नेभिगेशन

भास्कुलर उपचारमा बदलिँदो प्रविधि

नशासम्बन्धी धेरै समस्याको उपचार अब ठूलो चिरफार नगरीकनै इन्डोभ्यास्कुलर प्रविधिबाट सम्भव

नशा साँघुरिने, बन्द हुने, अस्वाभाविक रूपमा फुल्ने, कमजोर हुने वा अन्य कारणले क्षति पुग्ने अवस्थाको उपचार परम्परागत रूपमा शरीर चिरेर शल्यक्रिया गर्ने विधिबाट हुँदै आएको थियो । तर चिकित्सा विज्ञानमा प्रविधिको विकाससँगै नशासम्बन्धी धेरै समस्याको उपचार अब ठूलो चिरफार नगरीकनै इन्डोभ्यास्कुलर प्रविधिबाट सम्भव हुन थालेको छ । नशा बन्द भएको अवस्थामा खोल्न, साँघुरिएको अवस्थामा फराकिलो बनाउन र अस्वाभाविक रूपमा फुलेको नशालाई फुट्नबाट जोगाउन इन्डोभ्यास्कुलर प्रविधि प्रयोग गर्न सकिन्छ । विशेषगरी एब्डोमिनल एओर्टिक एन्युरिजम, थोरासिक एओर्टिक एन्युरिजम, क्यारोटिड आर्टरी स्टेनोसिस, पेरिफेरल आर्टरी डिजिज तथा भेरिकोज भेन लगायतका अवस्थाहरूमा यसको प्रयोग हुनसक्छ ।

एओर्टा शरीरको सबैभन्दा ठूलो धमनी हो । एओर्टिक एन्युरिजमका केही बिरामीमा परम्परागत रूपमा ठूलो शल्यक्रिया गर्नुपर्ने भएपनि उपयुक्त अवस्थामा इन्डोभास्कुलर प्रविधिबाट त्यसको उपचार गर्न सकिन्छ । यसैगरी घाँटीबाट मस्तिष्कतर्फ रगत पु¥याउने क्यारोटिड धमनी साँघुरिएको अवस्थामा पनि निश्चित बिरामीमा इन्डोभास्कुलर विधिबाट उपचार गर्न सकिन्छ । शरीरको हात, खुट्टा, आन्द्रालगायत विभिन्न भागमा रहेका रक्तनलीमा देखिने समस्याको प्रकृति हेरेर पनि यो प्रविधि प्रयोग गर्न सकिन्छ । 

इन्डोभ्यास्कुलर उपचारमा आवश्यकताअनुसार तिघ्रा, काछ वा अन्य स्थानको नशामा सानो प्वाल बनाएर त्यसबाट क्याथेटर तथा तारजस्ता उपकरण नशाभित्र प्रवेश गराइन्छ । त्यही उपकरणलाई नशाभित्र हुँदै रोग भएको स्थानसम्म पु¥याएर बन्द भएको नशा खोल्ने, साँघुरिएको नशालाई फराकिलो बनाउने, फुलेको नशालाई फुट्नबाट जोगाउनेलगायतका उपचार गर्न सकिन्छ ।

भास्कुलर रोगको जोखिम उमेर बढ्दै जाँदा पनि बढ्दै जान्छ । लामो समयसम्म उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल तथा धूम्रपानजस्ता जोखिमले रक्तनलीमा क्षति पु¥याउन सक्छन् ।  विशेषगरी ७०–७५ वर्षभन्दा माथिका बिरामीमा ठूलो शल्यक्रिया गर्दा शरीरमा पर्ने जोखिमलाई ध्यान दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा उपयुक्त बिरामीमा कम चिरफार हुने इन्डोभ्यास्कुलर उपचार महत्वपूर्ण विकल्प बन्न सक्छ । बुढेसकालका बिरामीलाई ठूलो चिरफार गरेर अपरेसन गर्दा कहिलेकाहीँ अप्ठ्यारो अवस्था आउन सक्छ । त्यस्ता बिरामीलाई नचिरीकन उपचार गर्न पाउँदा जोखिम कम गर्न सकिन्छ ।  

