नेभिगेशन
विश्व मुटु दिवस २०२६ः ‘डन्ट मिस अ बिट’—मुटुको एउटा पनि धड्कनलाई बेवास्ता नगरौँ 

 हिँड्दा छाती दुख्छ ? पसिना आउँछ ? मुटुले दिइरहेको हुनसक्छ खतराको संकेत

‘छातीमा अचानक दबाब वा भारीपन, अत्यधिक असहजता, पसिना, वाकवाकी, सास फेर्न गाह्रो वा बेहोस हुनेजस्तो भए तत्काल चिकित्सा सहायता लिनुपर्छ ।’— डा. कुन्जाङ शेर्पा

नेपाल हेल्थ न्युज, काठमाडौं । हिँड्दा छाती दुख्छ । केहीबेर आराम गरेपछि दुखाइ कम हुन्छ । कहिलेकाहीँ दुखाइ देब्रेतिर, घाँटी, कुम वा हाततिर सर्छ । सँगै पसिना आउँछ, असहज महसुस हुन्छ, वाकवाकी लाग्छ वा सास फेर्न गाह्रो हुन्छ । यस्ता लक्षणलाई धेरैले ‘ग्यास्ट्रिक होला’, ‘थकाइ मात्र हो’ वा ‘केही बेरमा आफैँ ठीक हुन्छ’ भनेर बेवास्ता गर्ने गर्छन् । तर यीमध्ये केही लक्षण मुटुको रक्तनलीमा समस्या भएको संकेत हुन सक्छन् । विशेषगरी हिँड्दा, भर्याङ चढ्दा वा शारीरिक श्रम गर्दा छाती दुख्ने र आराम गरेपछि कम हुने अवस्था कोरोनरी धमनीमा रगतको प्रवाह कम भएको संकेत हुनसक्छ । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा इस्केमिक हार्ट डिजिज वा कोरोनरी आर्टरी डिजिज भनिन्छ । हरेक वर्ष २९ सेप्टेम्बरमा विश्व मुटु दिवस मनाइन्छ ।

सन् २०२६ को सन्देश ‘डन्ट मिस अ बिट’ अर्थात् ‘मुटुको एउटा पनि धड्कनलाई नछुटाऔँ’ भन्ने भावमा केन्द्रित छ । यसको मूल सन्देश हो—मुटुरोगका संकेत पहिचान गर्ने, मुटुलाई सुरक्षित राख्ने र स्वस्थ मुटुका लागि आवश्यक स्वास्थ्य प्रणाली तथा नीतिका पक्षमा सामूहिक पहल गर्ने ।

मुटुरोग किन यति महत्वपूर्ण छ ?
मुटु शरीरको प्रत्येक अंगमा रगत पुर्याउने महत्वपूर्ण अंग हो । मुटुलाई नै रगत पुर्याउने कोरोनरी धमनीमा बोसो तथा अन्य पदार्थ जमेर रक्तप्रवाह साँघुरो वा अवरुद्ध हुँदा मुटुको मांसपेशीमा पर्याप्त अक्सिजन पुग्न सक्दैन । यही अवस्थाले छाती दुख्ने समस्या निम्त्याउन सक्छ । रक्तनली पूर्ण रूपमा बन्द हुँदा हदयघात हुनसक्छ ।

बीर अस्पतालका सिनियर कन्सल्यान्ट कार्डियोलोजिष्ट डा. कुञ्जाङ शेर्पाका अनुसार इस्केमिक हार्ट डिजिज अर्थात् कोरोनरी आर्टरी डिजिज संसारभर र नेपालमा पनि प्रमुख मुटुरोगमध्ये पर्छ ।

मुटुलाई सप्लाई गर्ने रगतको नसा बन्द हुँदा मुटुको मांसपेशीमा रक्तसञ्चार कम हुन्छ । त्यसले छाती दुख्ने र पूर्ण रूपमा बन्द भयो भने हृदयघात हुनसक्छ ।

मुटुरोग भनेको कोरोनरी धमनीको रोग मात्रै होइन
मुटुरोग भन्नाले एउटै रोगलाई मात्र बुझिँदैन। कोरोनरी आर्टरी डिजिजसँगै मुटुको पम्पिङ क्षमतामा कमी आउने हार्ट फेलियर, मुटुको धड्कनमा गडबडी हुने एरिथमिया, मुटुको भल्भमा समस्या हुने भल्भ्युलर हार्ट डिजिज तथा जन्मजात मुटुको समस्या अर्थात् कन्जेनिटल हार्ट डिजिज पनि महत्वपूर्ण मुटुरोग हुन् ।

