नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाललाई क्षेत्रीयस्तरको चिकित्सा सेवा केन्द्र (मेडिकल हब) का रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले मेडिकल सर्भिस टुरिजम प्रवर्द्धनको प्रक्रिया अघि बढाउने भएको छ। यसका लागि आवश्यक नीति, संरचना र कार्ययोजना तयार पार्न सरकारले कार्यदल गठन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित छलफलपछि चिकित्सा सेवा पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्यदल गठन गरी काम अगाडि बढाउने सहमति भएको हो।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा भएको छलफलमा विभिन्न मन्त्रालयका सचिव, निजी क्षेत्रका अस्पताल सञ्चालक तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा गुणस्तरीय उपचारको खोजीमा नेपाल आउने विदेशी नागरिकलाई सहज र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा विशेष जोड दिइएको थियो। यसका लागि स्वास्थ्य संस्थाको सेवा गुणस्तर सुनिश्चित गर्ने, बिरामीको सुरक्षासम्बन्धी मापदण्ड निर्धारण गर्ने तथा मेडिकल सर्भिस टुरिजमलाई व्यवस्थित गर्ने नियमनकारी संयन्त्र निर्माण गर्नुपर्ने विषय उठाइएको थियो।
त्यसैगरी, उपचारका लागि नेपाल आउने विदेशी बिरामी र उनीहरूका सहयोगीलाई लक्षित गरी मेडिकल भिसाको व्यवस्था गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको छ।
सरकारको यो पहल कार्यान्वयनमा आए चिकित्सा सेवा पर्यटनमार्फत विदेशी मुद्रा आर्जन बढ्नुका साथै नेपालको स्वास्थ्य क्षेत्रको क्षमता विस्तार हुने अपेक्षा गरिएको छ। यसले नेपाली नागरिकलाई जटिल तथा विशेषज्ञ उपचारका लागि विदेश जानुपर्ने अवस्थासमेत कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
नेपाललाई अन्तर्राष्ट्रियस्तरमा विश्वासिलो स्वास्थ्य उपचार गन्तव्यका रूपमा विकास गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भारतमा १३७ प्रकारका क्यान्सर औषधिको मूल्य घट्दै, व्यापारिक नाफा ३० प्रतिशतमा सीमित
आइतबार, कात्तिक १५, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
