नेभिगेशन

सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन

नेपाल हल्थ न्युज, धनगढ। सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सुधारका लागि २५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशको ‘रिफरल अस्पताल’का रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा सुधार कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ । आइतबार प्रदेशसभामा प्रस्तुत बजेटमार्फत अस्पतालको सेवा प्रवाह तथा व्यवस्थापन सुधारका लागि उक्त रकम विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गरेलगत्तै सेती प्रादेशिक अस्पतालको निरीक्षण गर्नुभएको थियो । त्यसक्रममा उहाँले अस्पतालको आकस्मिक कक्ष, डायलायसिस सेवा, सघन उपचार कक्ष (आईसीयू), गाइनो वार्डलगायत विभिन्न विभागको अनुगमन गरेका थिए ।

निरीक्षणका क्रममा मुख्यमन्त्री भट्टले अस्पतालको सरसफाइ, भौतिक पूर्वाधारको अवस्था तथा सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको थियो । उहाँले अस्पतालको सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन अनुगमनलाई समेत निरन्तरता दिनुभएको थियो ।

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका बिरामीका लागि प्रमुख उपचार केन्द्रका रूपमा रहेको छ । यहाँ दैनिक बिरामीको चाप उच्च रहने गरेको छ । तर, पर्याप्त जनशक्ति, भौतिक पूर्वाधार तथा सेवा व्यवस्थापनको अभाव अस्पतालका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट अस्पतालको सुधार कार्यक्रम कार्यान्वयनमा आएमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा बिरामीले भोग्दै आएका समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