मुटुरोगका प्रमुख प्रकार
कोरोनरी आर्टरी डिजिजमा मुटुलाई रगत पुर्याउने धमनी साँघुरो वा बन्द हुन्छ ।  इस्केमिक हार्ट डिजिजमा मुटुको मांसपेशीमा पर्याप्त रगत÷अक्सिजन नपुग्ने अवस्था हो । हृदयघात कोरोनरी धमनीमा अचानक गम्भीर अवरोध भएर मुटुको मांसपेशीमा क्षति पुग्ने अवस्था हो ।  हार्ट फेलियर मुटुको पम्पिङ क्षमता कमजोर भएर शरीरको आवश्यकता अनुसार रगत पम्प गर्न नसक्ने अवस्था हुन्छ । एरिथमिया मुटुको धड्कन धेरै छिटो, धेरै ढिलो वा अनियमित हुने अवस्था हो । भल्भ्युलर हार्ट डिजिज मुटुका भल्भमा समस्या हुने रोग हो । रियुम्याटिक हार्ट डिजिज बाथ ज्वरोपछि विशेषगरी मुटुका भल्भमा क्षति पुग्ने अवस्था हो ।  कन्जेनिटल हार्ट डिजिज    जन्मजात रूपमा मुटुको संरचना वा रक्तप्रवाहमा समस्या हुने अवस्था हो ।


हिँड्दा छाती दुख्छ भने सावधान
कोरोनरी आर्टरी डिजिजको एउटा सामान्य संकेत शारीरिक श्रम गर्दा छाती दुख्नु हो । 

  • हिँड्दा, दौडिँदा, भर्याङ चढ्दा वा अन्य शारीरिक गतिविधि गर्दा छातीको बीच भागमा दबाब, भारीपन वा दुखाइ महसुस हुने र आराम गरेपछि कम हुने अवस्था एन्जाइनाको संकेत हुन सक्छ । 
  • दुखाइ देब्रे हात वा कुमतिर मात्र होइन, घाँटी, मुखको तलपटीको हड्डी वा अन्य भागतिर पनि सर्न सक्छ ।

यससँगै निम्न लक्षण देखिन सक्छन्ः

  • छातीमा दबाब वा भारीपन
  • पसिना आउनु
  • सास फेर्न गाह्रो हुनु
  • वाकवाकी वा बान्ता
  • चक्कर लाग्नु
  • असहज वा कमजोर महसुस हुनु
  • बेहोस हुनेजस्तो हुनु

हृदयघातमा लक्षण कस्तो हुनसक्छ ?
डा. शेर्पाका अनुसार कोरोनरी धमनी पूर्ण रूपमा बन्द भएर हृदयघात हुँदा छातीको दुखाइ गम्भीर हुनसक्छ र लामो समयसम्म रहन सक्छ । छातीमा अचानक दबाब वा भारीपन, अत्यधिक असहजता, पसिना, वाकवाकी, सास फेर्न गाह्रो वा बेहोस हुनेजस्तो भए तत्काल चिकित्सा सहायता लिनुपर्छ । महिला तथा मधुमेह भएका व्यक्तिमा भने लक्षण सधैँ परम्परागत रूपमा देखिनैपर्छ भन्ने हुँदैन। त्यसैले असामान्य थकान, सास फेर्न गाह्रो, वाकवाकी, चक्कर वा छातीमा असहजता जस्ता संकेतलाई पनि बेवास्ता गर्नु हुँदैन ।

नेपालमा पनि युवामै हृदयघातको जोखिम
मुटुरोगलाई धेरैले वृद्धावस्थासँग मात्र जोडेर हेर्ने गर्छन् । तर नेपालमा पनि कम उमेरका मानिसमा हृदयघात देखिन थालेको चिकित्सकहरूको अनुभव छ । डा. शेर्पासहितको टोलीले सन् २०१८ मा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एसटी—एलिभेसन मायोकार्डियल इन्फाक्र्सन (एटिइएमआई) अर्थात् गम्भीर प्रकारको एक्युट हृदयघात भएका बिरामीमाथि करिब एक वर्ष अध्ययन गरेको थियो । अध्ययनमा करिब १,४६० जना बिरामी समेटिएका थिए ।

अध्ययनमा युवाहरूमा समेत हृदयघात देखिएको र प्रमुख जोखिम कारकका रूपमा धूम्रपान, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मधुमेह तथा अस्वस्थ जीवनशैली देखिएको डा. शेर्पा बताउनुहुन्छ ।

हृदयघातका प्रमुख जोखिम कारक

धूम्रपान

  • अध्ययनमा आधाभन्दा बढी बिरामीमा धूम्रपानसँग सम्बन्धित जोखिम देखिएको डा. शेर्पाको भनाइ छ ।

उच्च रक्तचाप

  • रक्तचाप लामो समयसम्म नियन्त्रणमा नरहँदा रक्तनली तथा मुटुमा अतिरिक्त दबाब पर्न सक्छ ।