 ७०–८० प्रतिशतसम्म उपचार इन्डोभ्यास्कुलरबाट सम्भव

अहिलेको अवस्थामा भास्कुलरका करिब ७० देखि ८० प्रतिशतसम्मका केही उपयुक्त रोगमा इन्डोभ्यास्कुलर प्रविधि प्रयोग गर्न सकिने अवस्था छ । नशा बन्द भयो भने खोल्न सकिन्छ, नशा साँघुरियो भने सिधा पार्न सकिन्छ र नशा फुल्यो भने त्यसलाई नफुट्ने बनाउन सकिन्छ। तर सबै अवस्थामा इन्डोभ्यास्कुलर सम्भव हुँदैन। केही जटिल अवस्थालाई चिरेरै गर्नुपर्ने हुन्छ । 

 एओर्टिक एन्युरिजमका करिब  ८० केस
हामीले इन्डोभ्यास्कुलर प्रविधिबाट एब्डोमिनल एओर्टिक एन्युरिजम तथा थोरासिक एओर्टिक एन्युरिजमका करिब ८० वटा केस गरिसकेका छौं । नेपालमा सन् २०१०–११ तिर भेरिकोज भेनको उपचारबाट इन्डोभ्यास्कुलर प्रविधिको प्रयोग सुरु गरेका थियौं । त्यसपछि सन् २०१२–१३ तिर एओर्टिक एन्युरिजमको इन्डोभास्कुलर उपचार सुरु भयो ।

सन् २०१४ बाट क्यारोटिडसम्बन्धी उपचारमा पनि यसको प्रयोग सुरु गरिएको थियो । त्यसपछि क्रमशः पेरिफेरल आर्टरीसम्बन्धी उपचारमा यसको प्रयोग विस्तार हुँदै गयो । एओर्टिक एन्युरिजमको उपचारमा प्रयोग हुने प्रविधि जटिल र महँगो हुने भएकाले यसको विस्तारका लागि आवश्यक उपकरण तथा सामग्रीको उपलब्धता महत्वपूर्ण हुन्छ । यही कारण नेपालमा इन्डोभ्यास्कुलर उपचार विस्तारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा उपकरणको उपलब्धता र उपचारको लागत रहेको छ ।

 प्रविधि छ, तर उपकरण महँगो
इन्डोभ्यास्कुलर उपचारका लागि विशेष प्रकारका क्याथेटर, गाइडवायर, स्टेन्ट, स्टेन्ट ग्राफ्ट तथा अन्य उपकरण आवश्यक पर्छन् । यी सामग्री सामान्य शल्यक्रियामा प्रयोग हुने उपकरणजस्तो सस्तो र सहज रूपमा उपलब्ध हुँदैनन् । एब्डोमिनल एओर्टिक एन्युरिजमको उपचारमा प्रयोग हुने केही सामग्रीको लागत मात्रै १५–२० लाख रुपैयाँसम्म पर्छ । महँगो उपकरणका कारण प्रविधि उपलब्ध भएर पनि सबै बिरामीले सहज रूपमा उपचार पाउन सक्ने अवस्था छैन । यस्ता महँगा ग्याजेटहरू सम्बन्धित संस्थाले उपलब्ध गराइदिनुपर्छ । सरकारले खरिद गरेर सरकारी अस्पतालमा राखिदिए बिरामीलाई उपचार सहज हुन्छ ।
 

बीमाको दायरा फराकिलो बनाउनुपर्ने आवश्यकता
महँगो उपचारलाई सर्वसाधारणको पहुँचमा पु¥याउन स्वास्थ्य बीमा महत्वपूर्ण माध्यम हो । इन्डोभ्यास्कुलर उपचारजस्ता आधुनिक तथा महँगा प्रविधिलाई नेपालमा विस्तार गर्न बीमा प्रणालीले महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपालमा स्वास्थ्य बीमाको दायरा र सेवा विस्तार हुँदै गए पनि जटिल तथा महँगा उपचारमा बिरामीको वास्तविक खर्च धान्ने क्षमता अझै महत्वपूर्ण विषय बनेको छ । विशेषगरी जीवन जोखिममा पार्न सक्ने एओर्टिक एन्युरिजमजस्ता रोगको उपचारमा आवश्यक उपकरण र प्रविधिको उपलब्धता मात्र पर्याप्त हुँदैन । त्यसका लागि बिरामीले उपचार खर्च धान्न सक्ने व्यवस्था पनि आवश्यक हुन्छ ।
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्युरो