नेभिगेशन

कुम दुखाइका कारण र उपचार

मानव शरीरको सबैभन्दा बढी हलचल हुने र महत्वपूर्ण अंग हात हो । हातको परिचालित केन्द्र भने कुम हो । दुवै पाताको छेउको कचौराजस्तो भागमा पाखुराको गोलो  भाग जोडिएर कुमको जोर्नी बनेको हुन्छ । त्यसमा चोट पुगेमा वा कुनै रोगको प्रभाव परेमा पाखुरादेखि औँलासम्मको भागमा समस्या आउँछ । हात दुख्ने, नचल्ने, परिचालित नहुने वा चलायो कि दुख्नेजस्ता समस्या आउन सक्छन् । मानिसको व्यक्तित्व, क्षमता, स्वभाव र कार्यशैलीको संकेत दुई हातले दिने हुँदा यिनलाई व्यक्तित्व परिचयको पूर्वसंकेत समेत मानिन्छ । हात स्वचालित, परिचालित र अतिचालित अंग भएको हुनाले यसमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । अब जानौँ, कुम दुखाइका कारण र उपचार ।
  • हात र कुमको संगमस्थल कुमको जोर्नीलाई मांसपेशी, लिगामेन्ट, जोइन्ट क्याप्सुल, टेन्डन आदि तत्वले धानेर राखेको हुन्छ । यस्ता तत्वमा कुनै चोट वा समस्या आएमा जोर्नी पूर्ण रूपमा परिचालित नहुन सक्छ । त्यस्तै, जोर्नीमा घर्षण नहोस् भनेर सोे ठाउँमा पानीको सानो थैलोजस्तो  वस्तु (वर्सा) हुन्छ । सोही पानीको भागमा कहिलेकाहीँ चोट पुग्न सक्छ । जसले अत्यन्तै दुखाइ निम्त्याउँछ ।
  • चल्ने क्रममा कहिलेकाहीँ कुममा दुई हड्डीले मांसपेशी र नसा आदि तत्वलाई थिच्न सक्छन् । यो कुम दुखाइको अर्को कारण हो ।
  • कुम दुख्ने समस्या विशेषगरी मधुमेहका बिरामीमा देखापर्छ । कुमको हड्डी जाम भएर हात माथि र पछाडि लैजान नसक्दा अत्यधिक दुखाइ हुन्छ । यस्तो अवस्थालाई फ्रोजन सोल्डर भनिन्छ । जोइन्ट क्याप्सुल कसिलो भएर कुमको जोर्नीलाई चल्न नदिएर दुखाइ निम्तिन्छ ।
  • कहिलेकाहीँ गह्रौँ वस्तु उचाल्दा, तान्दा, धकेल्दा, जोर्नीमा रहेको मांसपेशीमा चोट पुग्छ र समस्या आउँछ । जसलाई रोटेटर कफ टेन्डेनाइटिस वा रोटेटर कफ टिएरर भनिन्छ । पौडी, क्रिकेट, बास्केटबल, टेनिस, ब्याडमिन्टन आदिका खेलाडीले हात टाउकोभन्दा माथि उठाउनुपर्ने हुन्छ । उनीहरूलाई यस्ता समस्या आउन सक्छ । त्यस्तै, कम्प्युटर लेखनजस्ता लामो समयसम्म मुन्टो झुकाएर गरिने कामका कारण कुममा असर पर्छ । सो असर हातमा पुग्ने गरेको पाइएको छ । असन्तुलित तथा कडा व्यायामसमेत कुम दुखाइको अर्को कारण हो ।
  • केवल हातमै भएको असरले मात्र यसमा दुखाइ नभई अन्य अंग–प्रत्यंगका रोगका कारण पनि हुन सक्छ । जस्तै, मुटुको दुखाइ, घाँटीको मेरुदण्डको समस्या, पित्तथैली र कलेजोसम्बन्धी समस्या हुँदा पनि त्यसको प्रभाव हातमा पर्न सक्छ । यस्ता दुखाइको उपचार गर्नुपूर्व कारण पत्ता लगाउन आवश्यक छ । सो रोगले हातमा के–कस्ता कार्यमा असहज बनाएको छ त्यो बुझ्नुपर्छ । अन्य कुनै रोगका कारण समस्या छ भने सो रोगको उपचार गराउनुपर्छ । हातको कुन भाग बढी प्रभावित छ, कुन मांसपेशी कमजोर भएको छ, जोर्नीका कस्ता तन्तुमा अवरोध भएका छन्जस्ता विषय कुशल थेरापिस्टले पहिचान गर्न सक्छ । अनि उपचार विधि अपनाउँछ ।
  • कुमको मांसपेशी कमजोर, जोर्नी कसिलो भएर पीडादायी दुखाइ भइसकेको अवस्थामा पीडा कम गराएर मात्र तान्ने, तन्काउने अर्थात् फिजियोथेरापी गर्ने गर्नुपर्छ ।
  • तत्काल कुनै चोट लागेर भएको दुखाइ हो भने त्यसलाई सुरुमा आराम गर्न लगाउने, आइस लगाउने, पट्टी बाँध्ने, आवश्यकता हेरी अल्ट्रासाउन्ड थेरापी, टेन्स÷आइएफटीजस्ता विद्युतीय उपकरणको प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता चोटका कारण पछि हातका मांसपेशी कमजोर हुने, जोर्नी कसिलो हुने तथा हात पूर्ण रूपमा परिचालित नहुने हुन सक्छ । यस्ता समस्या आए जोर्नीलाई तातोले सेक्ने, खुम्चिएको अथवा कसिलो भागलाई तन्काउने, जोर्नी वरिपरिका मांसपेशीलाई व्यायामको मद्दतले बलियो बनाउने आदि उपचार विधि अपनाउनुपर्छ । जोर्नीलाई खुकुलो बनाउन तथा पूर्ण रूपमा हात परिचालन गर्न जोइन्ट मोबिलाइजेसन तथा म्यानुअल थेरापी विधि प्रयोग गरिन्छ ।
  • जतिसक्यो चाँडो उपचार गरेमा कुम र हात दुखाइका समस्या सरल र सहज तरिकाले समाधान हुन सक्छन् ।
कुमका मांसपेशी कमजोर वा जोर्नी कसिलो भएर दुखाइ पीडादायी भइसकेको अवस्थामा पीडा कम गराएर मात्र फिजियोथेरापी गर्नुपर्छ । ( फिजियोथेरापिस्ट विवेक घिमिरे ‘विषद’ ग्रान्डीसिटी हस्पिटलमा कार्यरत हुनुहुन्छ । )
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ न्यूज