उच्च कोलेस्ट्रोल

  • धेरै मानिसलाई आफूमा कोलेस्ट्रोल बढेको जानकारी नै नहुन सक्छ। अध्ययनमा अस्पताल भर्ना भएपछि जाँच गर्दा धेरै बिरामीमा कोलेस्ट्रोल बढेको पाइएको डा. शेर्पा बताउनुहुन्छ ।

मधुमेह

  • मधुमेहले मुटुरोगको जोखिम बढाउन सक्छ ।

शारीरिक निष्क्रियता

  • व्यायामको कमी, लामो समय बसिरहने जीवनशैली तथा शारीरिक गतिविधिको कमी पनि जोखिमसँग जोडिन्छ ।

अस्वस्थ खानपान

  • अत्यधिक नुन, चिनी, अस्वस्थ बोसो तथा प्रशोधित खाद्य पदार्थको बढी सेवनले मुटुको स्वास्थ्यमा असर पार्न सक्छ।

मानसिक तनाव

  • दीर्घकालीन तनाव तथा अस्वस्थ जीवनशैलीले मुटुको जोखिम बढाउने विभिन्न कारकसँग सम्बन्ध राख्न सक्छ ।

मुटु जोगाउने ‘८’ सूत्र
मुटुको स्वास्थ्य सुधारका लागि अमेरिकन हार्ट एसोसिएसनले अघि सारेको लाइफ इसेन्सियल  ८ अवधारणाले आठवटा प्रमुख पक्षमा ध्यान दिन सुझाउँछ ।

 

मुटुका लागि दैनिक जीवनमा ध्यान दिनुपर्ने पक्ष
स्वस्थ खानपान                             सागसब्जी, फलफूल, होल ग्रेन्स, स्वस्थ प्रोटिन तथा सन्तुलित आहारमा जोड
शारीरिक गतिविधि                        नियमित हिँड्ने तथा शारीरिक गतिविधि गर्ने
धूम्रपान त्याग                                सुर्ती तथा धूम्रपानबाट टाढा रहने
तौल व्यवस्थापन                            स्वस्थ शरीरको तौल कायम राख्ने
निद्रा                                           पर्याप्त र गुणस्तरीय निद्रा लिने
कोलेस्ट्रोल                                    कोलेस्ट्रोलको अवस्था थाहा पाउने र आवश्यक परे नियन्त्रण गर्ने
रक्तचाप                                      उच्च रक्तचाप भए चिकित्सकीय परामर्शमा नियन्त्रण गर्ने
रक्तचिनी                                     मधुमेह वा उच्च रक्तचिनी भए नियन्त्रणमा राख्ने
 

थालमा पनि मुटुको स्वास्थ्य खोजौँ
डा. शेर्पाका अनुसार मुटु जोगाउने पहिलो आधारमध्ये एक स्वस्थ खानपान हो ।  खानामा सागसब्जी र फलफूलको मात्रा बढाउने, होल ग्रेन्सलाई प्राथमिकता दिने तथा अत्यधिक नुन र चिनी कम गर्ने बानी उपयोगी हुन्छ  । त्यस्तै, स्याचुरेटेड फ्याट र ट्रान्स फ्याट बढी भएका खाद्य पदार्थको सेवन घटाउनुपर्छ । चिनी भएका पेय पदार्थ, अत्यधिक प्रशोधित खाद्य पदार्थ तथा बारम्बार धेरै तेलमा फ्राइ गरिएका खानेकुरा कम गर्नु पनि मुटुको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ ।

हप्तामा कम्तीमा १५० मिनेट शारीरिक गतिविधि
मुटुलाई स्वस्थ राख्न नियमित शारीरिक गतिविधि आवश्यक छ । डा. शेर्पाले मध्यम तीव्रताको शारीरिक गतिविधि हप्तामा पाँच दिन, दैनिक करिब ३० मिनेट गर्ने अभ्यासलाई महत्वपूर्ण मान्नुहुन्छ ।

सामान्यतया स्वस्थ वयस्कका लागि हप्तामा करिब १५०–३०० मिनेट मध्यम तीव्रताको शारीरिक गतिविधि वा त्यसको समकक्ष बढी तीव्र गतिविधि गर्न सिफारिस गरिन्छ ।

साथै मांसपेशी बलियो बनाउने गतिविधि पनि नियमित रूपमा समावेश गर्न सकिन्छ । तर मुटुरोग भएका वा लामो समयदेखि व्यायाम नगरेका व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार चिकित्सकसँग परामर्श गरेर व्यायामको मात्रा र तीव्रता निर्धारण गर्नु उपयुक्त हुन्छ ।


