मुटु मानव शरीरको जीवन सञ्चालन गर्ने प्रमुख अंग हो। मुटुले निरन्तर रगत पम्प गरेर शरीरका सबै अंग तथा कोषिकासम्म आवश्यक अक्सिजन र पोषक तत्व पु¥याउँछ। त्यसैले मुटु स्वस्थ राख्नु भनेको समग्र स्वास्थ्य र जीवन जोगाउनु हो।मुटुसम्बन्धी समस्यामा देखिने लक्षणलाई सामान्य ठानेर बेवास्ता गर्नु जोखिमपूर्ण हुन्छ। विशेषगरी छातीको बीच भागमा दुखाइ, दुखाइ हात वा बंगारातर्फ फैलिनु, अत्यधिक पसिना आउनु, सास फुल्नु तथा मुटुको धड्कन असामान्य रूपमा बढ्नु मुटुरोगका महत्वपूर्ण संकेत हुन् ।
छाती नदुखिँदै पनि हृदयाघात हुनसक्छ
सबै हृदयाघातमा छाती दुख्छ भन्ने हुँदैन। विशेषगरी मधुमेह भएका व्यक्ति तथा महिलामा छाती नदुखीकनै सास फुल्ने वा अन्य असामान्य लक्षण देखिन सक्छन्। यस्तो अवस्थालाई सामान्य कमजोरी वा अन्य कारण ठानेर ढिला गर्नु जोखिमपूर्ण हुन्छ ।त्यसैगरी, ग्याँस्ट्राइटिसको समस्या धेरै हुने समाजमा पेट वा छातीको असहजतालाई ‘ग्याँस्ट्रिक’ भनेर एन्टासिड खाएर घरमै बस्ने प्रवृत्ति पनि देखिन्छ।
केही हृदयाघातमा ग्याँस्ट्राइटिसजस्तो पेटको भागमा मात्र दुखाइ वा असहजता देखिनसक्छ। त्यसैले अत्यधिक दुखाइसँगै पसिना आउने, असहजता बढ्ने वा अन्य शंकास्पद लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
मुटुरोगका प्रमुख जोखिम
मुटुरोगको जोखिम बढाउने प्रमुख कारणमा धुम्रपान, उच्च रक्तचाप, मधुमेह, मोटोपना, उच्च कोलेस्ट्रोल र शारीरिक व्यायामको कमी पर्छन्। यीमध्ये धेरै जोखिमलाई जीवनशैली परिवर्तन र नियमित स्वास्थ्य परीक्षणबाट नियन्त्रण गर्न सकिन्छ।धुम्रपानलाई हल्का रूपमा लिन नहुने र यसलाई मुटुरोगको महत्वपूर्ण जोखिमका रूपमा लिनुपर्छ । त्यस्तै, मधुमेह र उच्च रक्तचाप लामो समयसम्म लक्षणविहीन हुन सक्ने भएकाले नियमित जाँच आवश्यक हुन्छ।मधुमेह भएका व्यक्तिमा कहिलेकाहीँ मुटुको समस्याको सामान्य चेतावनीका रूपमा देखिने छाती दुखाइसमेत स्पष्ट रूपमा महसुस नहुनसक्छ। त्यसैले चिकित्सकको सल्लाहअनुसार आवश्यक परीक्षण तथा नियमित स्वास्थ्य निगरानी महत्वपूर्ण हुन्छ।
औषधिभन्दा पहिले जीवनशैलीमा ध्यान
मुटुरोगबाट बच्न रोग लागेपछि मात्र होइन, स्वस्थ अवस्थादेखि नै जीवनशैलीमा ध्यान दिनुपर्छ । धुम्रपान त्याग्ने, नियमित शारीरिक गतिविधि गर्ने, रक्तचाप, रक्तचिनी र कोलेस्ट्रोल नियन्त्रणमा राख्ने, स्वस्थ खानपान अपनाउने तथा तौल व्यवस्थापन गर्ने बानीले मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।विशेषगरी नियमित शारीरिक व्यायामले मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल तथा मोटोपना नियन्त्रणमा सहयोग पु¥याउँछ । त्यसैले मुटु जोगाउने आधारभूत उपायमध्ये स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिन आवश्यक छ।
नियमित जाँच नै सुरक्षित बाटो
उच्च रक्तचाप र उच्च कोलेस्ट्रोलजस्ता समस्या धेरैपटक स्पष्ट लक्षणबिना पनि हुन सक्छन्। त्यसैले ‘केही भएको छैन’ भनेर मात्र ढुक्क हुनुभन्दा उमेर, पारिवारिक इतिहास र अन्य जोखिमका आधारमा चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य परीक्षण गर्नु महत्वपूर्ण हुन्छ।मुटुरोगको उपचारमा प्रविधि र सुविधा महत्वपूर्ण भए पनि समयमै पहिचान, जोखिम नियन्त्रण र उपचारमा ढिलाइ नगर्नु अझ महत्वपूर्ण पक्ष हो।स्वस्थ जीवनशैली र नियमित स्वास्थ्य परीक्षणबाट मुटुलाई दीर्घकालसम्म स्वस्थ राख्न सकिन्छ ।
