
मानवजातिका लागि बच्चालाई जन्म दिनु निकै लामो र पीडादायी प्रकिया हुन सक्छ। महिलालाई सुत्केरी हुन अरूको सहयोग चाहिन्छ र कहिलेकाहीँ सुत्केरीव्यथा धेरै दिनसम्म लम्बिन सक्छ। तर मानवजातिसँग निकट सम्बन्ध भएका चिम्पान्जीजस्ता जीवमा किन उक्त प्रक्रिया छोटो हुन्छ र उनीहरू कसरी केही घण्टामै एक्लै बच्चा जन्माउन सक्छन्? क्रमिक विकाससँग सम्बन्धित यो प्रश्नको उत्तर खोज्न वैज्ञानिकहरूले मानवजातिसँग नाता भएका प्राचीन प्रजातिहरूले कसरी बच्चा जन्माउँथे भन्ने अध्ययन गरिरहेका छन्। प्राचीन जीवावशेषको अध्ययनमा लाखौँ वर्षअघि मानवजस्तै जीवलाई बच्चा जन्माउन "धेरै सजिलो" भएको देखिएको छ। आजभन्दा झन्डै साढे १९ लाख वर्षअघि दक्षिण अफ्रिकामा विचरण गर्ने अस्ट्रेलोपिथेकस सेडिबा नामक प्रजातिमा "बच्चा जन्मिने प्रक्रिया तुलनात्मक रूपमा सहज" भएको अनुसन्धानकर्ता डा. न्याटली लौडिसिना बताउँछिन्। "भ्रूणको टाउको र काँधलाई आमाको कोखको सबैभन्दा साँघुरो भाग हुँदै बाहिर निस्किन पर्याप्त ठाउँ पुग्थ्यो," उनी भन्छिन्। तर वर्तमान समयमा परिस्थिति भिन्न छ। अहिले भ्रूणको टाउको ठूलो हुने भएकाले तथा आमाको कटिको आकार र आकृतिका कारण बच्चा जन्मिन गाह्रो हुन्छ। महिलालाई सुत्केरीव्यथा लागेपछि बच्चा गर्भबाट सोझै बाहिर ननिस्किएर केही चोटि घुम्छ। मानवजातिका प्राचीन नातेदारका केही पोथीको कटिको थप अध्ययन गरेपछि अनुसन्धानकर्ताहरूले मानव वंशवृक्षमा जन्म कसरी हुन्थ्यो भनेर अझ बुझ्न सक्छन्। ती नातेदारमध्ये छवटाको क्रमिक विकासको अवधि ३० लाख वर्षको छ।





