अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआइ, पेट स्क्यानको आविष्कार सँगै रेडियोलोजी सेवाले दुइ तीन दशकयता फड्को मारेको पाइन्छ, जसले गर्दा रोगहरु पत्ता लगाउन र उपचारमा निकै सजिलो भएको छ ।
एम.आर.आई.
एमआरआइ चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधि हो । मुख्यतया स्नायु, मेरुदण्ड, हाडजोर्नी सम्बन्धी रोग पत्ता लगाउन बढी प्रयोग हुन्छ । ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको संक्रमण वा ट्यूमरको विशेष जानकारी लिन यसबाट जाँच गर्नु निकै महत्वपूर्ण छ । दिमाग र मेरुदण्डको ट्यूमरको जाँच र उपचारका लागि एमआरआई गर्नु अत्यावश्यक भएको सेन्टरका रेडियोलोजिपष्ट डा.निर्मल प्रसाद न्यौपानेले बताउनुभयो । एमआरआईको मद्धतले नरम तन्तुहरु स्पष्टसँग देखाउँछ । आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्या स्पष्टसँग पहिचान गर्न सकिन्छ । एमआरआईमा अत्यधिक चुम्बकीय शक्ति हुने भएकाले फलामजन्य धातुहरु, मोबाइल, फोन, घडि, क्रेडिट कार्ड तथा बिद्युतीय उपकरणहरु लैजान नमिल्ने डा. न्यौपानेले स्पष्ट पार्नुभयो ।
सिटी स्क्यान
सिटी स्क्यानको प्रयोगले रोग पहिचानमा निकै ठूलो मद्धत पु¥याएको छ । ट्रमा सम्बन्धि घटनामा टाउको तथा अन्य अंगको पहिचान गर्न छिटो र सरल तरिका सिटी स्क्यान हो । यसबाट मस्तिष्कमा रगत जमेको, हड्डी तथा करंगहरु भाँचिएको तुरुन्त पत्ता लगाउन सकिन्छ । पेट तथा छातिका रोग निदान गर्ने भरपर्दो प्रविधि सिटी स्क्यान नै हो । धमनी सम्बन्धी रोग पत्ता लगाउनेदेखि पेट तथा छाति, टाउकोका क्यान्सर पत्ता लगाउन ठूलो मद्धत पुग्ने रेडियोलोजिष्ट डा. न्यौपानको भनाइ छ ।
अल्ट्रासाउण्ड
चिकित्सा क्षेत्रमा अल्ट्रासाउण्डको प्रयोग दिनानु दिन बढ्दै गएको छ । यसको प्रमुख कारण बिरामीलाई नकारात्मक असर नपर्नु, परीक्षण शुल्क सापेक्षित कम हुनु र यसको सेवा प्रायः हरेक अस्पताल वा क्लिनिकमा सजिलै उपलब्ध हुनु हो ।
रेडियोलोजिष्ट डाक्टर न्यौपानेका अनुसार, अल्ट्रासाउण्ड, अति सूक्ष्म ध्वनिको प्रयोगबाट शरीरको अंग जाँच गर्ने आधुनिक उपकरण हो । यसको प्रयोग शरीरको प्रायः हरेक अंगमा गर्न सकिन्छ । गर्भावस्थामा भू्रण अवस्थादेखि डेलिभरि समयसम्म आमा र बच्चा दुवैको समस्या पहिचान गर्न सकिन्छ । पेटको अल्ट्रासाउन्डबाट मिर्गौलाको पत्थरी, पित्तथैलीको पत्थरीलगायत फ्याटी लिभर, प्याँक्रियाज, प्रोस्टेट, पाठेघरको समस्या एकदम सरल तरिकाले पत्ता लगाउन मद्धत गर्छ । स्तन तथा थायराइडको प्रारम्भिक जाँच अल्ट्रासाउन्डबाट पहिचान गरिन्छ । रगतका धमनीमा भएको समस्या पत्ता लगाउनमा अल्ट्रासाउन्ड कलर डप्लरको प्रयोग गरिन्छ । जस्तैः रेनल डप्लर, क्यारोटिड डप्लर, भेनस डप्लर आदि ।
एक्स—रे
सन् १८९५ मा एक्स—रे को आविष्कार भएतापनि यसको उपयोग निकैपछि चिकित्सा विज्ञानमा भएको पाइन्छ । एक्स–रे एक्सपोज गर्दा विकीरण निस्कने भएकाले सम्बन्धित चिकित्सकको सिफासिरमा मात्र यसको प्रयोग हुनु जरुरी छ । विशेषगरी भर्खर गर्भधारण गरेका महिलाहरु यसबाट बच्न नितान्त जरुरी छ किनभने विकिरणको असर भ्रूणमा निकै नराम्रो पर्छ जसले गर्दा अंगभंग भएको वा अणुवांशिक असर भएको बच्चा जन्मन सक्ने सम्भावना रहने एमआरआई सेन्टरका रेडियोलोजिष्ट डाक्टर न्यौपानेले जानकारी दिनुभयो । अस्पतालमा आएका बिरामीहरुको आवश्यकता अनुसार प्रारम्भिक जाँच मुख्यतया एक्स–रे जाँचबाट नै शुरु हुने गर्दछ । हाड जोर्नीको समस्या हुँदा वा हड्डीहरु भाँचिएको, छातीमा संक्रमण आदिमा एक्स–रे जाँचले प्रारम्भिक समस्या पहिचान गर्न मद्धत पुर्याउँछ ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्वाधार अभावको चक्रमा
सोमबार, जेठ १८, २०८३
ओम सर्जिकल कन्सर्नलाई मेडिका कर्पोरेसन अमेरिकाको सम्मान
बिहीबार, वैशाख १७, २०८३


