९ भदौ, काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीलाई बर्खास्त गरेर अर्को उपकुलपति नियुक्त गर्नुपर्ने माग संसदमा उठेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद मेटमणि चौधरीले भण्डारी उपकुलपति नियुक्त भएदेखि नै दाङको स्वास्थ्य सेवा बिगि्रन थालेको भन्दै उनलाई पदबाट हटाउन माग गरेका हुन् ।चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले सोमबार संसदमा भने, ‘डाक्टर संगिता भण्डारी रहँदासम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुनै पनि सुधार आउन नसक्ने भएकोले तुरुन्तै अपदस्थ गरी दाङको स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि अर्को भीसी नियुक्त गरी पठाउनका लागि सम्माननीय सभामुखमार्फत् सम्बन्धित मन्त्रालयको ध्यानाकर्षित गर्न चाहान्छु ।’
भण्डारीले कर्मचारी र डाक्टरहरुलाई राजीनामा दिन उनले बाध्य पारेको, अदालतको आदेशविपरित शुल्क बढाएको र भ्रष्टाचार गरेको आरोप चौधरीले लगाए । उपकुलपति भण्डारीले दाङका प्रमुख जिल्ला अधिकारीलाई हटाउन लबिइङ गरिरहेको दाबी चौधरीको छ ।
‘दादागिरी तरिकाले प्रतिष्ठानले चलाउन खोज्ने, भएका कार्यक्रम र सेवाहरुलाई खारेज गर्नेलगायतका काम त उहाँका लागि सामान्य नै भएको छ,’ सांसद चौधरीले भने, ‘अख्तियारको दुरुपयोग गरी चरम भ्रष्टाचारसमेत गरिरहनु भएको छ । अचम्मको कुरा त के छ भने प्रतिष्ठानको भीसीले प्रमुख जिल्ला अधिकारी हटाउनका लागि आफ्ना कर्मचारीहरुलाई उर्दि पो गरिरहनु भएको छ ।’
दाङ हेल्थ सेन्टर स्थापनाको ६१ वर्षपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनिसकेपछि जिल्लाको स्वास्थ्य सेवा लथालिंग भएको सेवाग्राहीले सामान्य उपचारसमेत पाउन नसकेको भन्दै उनले ध्यानाकर्षण गराए ।
२०१३ सालमा दाङ हेल्थ सेन्टर स्थापना गर्न भूमिका खेलेका समाजसेवीहरु टेकनाथ गौतम, खगराज लोहनी, भूपेन्द्र श्रेष्ठ, दामोदर घिमिरे, एकराज शर्मा, गजराज शर्मालगायतप्रति आफ्नो उच्च सम्मान रहेको चौधरीले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

