मासिस्ट दिवस २०२६ को नारा ‘इम्पावरिङ फर्मासिस्ट फर हेल्दियर फ्युचर’ रहेको छ ।
औषधि बजारमा अनुशासनको अभियान: आधिकारिक स्रोतबाट मात्र औषधि खरिद गर्न आग्रह
मंगलबार, साउन १९, २०८३
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३

