नेभिगेशन

नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई कलेज छाड्न निर्देशन

नेपाल हेल्थ न्युज, वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकलाई तत्काल कलेज छाड्न निर्देशन दिएको छ।

कलेजले शैक्षिक सत्र २०८२ का प्रथम वर्षका पीजी आवासीय चिकित्सकको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटीसहितका सबै शैक्षिक तथा प्रशिक्षण गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित गरेको जनाएको छ।

कलेजका प्रधानाचार्य र होटल सुपरिटेन्डेन्टले बिहीबार जारी गरेको सूचनामा हालको शैक्षिक तथा संस्थागत परिस्थितिलाई दृष्टिगत गर्दै प्रथम वर्षका पीजी आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता बोलाइदिन चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) र त्रिभुवन विश्वविद्यालयसमक्ष औपचारिक अनुरोध गरिएको उल्लेख छ।

कलेजले अर्को सूचना जारी नभएसम्म प्रथम वर्षका सबै पीजी आवासीय चिकित्सकको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटी र अन्य प्रशिक्षण गतिविधि सञ्चालन नगर्ने जनाएको छ।

यस्तै, कलेजले उपलब्ध गराएको छात्रावासको कोठा, क्वार्टर वा अन्य आवासीय सुविधा सूचना जारी भएको समयदेखि १२ घण्टाभित्र खाली गर्न चिकित्सकहरूलाई निर्देशन दिइएको छ।

आवासीय चिकित्सकले आफू जिम्मामा रहेको कलेजको सम्पत्ति सम्बन्धित छात्रावास प्रशासन वा प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ। साथै, तोकिएको अवधिभित्र आवश्यक हस्तान्तरण प्रक्रिया पूरा गरी आवासीय परिसरबाट आफ्ना व्यक्तिगत सामानसमेत हटाउनुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