धूम्रपानः मुटुको ठूलो शत्रु
डा. शेर्पाले आफूले उल्लेख गरेको हृदयघातको अध्ययनमा धूम्रपान महत्वपूर्ण जोखिम कारकका रूपमा देखिएको बताउनुभएको छ । त्यसैले मुटु जोगाउने हो भने धूम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग्नु महत्वपूर्ण कदम हो । धूम्रपान नगर्ने व्यक्तिलाई समेत अरूले गरेको धूम्रपानको धुवाँले असर पार्न सक्छ। त्यसैले व्यक्तिगत रूपमा धूम्रपान त्याग्नुका साथै घर, कार्यालय र सार्वजनिक स्थानमा सेकेन्ड ह्यान्ड स्मोक कम गर्ने वातावरण बनाउन आवश्यक छ ।

निद्रा पनि मुटुको स्वास्थ्यकै हिस्सा
स्वस्थ खानपान र व्यायाम जत्तिकै पर्याप्त आराम पनि महत्वपूर्ण छ । वयस्कलाई सामान्यतया ७–९ घण्टा गुणस्तरीय निद्रा आवश्यक पर्ने डा. शेर्पा बताउनुहुन्छ । नियमित निद्रा, शारीरिक गतिविधि, स्वस्थ खानपान र तनाव व्यवस्थापनलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनु मुटुको दीर्घकालीन स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ।

‘पाँच व्यवहार’ र ‘तीन स्वास्थ्य सूचक’

डा. शेर्पाको सन्देशलाई सरल रूपमा बुझ्ने हो भने मुटु जोगाउन पाँचवटा दैनिक स्वास्थ्य व्यवहार र तीनवटा प्रमुख स्वास्थ्य सूचकमा ध्यान दिन सकिन्छ ।


५ स्वास्थ्य व्यवहार
स्वस्थ खानपान + नियमित व्यायाम + धूम्रपान त्याग + स्वस्थ तौल + पर्याप्त निद्रा

३ स्वास्थ्य सूचक
कोलेस्ट्रोल + रक्तचाप + रक्तचिनी
यी पक्षलाई नियन्त्रणमा राख्दा कोरोनरी आर्टरी डिजिज तथा हृदयघातको जोखिम घटाउन सहयोग पुग्ने चिकित्सकहरूको सन्देश छ ।

 

विश्व मुटु दिवसको सन्देशः लक्षण चिनौँ, मुटु जोगाऔँ, प्रणाली बलियो बनाऔँ
यस वर्षको ‘डन्ट मिस अ विट’ सन्देशलाई डा. शेर्पाले तीनवटा ‘एस’ अर्थात् सिम्टम्स, सोलुसन र सिस्टम मार्फत व्याख्या गर्नुभएको छ ।
सिम्टम्स— लक्षण चिनौँ

छाती दुख्ने, असहजता, सास फेर्न गाह्रो हुने, असामान्य थकान, धड्कन बढ्ने, चक्कर वा बेहोस हुनेजस्ता सम्भावित संकेतलाई समयमै पहिचान गरौँ ।
सोलुसन्स— समाधान खोजौँ
स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि, धूम्रपान त्याग, स्वस्थ तौल, पर्याप्त निद्रा तथा रक्तचाप, कोलेस्ट्रोल र रक्तचिनी नियन्त्रणमार्फत मुटुको सुरक्षा गरौँ ।

सिस्टम— प्रणाली बलियो बनाऔँ
मुटुरोगको रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा पुनस्र्थापनाका लागि स्वास्थ्य प्रणाली, नीति र सेवाहरूलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता छ । मुटुको एउटा धड्कन पनि महत्वपूर्ण छ । मुटुरोग अचानक देखिने समस्या मात्र होइन ।  वर्षौंसम्म बिस्तारै जम्मा भएका जोखिम कारकले पनि मुटुलाई कमजोर बनाउन सक्छन् । त्यसैले मुटु जोगाउने काम हृदयघात भएपछि सुरु गर्ने होइन—आजैदेखि सुरु गर्ने हो । छातीमा असामान्य दुखाइ वा दबाब महसुस भयो भने त्यसलाई सामान्य ठानेर बस्न हुँदैन । विशेषगरी शारीरिक गतिविधिमा बढ्ने छातीको दुखाइ, सास फेर्न गाह्रो, अत्यधिक पसिना, वाकवाकी, चक्कर वा बेहोस हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुग्नु आवश्यक हुन्छ ।

‘डन्ट मिस अ बिट’—मुटुको एउटा पनि धड्कनलाई बेवास्ता नगरौँ

(डा. शेर्पा वीर अस्पतालमा सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको एसोसिएट प्रोफेसर अफ कार्डियोलोजी, नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष, कार्डियाक सोसाइटी अफ नेपालको सहसचिव र न्याम्स पोष्टग्राजुएट मेडिकल जर्नलको एडिटर हुनुहुन्छ ।) 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्