नेभिगेशन

निर्देशक सेञ्चुरीको मासिक खाजा खर्च चार लाख ६९ हजार !

काठमाडौं – वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ। बिलको सदर सेञ्चुरी स्वयंले गरेका छन्।

अस्पताल प्रशासनले तयार गरेको बिलमा माइतीघरको अन्नपूर्ण क्याफेबाट दुई लाख ९० हजार र जी एन्ड बी क्याफेबाट एक लाख ८५ हजार रुपैयाँ बराबरको खाजा लिएको देखिन्छ। स्रोतका अनुसार एक महिनामा झन्डै पाँच लाख रुपैयाँबराबरको खाजा खर्च गरिएको भनिएका बिल नक्कली हुन्। पाँच लाख खर्च भएको देखाउन नक्कली बिल बनाइएका हुन्। ‘वीर अस्तपाल वरिपरि क्याफे हुँदाहुँदै माइतीघर किन जानुप-यो। त्यसमा पनि अस्पतालभित्रै क्यान्टिन छ। त्यसैले माइतीघरको क्याफेबाट तयार गरेको बिल नक्कली हुन्,’ स्रोतले भन्यो, ‘अस्पताल प्रशासनले तयार गरेका केही बिलमा सार्वजनिक बिदाका दिन पनि खाजा खर्च भएको देखाइएको छ।’ यस विषयमा डा. सेञ्चुरीसँग जिज्ञासा राख्दा उनले केही ‘बदमास’ ले आफूविरुद्ध गलत प्रचार गरेको बताए। ‘अनियमिता भएकै छैन,’ उनले भने, ‘केही बदमासले गलत प्रचार गरिरहेका छन्।’

भत्काउने भवनमा ७० लाखको लिफ्ट अस्पालको एउटा भवन ५० वर्ष पुरानो छ। तीन तलाको उक्त भवनमा गम्भीर प्रकृतिका बिरामी जाँदैनन्। सिसियू तथा आइसियूमा भर्ना गर्नुपर्ने बिरामी त्यहाँ जानुपर्दैन। त्यहाँ सामान्य प्रकृतिका मात्र बिरामी जाने गर्छन्। उक्त भवन निकै पुरानो र जीर्ण भएकाले अस्पताल प्रशासनले भत्काउने निर्णय गरेको छ। एक वर्षपछि भत्काउने भनिएको उक्त भवनमा प्रशासनले झन्डै ७० लाख रुपैयाँ खर्च गरेर लिफ्ट तयार गरेको छ। तीन तला मात्र भएको उक्त भवनमा लिफ्ट नबनाई नहुने आवश्यकता थिएन। ‘यो पनि कमिसनको खेल हो,’ एक कर्मचारी भन्छन्।

गुपचप ३० जना नर्स भर्ना स्वास्थ्य मन्त्रालयले मातहतका निकाय तथा अस्पताललाई ज्यालादारी तथा करारमा कर्मचारी भर्ना नगर्न र बाध्यता परे मन्त्रालयसँग सहमति लिई लोकसेवा आयोगको विधि र प्रक्रिया पु-याएर भर्ना गर्न सकिने परिपत्र पठाएको छ। तर यस परिपत्रलाई वीर अस्पताल प्रशासनले उल्लंघन गरेको छ। आ–आफ्ना मान्छेलाई फाराम भर्न लगाएर गुपचुपमा अन्तर्वार्ता लिइएको छ। वीर अस्पताल भवनमा नभई ट्रमा सेन्टरको हलमा उनीहरूको अन्तवार्ता लिइएको थियो। यसरी गुपचुप अन्तवार्ता लिइएका ३० जना नर्सलाई नियुक्तिपत्र दिइएको छ।

एक अर्बका दुई मेसिन प्रयोगहीन अस्पताल प्रशासनले झन्डै एक अर्ब रुपैयाँमा खरिद गरेका दुईवटा उपकरण हाल प्रयोगहीन अवस्थामा छन्। क्यान्सरका बिरामीलाई सेक्ने टोमोथेरापी मेसिन र दिमागको अप्रेसन गर्दा हेर्नुपर्ने न्युरोसिटी मेसिन हाल प्रयोग नभई थन्किएका छन्। यी दुईवटा मेसिन प्रयोग नभई थन्काइएको र अनियमितता भएको विषयमा महालेखा परीक्षकको प्रतिवेदन र सार्वजनिक खरिद अुनगमन कार्यालय (पिपिएमओ) को प्रतिवेदनमा समेत उल्लेख छ। ती मेसिन प्रयोगमा ल्याउन निर्देशक डा. सेञ्चुरीले कुनै योजना बनाएका छैनन्।

यस्तै अस्पतालमा करिब १० वटा भेन्टिलेटर मेसिन बिग्रेका छन्। बिग्रेका भेन्टिलेटरलाई मर्मत गर्नेतिर पनि निर्देशकले कुनै चासो राखेका छैनन्। ती भेन्टिलेटर मर्मत हुनेसक्ने स्थितिमा छन्।

सेञ्चुरी निर्देशक भएपछि बजारमा ४५ हजार रुपैयाँ पर्ने मोबाइललाई एक लाख ५० हजार रुपैयाँ तिरेर किनेको बिल पेस गरिएको छ। यसैगरी ५० हजार रुपैयाँमा पाइने ल्यापटपलाई एक लाख ५२ हजार रुपैयाँ खर्च भएको बिल पेस गरिएको छ। निर्देशक सेन्चुरीले बिरामीलाई निःशुल्क खाना तथा खाजा खुवाउने टेन्डर आफूनिकट एक व्यावसायीलाई दिएका छन्। नु सुयोग सप्लायर्सका सञ्चालक ती व्यवसायीसँग अस्पतालले त्यसबापत वार्षिक एक करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्ने सम्झौता गरेको छ। घटाघटमा सो टेन्डर हात पार्न सप्लायर्सले बिरामीका लागि एक पैसामा अन्डा उपलब्ध गराउने सम्झौता गरेको छ। खानामा पनि गत वर्ष खसीको मासु दिने गरिएको थियो, यस वर्ष कुखुराको मासु दिने गरिएको छ। अस्पताल स्रोतका अनुसार बिरामीको खाजा तथा खानामा पनि मिलेमतोमा ठगी भइरहेको छ।

आर्थिक अनियमितताका विषयमा जिज्ञासा राख्दा निर्देशक सेञ्चुरीले आफूले त्यस्तो नगरेको दाबी गरे। उनले भने, ‘अस्पतालमा अनियमितता भएकै छैन। केही व्यक्तिले गलत प्रचार गरिरहेका छन।’ तर उनले आर्थिक अनियमितता गरेको भन्दै केही कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका छन्। अख्यितारमा उजुरी दर्ता विषमया निर्देशक सेञ्चुरीले भने, ‘अस्पतालमा अनियमितता भएको रहेछ भने अख्यितारले छानबिन गर्ला। यस विषयमा अहिले म केही बोल्दिनँ।’आजको नागरिकन्युजमा भुवन शर्माले लेखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पत्रपत्रिकाबाट