टाउको दुख्नु धेरैका लागि सामान्यजस्तै लाग्छ । थकाइ, निद्रा, तनाव वा धेरै समय मोबाइल÷कम्प्युटर हेर्दा टाउको दुख्नसक्छ । धेरैजसो मानिस टाउको दुखाइलाई सामान्य समस्या ठान्छन् र आफैं औषधि खाएर बस्छन् । तर हरेक टाउको दुखाइ एउटै कारणले हुँदैन । कसैको टाउको दुखाइ माइग्रेनले त कसैको तनावजन्य टाउको दुखाइ हुनसक्छ । अझ कतिपय अवस्थामा टाउको दुख्ने मस्तिष्कमा भएको अर्को समस्याको संकेत पनि हुनसक्छ । त्यसैले टाउको दुखाइलाई ‘सामान्य समस्या’ भनेर बेवास्ता गर्नु उचित हुँदैन । टाउको दुखाइलाई मुख्य रूपमा प्राइमरी र सेकेन्डरी हेडेक गरी दुई भागमा बुझ्न सकिन्छ । प्राइमरी हेडेकमा माइग्रेन, टेन्सन–टाइप हेडेक र क्लस्टर हेडेक पर्छन् । सेकेन्डरी हेडेक भने मस्तिष्कको ट्युमर, मस्तिष्कमा रक्तस्राव, स्ट्रोक, हाइड्रोसेफालस, मेनिन्जाइटिस वा टाउकोमा चोटपटकका कारण हुने गर्छ ।
माइग्रेन कस्तो हुन्छ ?
माइग्रेनको आक्रमण सामान्यतया ४ देखि ७२ घण्टासम्म रहन सक्छ । टाउकोको एकातिर वा आँखाको पछाडितिर बढी दुख्ने, धड्किएजस्तो हुने, सामान्य शारीरिक गतिविधिले दुखाइ बढ्ने, वाकवाकी वा बान्ता हुने तथा उज्यालो र आवाज सहन गाह्रो हुने यसका प्रमुख विशेषता हुन् ।
माइग्रेन भएका करिब आधाजसो बिरामीमा टाउकाको एकातिर बढी दुख्ने विशेषगरी निधारदेखि आँखाको माथिल्लो भाग हुँदै कानमाथिको फ्रन्टो–टेम्पोरल क्षेत्रमा दुखाइ हुन्छ । कसैलाई दुवैतिर वा टाउकोको पछाडिको भागमा समेत दुख्नसक्छ । कसैलाई महिनामा एक–दुईपटक, कसैलाई महिनामा चार–पाँचपटक त कसैलाई अझ बढी पटक टाउको दुख्नसक्छ ।
माइग्रेन सामान्यतया ज्यानै लिने वा प्यारालाइसिस गराउने किसिमको रोग होइन । माइग्रेनको आक्रमणका बेला बिरामीलाई दैनिक काम गर्न, पढ्न, स्कुल वा अफिस जान, सामाजिक गतिविधिमा सहभागी हुनसमेत कठिन हुनसक्छ । त्यसैले यसलाई हल्का रूपमा लिनु उचित हुँदैन ।
घाम, गन्ध र हल्लाले किन बढाउँछ माइग्रेन ?
चर्को घाम वा धेरै उज्यालो, धेरै हल्ला तथा भिडभाड, केही विशेष गन्ध, निद्रा नपुग्नु, लामो समय भोको बस्नु, पानी कम पिउनु जस्ता कारणले कतिपय व्यक्तिमा माइग्रेन बढ्नसक्छ ।
डब्लुएचओले पनि निद्रामा हुने गडबडी, मदिरा र केही खानेकुरा माइग्रेनका सम्भावित ट्रिगर हुन सक्ने उल्लेख गरेको छ । त्यसैले आफूलाई कुन परिस्थितिमा टाउको दुख्छ भन्ने पहिचान गर्नु महत्वपूर्ण हुन्छ ।
माइग्रेनमा जीवनशैली पनि उपचारको हिस्सा
निद्रा नपुग्दा माइग्रेन बढ्न सक्छ । त्यसैले नियमित समयमा सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ । लामो समय खाना नखाई बस्दा टाउको दुख्ने व्यक्तिले नियमित रूपमा खाना खानुपर्छ । शरीरमा पानीको कमी हुन नदिन पर्याप्त तरल पदार्थ लिनुपर्छ । घाम वा तेज प्रकाशले समस्या बढाउने व्यक्तिले आवश्यक सावधानी अपनाउनुपर्छ । कुनै विशेष गन्ध, खाना, वातावरण वा अन्य कारणले बारम्बार माइग्रेन बढ्छ भने त्यसलाई पहिचान गरी सकेसम्म टाढा रहनुपर्छ ।
माइग्रेनको औषधि जीवनभर खानुपर्छ ?
