जनस्वास्थ्य सरोकार, काठमाडौँ। मुटु शरीरभित्र रहेको मांशपेशीय मुख्य अंग हो । मुटुले रगत पम्प गरेर शरीरका हरेक तन्तु र कोषमा अक्सिजन र पोषण तत्व पु¥याउँछ । यसैगरी मुटुमा पुगेको अशुद्ध रगत मुटुले पम्प गरेर फोक्सोको रगत सफा गर्ने क्यापिलरीमा पठाइदिन्छ । यहाँ अक्सिनेसन हुन्छ । रगतमा अक्सिजनको मात्रा बढ्छ । कार्वडाइअक्साइडको मात्रा फालिन्छ । रगत शुद्ध भएपछि आर्टरीले मुटुको देव्रेपटीको भागबाट एओर्टा नामक ठूलो नशाबाट पम्प गरेर शरीरभर रगत पठाउँछ । मुटुमा भएका अटोमेटिक सिस्टमले मुटु चल्छ । मुटुको आफ्नै अटोमेटिक सिस्टमले इलेक्ट्रिकल इम्पल्सन तयार गर्छ । मुटुको देव्रेपटीको माथिको भागमा पेशमेकर हुन्छ । त्यहाँ साइनस नोड हुन्छ । त्यहीबाट करेन्ट निस्कन्छ । त्यो करेन्ट तल सरेर आएपछि मुटु खुम्चिन्छ । यो कार्य निरन्तर भइरहन्छ । यसरी मुटुलाई खुम्च्याउने काम अटोमेटिक भइरहेको हुन्छ र शरीरमा रक्तसञ्चार आफ्नै गतिमा हुन्छ । त्यसैले मुटुको पम्प गर्ने क्षमता राम्रो चाहिन्छ । पम्प गर्न मांसपेशी बलियो हुनुपर्छ । मांसपेशी बलियो बनाउन आपूर्ति बलियो हुनुपर्छ । खुम्चने सिस्टोलिक र फूल्ने डायस्टोलिक हो । डायस्टोलिकमा मुटुले आफूले रगत लिन्छ र सिस्टोलिकमा अरुलाई पठाउँछ । माथिको सिस्टोलिक र तलको डायस्टोलिक रक्तचाप हो । रक्तचाप दुवै बढ्नु हुँदैन । माथिको १३०–१४० ननघाउनु भनिन्छ भने तलको ९० बढाउनु हुँदैन । तलको रक्तचाप बढ्दा शरीरलाई धेरै क्षति पुग्ने भएकाले तलको रक्तचाप बढेम खतरा मानिएको हो । त्यसैले बेलाबेलामा परीक्षण गरेर मुटु ठीक राख्न सकेमा संभावित खतराबाट बच्न सकिन्छ ।
ई.सी.जी. र इको
ई.सी.जी. मुटुको सामान्य जाँच हो । यसले मुटुको चाल र गतिको सामान्य जानकारी गराउँछ । हृदयघात भएनभएको सामान्यत छुट्याउन मद्दत गर्छ । इको कार्डियोग्राफीले मुटुको बनोट, भल्व, मांसपेशीको बाक्लोपन, ट्रान्स थोरासिस, मुटुको खुम्चिने शक्ति (सिस्टोलिक फंसन) र डायस्टोलिक फंसन, मुटुको झिल्लीमा पानी भएको वा नभएकोबारे सामान्य रुपमा यस उपकरणले जानकारी दिन्छ । इको गर्दा औषधि दिँदै गरिन्छ । सामान्य इकोलाई ट्रान्सथोरासिस भनिन्छ । यसका साथै ट्रान्सफेजल इको, स्ट्रेस इको, थ्री डायमेन्स्नल इको, फेटल इको आदि यसका विभिन्न प्रकार छन् ।
एबिपी , होल्टर र टिएमटी
एबिपी मेसिनले २४ घण्टाको ब्लड प्रेसर र मुटुको धड्कनको मापन गरेर देखाउँछ । बिहान, दिउँसो, राति सुत्दा, बस्दा, खाँदा उच्चरक्तचापको स्थिति के छ ? भनेर एबिपी मेसिनले मनिटर गरिरहेको हुन्छ । यसले औषधि खाने वा नखाने भन्ने निक्र्योल गरिदिन्छ । यो मेसिन बहिरङ्ग विभागबाट जडान गरिन्छ । तसर्थ बिरामीलाई अस्पताल भर्ना हुनुपर्दैन । मुटुको धड्कन नियमित भएनभएको अवस्था हेर्ने उपकरणलाई होल्टर भनिन्छ । यसले मुटुको चाल र गतिसीमा देखाउन मद्धत गर्छ । यसबाट मुटुको चाल नियमित भएनभएको हेरिन्छ । चाल कहाँ बाट आइरहेको छ, सामान्य आउनुपर्ने ठाउँबाट वा अन्यन्त्रबाट मुटुको चाल आइरहेको छ भनेर पनि होल्टरले हेर्ने गर्छ । चिकित्सकीय परामर्शपछि बिरामीलाई होल्टर लगाइदिएर घर पठाइन्छ । सामान्यत यसलाई २४ घण्टा सम्म लगाइन्छ, आवश्यक परेको अवस्थामा ४८ घण्टा पनि लगाउनुपर्ने हुनसक्छ । सोही रिर्पोटको आधारमा बिरामीको अवस्था पहिचान गरिन्छ ।
