नेभिगेशन
काठमाडौंमा दीप प्रज्वलन, वीरगञ्जमा पनि स्मृति कार्यक्रम

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली

दीप प्रज्वलन गर्दै शान्तिको कामना, ‘सहिदको सपना पूरा हुनुपर्छ’-सुरेन्द्र मानन्धर,अध्यक्ष

नेपाल हेल्थ न्युज, काठमाडौं । फुड सप्लिमेन्ट तथा न्युट्रास्युटिकल क्षेत्रमा क्रियाशील व्यवसायीहरूको छाता संगठन फ्यानक्यान केन्द्रीय समितिले जेनजी आन्दोलनको स्मृतिमा कामठमाडौंको माइतिघरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।

भदौ २३ गते भएको जेनजी आन्दोलनको घटनालाई स्मरण गर्दै आयोजित कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो।

कार्यक्रममा फ्यानक्यानका अध्यक्ष सुरेन्द्र मानन्धरले पहिलो दीप प्रज्वलन गरी श्रद्धाञ्जली कार्यक्रमको सुरुआत गर्नुभएको थियो। त्यसपछि कार्यक्रममा उपस्थित फ्यानक्यानका पदाधिकारी, पूर्वपदाधिकारी तथा सदस्यहरूले समेत दीप तथा मैनबत्ती प्रज्वलन गर्दै जेनजी आन्दोलनका सहिदहरूप्रति सम्मान व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन फ्यानक्यानका महासचिव गौरव श्रेष्ठले गर्नुभएको थियो।

‘सानो विरोधबाट विशाल आन्दोलनको रूप लियो’

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मानन्धरले भदौ २३ गतेको घटनालाई स्मरण गर्दै सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको जेनजी युवाहरूको आन्दोलनले पछि विशाल रूप लिएको उल्लेख गर्नुभयो।

उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभयो-जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सबैको आत्माले शान्ति पाओस्। उहाँहरूले देख्नुभएको सपना र परिवर्तनको चाहना पूरा होस् भन्ने हाम्रो कामना छ।

मानन्धरले समाजमा शान्ति, सहिष्णुता र सकारात्मक परिवर्तनको आवश्यकता औंल्याउँदै युवाहरूले उठाएका आवाज र उनीहरूको आकांक्षालाई सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै जेनजी आन्दोलनका सहिदको सम्झनामा गरिएको श्रद्धाञ्जली कार्यक्रमले उनीहरूप्रतिको सम्मान र सम्झनालाई जीवन्त राख्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा फ्यानक्यानका विभिन्न पदाधिकारी, सदस्य तथा पूर्वपदाधिकारीहरूको उपस्थिति रहेको थियो। पूर्वउपाध्यक्ष मुकुन्द राजभण्डारी तथा उपाध्यक्ष भीमबहादुर बिष्टलगायत संस्थासँग आबद्ध व्यक्तिहरूले श्रद्धाञ्जली कार्यक्रममा सहभागिता जनाएका थिए।

वीरगञ्जमा पनि श्रद्धाञ्जली कार्यक्रम

यसैबीच, जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा फ्यानक्यान मधेश प्रदेशले पनि वीरगञ्जको घण्टाघरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको जनाएको छ।

मधेश प्रदेशका अध्यक्ष शिवजी यादवको उपस्थितिमा आयोजित कार्यक्रममा सहभागीहरूले दीप तथा मैनबत्ती प्रज्वलन गर्दै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा शान्तिको कामना गर्नुका साथै आन्दोलनका सहिदहरूले देखेको सपना पूरा होस् भन्ने कामना गरिएको थियो।

fancan-sradhanjali1-1788949046.jpeg
फ्यानक्यानले केन्द्रीयस्तरदेखि प्रदेशस्तरसम्म जेनजी आन्दोलनका सहिदको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्नु संस्थागत रूपमा पीडित परिवार र आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्ने महत्वपूर्ण पहल भएको सहभागीहरूले बताएका छन्।

देशभर करिब दुई सय सदस्य

फ्यानक्यानका अनुसार हाल संस्थामा ७० जना आजीवन सदस्य रहेका छन् भने देशभरका न्युट्रास्युटिकल तथा फुड सप्लिमेन्ट क्षेत्रमा आबद्ध गरी करिब दुई सय सदस्य संस्थासँग जोडिएका छन्। यद्यपि यस क्षेत्रमा क्रियाशील सबै व्यवसायी तथा व्यक्तिहरू अझै संस्थाको दायरामा समेटिन बाँकी रहेको फ्यानक्यानले जनाएको छ।

जेनजी आन्दोलनको स्मृति दिवसका अवसरमा आयोजित यस श्रद्धाञ्जली कार्यक्रमले आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्नुका साथै उनीहरूले चाहेको शान्ति, न्याय र सकारात्मक परिवर्तनको आकांक्षालाई स्मरण गराएको फ्यानक्यानका पदाधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष