[caption id="" align="alignnone" width="976"]कीटाणुबारे केही थाहा नभएको बेला इग्नाच सेम्मेल्भाइसले उपचारकोबीचमा हात धुनु पर्ने तथ्य पत्ता लगाएका थिए।[/caption]
एउटा समय यस्तो थियो जतिबेला बिरामीलाई अस्पताल लैजानु कदापि उत्तम विकल्प मानिँदैनथ्यो। उन्नाइसौँ शताब्दीका अस्पतालहरूमा रोगव्याधि झनै फैलने जोखिम हुनेगर्थ्यो। अस्पतालहरूमा बिरामी र मर्न लागेका मानिसहरूका लागि न्यून सुविधा उपलब्ध थिए। त्योभन्दा त बढी बिरामीलाई घरमा नै उपचार गर्नु सुरक्षित हुन्थ्यो। अस्पतालमा बिरामीहरूको मृत्यु हुने दर तीनदेखि पाँचगुणा बढी थियो।
'मृत्युगृह'
अस्पतालहरूमा पिसाब, बान्ता र अन्य तरल पदार्थको गन्ध आउँथ्यो। त्यो यति दुर्गन्धित हुन्थ्यो कि कर्मचारीहरू आफ्ना नाक रुमालले छोपेर हिँड्थे। चिकित्सकहरू आफ्ना हात र उपकरण बिरलै धुन्थे। शल्यक्रिया कक्षहरू त्यहाँ काम गर्ने शल्यचिकित्सक जत्तिकै फोहोरी हुनेगर्थे। त्यसैले अस्पतालहरूलाई 'मृत्युगृह' भनिन्थ्यो।
[caption id="" align="alignnone" width="976"]सन् १८७५ मा टमस एकिन्सले बनाएको 'द ग्रस क्लिनिक'। यो हात धुने चलन सुरु हुनुभन्दा अघिको चित्र हो[/caption]
त्यस्तो जमानामा एक पुरुषले विज्ञानको प्रयोग गरेर रोग फैलिने क्रम रोक्ने प्रयत्न गरे। उनको नाम इग्नाच सेम्मेल्भाइस थियो। यी हङ्गेरियाली चिकित्सकले सन् १८४०को दशकमा मातृशिशु कक्षमा हुने मृत्यु दर घटाउने उद्देश्य लिएर भीएनामा हात धुने एउटा प्रणाली विकास गरेर त्यसलाई सञ्चालनमा ल्याउने प्रयास गरे। त्यो कदम प्रभावकारी हुन सक्थ्यो तर त्यो विफल भयो। किनभने उनका सहकर्मीहरूले उनको विरोध गरे र उनलाई सफल हुन दिएनन्। तर पछि गएर उनलाई "आमाहरूको जीवनरक्षक" भनेर चिनियो।
कीटाणुरहित संसार
इग्नाच सेम्मेल्भाइस भीएना जनरल अस्पतालमा काम गर्थे जहाँका कोठाहरूमा अन्य अस्पतालहरूमा जस्तै बिरामीहरूको मृत्यु हुनेगर्थ्यो। उन्नाइसौँ शताब्दीको मध्यपछि कीटाणुको सिद्धान्तलाई सबैले स्वीकार गरेपछि मात्र अस्पतालमा हुने फोहोरका कारण रोगव्याधि झनै फैलने गर्छ भन्ने ज्ञान चिकित्सकहरूलाई हुन थाल्यो।
[caption id="" align="alignnone" width="976"]लन्डनस्थित सेन्ट जोर्जेज जस्ता अस्पताललाई 'मृत्युगृह' भन्ने गरिन्थ्यो[/caption]
न्यूयोर्क विश्वविद्यालयमा चिकित्साशास्त्रको इतिहासका ज्ञाता ब्यारन एच लेर्नरले बीबीसीसँग भने, "कीटाणु र ब्याक्टेरियाको अस्तित्व नै थाहा नभएको संसार हामीलाई कल्पना गर्न पनि गाह्रो छ।" "उन्नाइसौँ शताब्दीको मध्यतिर कुहिएका बस्तुबाट निस्किने विषाक्त बाफका कारण रोग फैलिन्छ भन्ने विश्वास रहेको थियो।"
टड्कारो असन्तुलन
रोगव्याधि फैलने उच्च जोखिममा रहेका बिरामीमध्ये शिशु जन्माउने अवस्थाका आमा हुनेगर्थे। शिशु जन्माउने बेला योनी च्यातिने अवस्थामा पुगेका आमाहरूलाई जीवाणु फैलने जोखिम उच्च हुनेगर्थ्यो।
सेम्मेल्भाइसले भीएना जनरल अस्पतालका उस्तै सुविधा भएका दुई वार्डमा केही प्रस्ट फरक देखे। एउटामा पुरुष चिकित्साशास्त्रका विद्यार्थीहरू काम गर्थे। अर्कोमा चाहिँ सुँडिनीहरू काम गर्थे।
[caption id="" align="alignnone" width="976"]टमस एकिन्सले सन् १८८९ मा बनाएको 'द अग्निउ क्लिनिक'। यो 'द ग्रस क्लिनिक'भन्दा निकै सफा देखिन्छ[/caption]
पुरुष विद्यार्थीहरू काम गर्ने वार्डमा सन् १८४७ मा एक हजार जन्म हुँदा मातृमृत्युदर ९८.४ प्रतिशत थियो। सुँडिनीहरू काम गर्ने वार्डमा चाहिँ एक हजार जन्म हुँदा मातृमृत्युदर ३६.२ प्रतिशत थियो। पुरुषहरू "सुँडिनीभन्दा खरो ढङ्गले काम गर्ने" भएकोले त्यस्तो टड्कारो असन्तुलन देखिएको त्यतिबेला ठानिएको थियो।
असामयिक मृत्यु?
शिशु जन्माउने आमाहरूलाई "खरो ढङ्गले उपचार गरिएकोले" उनीहरूलाई एक प्रकारको ज्वरो आएर उनीहरूको ज्यान गएको भनी औपचारिक जानकारी दिइयो। तर सेम्मेल्भाइस त्यसलाई मान्न तयार भएनन्। त्यही वर्ष एउटा शवको परीक्षण गर्ने बेला हात काटिएका उनका एक सहकर्मीको मृत्यु भयो र त्यसपछि उनले केही भेउ पाए।
[caption id="" align="alignnone" width="976"]ब्याक्टेरिया स्ट्रेप्टोकोकस प्योजिन्सका कारण हुने मृत्युबारे त्यतिबेला केही जानकारी हुँदैनथ्यो[/caption]
त्यतिबेला शवहरूलाई चक्कुले काट्ने क्रममा कसैलाई सानो चोट लागेपनि त्यसले ठूलो जोखिम निम्त्याउनेगर्थ्यो। सन् १७७८मा चार्ल्स डार्विनका काकाको पनि एक बालकको शव काट्ने क्रममा लागेको चोटका कारण ज्यान गएको थियो। भीएनामा आफ्नो सहकर्मीको मृत्यु भएको हेर्दा सेम्मेल्भाइसले ज्वरो आएर ज्यान गुमाएका नवजात शिशुका आमाहरूको जस्तै समान लक्षणहरू देखे।
[caption id="" align="alignnone" width="976"] ज्याक पिएरे मेग्रिएरले सन् १८४० मा बनाएको प्लेक[/caption]
कतै शव चिर्ने कोठामा काम गर्ने चिकित्सकहरूले त्यस्तो ज्वरो फैलाउने कण शिशु जन्माउने कक्षमा लिएर त गइरहेका छैनन्? सेम्मेल्भाइसले अधिकांश चिकित्साशास्त्रका विद्यार्थी शवहरू चिर्ने कोठाबाट सीधै मातृशिशु कक्षमा गइरहेको देखे। त्यतिबेला कसैले पनि पन्जा वा कुनै सुरक्षा पोसाक लगाउने चलन थिएन र विद्यार्थीहरू शव चिर्ने कोठाबाट अन्यत्र जाँदा उनीहरूको कपडामा मासुको टुक्रा वा कुनै तन्तु टाँसिएको भेटिनु सामान्यजस्तै हुन्थ्यो।
अस्पताललाई अलग्याउने सुझाव
सुँडिनीले शव चिर्ने काम गर्दैनथे। के सेम्मेल्भाइसलाई सताइरहेको रहस्यको गाँठो फुकाउने उपाय त्यतै कतै थियो त? कीटाणुको समस्याबारे सबैले बुझ्नुअघि अस्पतालको फोहरमैलाको उपचार पत्ता लगाउन सहज थिएन।
[caption id="" align="alignnone" width="976"] मातृशिशुविद् जेम्स वाई सिम्पसन (१८११-१८७०) मृत्युदर घटाउन अस्पताल भत्काएर फेरि बनाउनु पर्ने तर्क गरेका थिए[/caption]
मातृशिशुविद् जेम्स वाई सिम्पसन (१८११-१८७०) क्लोरोफोर्मले दुखाइ हटाउने क्षमता राख्छ भनी मानवलाई सम्झाउन सफल पहिलो चिकित्सक हुन्। उनले अस्पतालका विभिन्न कक्षबीच फैलिन सक्ने सङ्क्रमण नियन्त्रण नगर्ने हो भने अस्पतालहरू नष्ट गरिदिनुपर्छ र फेरि बनाउनुपर्छ भनी तर्क गरे। उनीसँग अन्य वैज्ञानिक पनि सहमत भए। सेम्मेल्भाइसले भने त्यति ठूलो काम आवश्यक नरहेको ठाने।
[caption id="" align="alignnone" width="976"] इग्नाच सेम्मेल्भाइसले क्लोरिनयुक्त सोल्युशनमा हात धुँदै गरेको चित्र[/caption]
उनले आमाहरूको ज्यान लिने ज्वरो कुनै सङ्क्रमण फैलाउने पदार्थका कारण फैलिएको निष्कर्ष निकाल्दै उनले अस्पतालमा एउटा बेसिन जडान गरे जसमा क्लोरिन हालिएको लाइम सोल्युशन राखियो। शव चिर्ने कक्षबाट मातृशिशु कक्षमा जाने चिकित्सकहरूलाई त्यो एन्टिसेप्टिक सोल्युशन प्रयोग गरेर मात्र बिरामीलाई जाँच्ने नियम बनाइयो। सन् १८४८ सम्ममा चिकित्साशास्त्रका विद्यार्थी काम गर्ने वार्डमा हुने मातृमृत्युदर १,००० जन्म हुँदा १२.७ प्रतिशतमा झर्यो।
पुरस्कारविहीन विजय
तर इग्नाच सेम्मेल्भाइसले आफ्ना सहकर्मीहरूलाई शवबाट फैलिएको सङ्क्रमणका कारण आमाहरूको ज्यान लिने ज्वरो फैलिएको हो भनेर बुझाउन सकेनन्। त्यो विधिको जाँच गर्न राजी हुनेहरूले उचित तरिकाले परीक्षणमा सहभागी भएनन् र उल्टो परिणाम आएको देखाइदिए। "तपाईँले के विचार गर्नुपर्छ भने उनले चिकित्साशास्त्रका विद्यार्थीले आमाहरूको ज्यान लिइरहेका छन् भन्ने सन्देश दिन खोजेका थिए। त्यसलाई स्वीकार्न कोही पनि तयार भएनन्," लेर्नर भन्छन्। त्यसपछि सन् १८८० देखि सबै मातृशिशु वार्डहरूमा एन्टिसेप्सिस राख्न थालियो। आफूले त्यस विषयमा लेखेको पुस्तकको धेरै आलोचना भएपछि इग्नाच सेम्मेल्भाइस आफ्ना आलोचकहरूप्रति निकै आक्रोशित भए। उनले हात नधुने चिकित्सकलाई "हत्यारा" भनिदिए। भीएना अस्पतालले उनको करार नवीकरण गर्न नमानेपछि सेम्मेल्भाइस हङ्गेरी फर्किए र बुढापेस्टको एउटा मातृशिशु अस्पतालमा मानार्थ चिकित्सकको रूपमा काम गर्न थाले। त्यहाँ र पेस्ट विश्वविद्यालयको मातृशिशु कक्ष आमाहरूलाई ज्वरो आउने समस्याले ग्रस्त थियो। उनले त्यसको निराकरण गरिदिए। तर उनको सिद्धान्तको आलोचना हुने क्रम रोकिएन जसका कारण उनको रिस पनि बढ्यो।
[caption id="" align="alignnone" width="976"] इग्नाच सेम्मेल्भाइसले मृत्युपश्चात् मात्र सम्मान पाए[/caption]
सन् १८६१ तिर उनको व्यवहार असामान्य हुन थालिसकेको थियो। त्यसपछि उनलाई मानसिक अवस्था ठिक नभएका मानिसलाई राख्ने ठाउँमा लगिए। एक सहकर्मीले उनलाई नयाँ चिकित्साशास्त्र अध्ययन संस्थामा जाने भन्दै मानसिक अवस्था ठिक नभएका मानिसलाई राखिने एउटा केन्द्रमा लगिदिए। सेम्मेलभाइसले आफूलाई के गरिएको रहेछ त्यो थाहा पाए। उनले त्यो असाइलम छोड्न खोज्दा चौकीदारहरूले उनलाई नराम्रोसँग कुटे र उनलाई एक प्रकारको ज्याकेट लगाइदिएर अँध्यारो कोठामा थुनिदिए। त्यसको दुई हप्तापछि आफ्नो दाहिने हातमा लागेको चोटका कारण भएको सङ्क्रमणका कारण उनको ज्यान गयो। उनी ४७ वर्षका थिए। उनको मृत्युपछि लुई पास्चर, जोसेफ लिस्टर र रोबर्ट कोच आदि वैज्ञानिकले नयाँ सिद्धान्त र विधिहरू ल्याए। तिनमा सेम्मेल्भाइसको कुनै भूमिका देखिएन। तर पछि उनको सम्मान गरियो। हिजोआज हातको सरसफाइलाई सबैतिरका अस्पतालहरूमा सङ्क्रमण रोक्ने एउटा महत्त्वपूर्ण उपाय मानिन्छ। बीबीसी