कतिपयलाई आक्रमण हुँदा प्रयोग गर्ने औषधि पर्याप्त हुनसक्छ भने बारम्बार वा धेरै तीव्र माइग्रेन हुने व्यक्तिलाई प्रिभेन्टिभ उपचार आवश्यक पर्नसक्छ । केही महिना औषधि खाएपछि कति बिरामीलाई लामो समयसम्म टाउको दुख्दैन भने कतिपयलाई लामो समयसम्म उपचार आवश्यक पर्नसक्छ ।
औषधि खाँदा निद्रा लाग्यो भने ?
माइग्रेनको उपचारमा प्रयोग हुने केही औषधिले सुरुमा निद्रा लाग्ने, झुम्म हुने वा वाकवाकी जस्तो असर देखाउन सक्छन् । तर औषधि खाएपछि असहज वा गम्भीर समस्या देखिएमा आफैं औषधि बन्द गर्नुको सट्टा चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । बिरामीअनुसार औषधि परिवर्तन वा मात्रा मिलाउनुपर्ने हुनसक्छ ।
वंशानुगत पनि हुनसक्छ माइग्रेन
आमालाई माइग्रेन भएमा छोरीमा पनि देखिन सक्ने अवस्था हुन्छ । तर परिवारमा कसैलाई नभए पनि माइग्रेन हुनसक्छ । माइग्रेन बालबालिका तथा किशोरकिशोरीमा पनि हुनसक्छ । तर हरेक टाउको दुखाइ माइग्रेन हुँदैन । सेकेन्डरी हेडेक भनेको अन्य जटिल रोग वा अवस्थाका कारण उत्पन्न भएको टाउको दुखाइ हो ।
यसका सम्भावित कारणमा मस्तिष्कको ट्युमर, मस्तिष्कमा रक्तस्राव, रक्तनली फुटेर हुने सब–एराक्नोइड हेमोरेज, हेमोरेजिक स्ट्रोक, हाइड्रोसेफालस, मेनिन्जाइटिस, टाउकोमा चोटपटक रहेका छन् ।
प्राइमरी हेडेकमा परीक्षण गर्दा प्रायः कुनै संरचनात्मक कारण नदेखिन सक्छ भने सेकेन्डरी हेडेकमा अन्तर्निहित कारण खोज्नुपर्ने हुन्छ । आवश्यकताअनुसार चिकित्सकले सिटी वा एमआरआई लगायतका परीक्षण सिफारिस गर्न सक्छन् ।
कहिले टाउको दुखाइलाई गम्भीर रूपमा लिने ?
टाउको दुखाइ अचानक अत्यन्त तीव्र रूपमा सुरु भयो, पहिले कहिल्यै नभएको किसिमको भयो, टाउको दुखाइसँगै बेहोस हुने, शरीरको कुनै भाग कमजोर÷लाटो हुने, बोल्न वा बुझ्न गाह्रो हुने, दृष्टिमा नयाँ समस्या देखिने, उच्च ज्वरो वा घाँटी कडा हुने जस्ता लक्षण देखिएमा तत्काल चिकित्सकीय मूल्यांकन आवश्यक हुन्छ । यसैगरी टाउकोमा चोटपटकपछि टाउको दुखिरहने, लगातार बढ्दै जाने नयाँ टाउको दुखाइ हुने वा बारम्बार दोहोरिएर दैनिक जीवनमा असर पार्ने अवस्थामा पनि चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ ।
अर्को खतरा—टाउको दुख्यो कि तुरुन्त पेनकिलर
बारम्बार टाउको दुख्दा हरेकपटक आफैंले दुखाइ कम गर्ने औषधि सेवन गर्ने बानीले उल्टै समस्या बढाउनसक्छ । डब्लुएचओका अनुसार मेडिकेसन ओभरयुज हेडेक अर्थात् टाउको दुखाइको औषधि अत्यधिक प्रयोगसँग सम्बन्धित टाउको दुखाइ धेरैलाई हुने सेकेन्डरी हेडेक डिसअर्डर्समध्ये एक हो र केही जनसंख्यामा यसले ५ प्रतिशतसम्म मानिसलाई प्रभावित गर्न सक्छ । त्यसैले बारम्बार टाउको दुख्ने व्यक्तिले औषधि थप्दै जानुभन्दा पहिले टाउको दुख्नुको कारण पत्ता लगाउनु महत्वपूर्ण हुन्छ ।
(डा. महर्जन उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा न्युरोलोजी विभागको प्रमुख हुनुहुन्छ ।)
भास्कुलर उपचारमा बदलिँदो प्रविधि
बिहीबार, कात्तिक २६, २०८३
‘ढाड र गर्दनको नसा च्यापियो भन्दैमा अपरेसन नै गर्नुपर्दैन
मंगलबार, कात्तिक १७, २०८३