टी.एम.टी.(ट्रेड मिल टेस्ट) मुटुको परीक्षण गर्ने प्रविधि हो । टी.एम.टी.मा छातीमा इलेक्ट्रोडहरु लगाएर इसिजी मोनिटरसँग जोडिएको हुन्छ । बिरामीले गतिमा ट्रेड मिल मेसिनमाथि हिँड्दै गर्दा बिस्तारै मुटुको चाल र गतिविधि इसिजी मोनिटरले देखाउँछ । जाँच्ने क्रममा ब्लड प्रेसर पनि नापिन्छ । मुुटुले लोड लिँदा इसिजीमा केही परिवर्तन आउँछ र ब्लकेज हुने सम्भावना भएनभएको थाहा पाउन सकिन्छ ।
इन्भेसिव सेवा
इन्भेसिभ सेवाअन्तर्गत मुटुको एन्जियोग्राफी, एन्जियोप्लाष्टी, पेसमेकर, बेलुन भाल्भोटोमी आदि पर्दछन् । क्याथल्यावको माध्यमबाट ब्लक भएको मुटुको नसाको अवस्था हेर्न कोरोनरी एन्जियोग्राफीको जति महत्व हुन्छ त्यति नै पेरिफेरल एन्जियोग्राफी सेवा पनि महत्वपूर्ण छ । पेरिफेरल एन्जियोग्राफीले मुटुबाहेकका अन्य नसाहरुमा समस्या भएनभएको हेर्ने गरिन्छ । ब्लक भएको मुटुको नसाभित्र बेलुन स्टेन्ट (जाली जस्तो) राखेर नसाबाट रगत सुचारु गर्नुलाई कोरोनरी एन्जियोप्लाष्टी भनिन्छ भने मुटुबाहिरको नसामा बेलुन (जालीजस्तो) राख्नुलाई पेरिफेरल एन्जियोप्लाष्टी भनिन्छ । हृदयघात भएको बेला तत्काल गरिने उपचारलाई प्राइमरी एन्जियोप्लाष्टी भनिन्छ ।
हृदयघात र एन्जियोप्लाष्टी
कोरोनरी आर्टरी (धमनी) ले मुटुको मांशपेशीलाई आवश्यक रगत पु¥याउन नसक्दा हुने पीडा बिस्तारै बढ्दै गएर रक्तसञ्चार प्रकृया बन्द हुने समस्यालाई हृदयघात भनिन्छ । खासगरी छातिको बीच भागमा दुख्ने, गिँजा, काँध र देब्रे हातमा पीडा महसुस हुने, श्वासप्रश्वासमा समस्या, मुटुको धड्कन बढ्ने, कपडा भिज्ने गरी पसिना आउने हृदयघातका लक्षण हुन् । मधुमेही, बृद्धबृद्धा र अटोनोमिक डिसफङ्सन भएका बिरामीलाई छातिको दुःखाइ नहुन पनि सक्छ । तत्काल हृदयघात भएका बिरामीलाई क्याथ ल्याबमा एन्जियोग्राफी गरेर ब्लक भएको नसा तुरुन्त खोल्नुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डले अस्पताल पुगेको ९० मिनेटभित्र एन्जियोष्टीबाट खोलिसक्नुपर्ने उल्लेख गरेको छ । टाढाबाट आउनेहरुका लागि पनि १ सय २० मिनेट भित्र उपचार गरिसक्नुपर्छ । हृदयघात भएको १२ घण्टाभित्र बन्द भएको नसा खोल्दा मुटुलाई बलियो राख्न सकिन्छ ।
के हो क्याथल्याव
क्याथल्यावमा अत्याधुनिक उपकरण जडान गरी फ्लोरोस्कोपको माध्यमद्धारा मुटु तथा रक्तसञ्चार हुने नसा, मुटुको नसा (कोरोनरी) र पेरिफेरल एन्जियोग्राफी हेर्नमा धेरै प्रयोग गरिन्छ । रगतको नसामा ब्लकेज देखिएमा बेलुन स्टेन्ट (जाली) राखेर रगत सुचारु गर्नुपर्छ । एडभान्सड् हार्ट ब्लक भएमा पेसमेकर लगाउनुपर्ने हुन्छ ।
प्रेसरका बिरामीले नियमित औषधि खानुपर्छ । नियमित व्यायाम गर्ने, मधुमेह नियन्त्रण गर्नाले हृदयघातबाट बच्न सकिन्छ । चुरोट तथा अत्यधिक मदिरापान गर्न हुँदैन । ४० वर्ष नाघेकाहरुले वर्षमा एकपटक नियमित स्वास्थ्य जाँच गर्नुपर्छ । उच्च जोखिम भएकाहरुले नियमित फलोअपमा बस्नुपर्छ । बाथज्वरो भएकाहरुले समयमा उपचार गराउनुपर्छ । नियमित व्यायाम गर्नुपर्छ ।
(डा. राजभण्डारी गंगालाल र बी एण्ड बी हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)
प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ

