क्यान्सर बिरामीको तथ्यांक केलाउँदा बिरामी हुने र मृत्यु हुने दुवै संख्यामा फोक्सो क्यान्सर पहिलो स्थानमा छ । नेपालमा क्यान्सरका बिरामीमध्ये १५ प्रतिशतमा फोक्सोको क्यान्सर देखिएको विशेषज्ञहरूको अनुभव छ ।
नेपालमै क्यान्सर रोगको रोकथाम, निदान र उपचारमा प्रगति भए पनि बर्से्नि फोक्सो क्यान्सरका नयाँ बिरामीको संख्या थपिँदै गएको क्यान्सर रोग विशेषज्ञ डा। सुदीप श्रेष्ठ बताउँछन् । काभ्रेका ताराप्रसाद त्रिपाठीलाई फोक्सो क्यान्सरले १२ वर्ष सतायो ।
उपचारका लागि नेपालका ठूला अस्पताल र भारतका नामी अस्पताल धाउँदा पनि उनको व्यथा ठीक हुन सकेन । ‘उपचारका लागि भएको जायजेथा बेचिसकेँ, ऋण नलिएको आफन्त कोही छैन,’ उनले भने । त्रिपाठीले आफूलाई सानै उमेरदेखि बिँडी र चुरोटको लत लागेको सुनाए । पेसाले उनी शिक्षक भएकाले धेरै वर्ष चकको घुलोमा काम गर्नुपरेको थियो । उनी नेपाल क्यान्सर अस्पतालमा उपचाररत छन् ।
‘क्यान्सरको त उपचार चलिरहेको छ, तर, क्यान्सरको औषधि खान थालेपछि अरू रोग पनि थपिएको छ,’ उनले भने, ‘सुगर छ, आँखाको मोतीविन्दु छ, उपचार खर्च त झन् धानिसक्नुको छैन ।’ नेपाललगायत विकासोन्मुख मुलुकमा पुरुषहरूले बढी सुर्तीजन्य पदार्थ सेवन गर्ने हुँदा फोक्सोको क्यान्सरबाट मृत्यु हुनेमा पुरुषहरूको संख्या बढी हुने गरेको डा.श्रेष्ठ बताउँछन् । यो रोगको निदान स जिलो भए पनि अधिकांश बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्ने प्रवृत्तिका कारण बर्से्नि मृतकहरूको संख्यामा वृद्धि भइरहेको चिकित्सकहरू औंल्याउँछन् ।
ललितपुरका आकाश महर्जन पनि फोक्सोको क्यान्सरबाट पीडित छन् । १० वर्षदेखि उनी क्यान्सरबाट प्रताडित भइरहेका छन् । ५५ वर्षीय महर्जनले सानै उमेरदेखि चुरोट र मादक पदार्थ सेवन गर्ने गरेको उनले सुनाए, ‘हाम्रो त संस्कृतिमा रक्सी खाने चलनै छ, घरमै बन्छ, ‘उनले भने, ‘दैनिक खान्थें, नखाई बस्नै सके पो ।’ महर्जनको क्यान्सर तेस्रो स्टेजमा छ । उनी अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् ।
क्यान्सरका अधिकांश बिरामी तेस्रो र चौथो स्टेजमा मात्रै अस्पताल पुग्ने हुँदा आधाभन्दा कम बिरामीलाई मात्रै बचाउन सकिने डा.श्रेष्ठ बताउँछन् । ‘पहिलो र दोस्रो स्टेजमा उपचार थाल्ने हो भने ९० प्रतिशतको ज्यान जोगाउन सकिन्छ,’ उनले भने ।
समयमै क्यान्सरबाट बच्नका लागि ४० वर्ष ननाघेका हरेक व्यक्तिले नियमित स्वास्थ परीक्षण गराउनुपर्ने भक्तपुर क्यान्सर अस्पतालका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल बताउँछन् । लगातार खोकी लाग्नु, खकारमा रगत देखिनु, छाती दुख्नु, सास फेर्न समस्या हुनु र वजन र भोकमा कमी हुनु फोक्सोको क्यान्सरका प्रमुख लक्षण हुन् ।
विश्व स्वास्थ्य संगठनले क्यान्सरबाट हुने कुल मृत्युमध्ये फोक्सोको क्यान्सरलाई प्रमुख मानेको छ । फोक्सोको क्यान्सरकै कारण विश्वव्यापी बर्से्नि १.३ करोडको मृत्यु हुने गरेको छ । क्यान्सरबाट हुने हरेक पाँच मृत्युमध्ये एक मृत्यु फोक्सो क्यान्सरबाट हुने गरेको अमेरिकन क्यान्सर सोसाइटीको तथ्यांक छ ।
कान्तिपुर दैनिकबाट
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
पत्रपत्रिकाबाट
मधेश प्रदेशमा भक्तपुर क्यान्सर हस्पिटलद्धारा पाठेघरको मुख र स्तन क्यान्सर स्क्रिनिङ
सोमबार, वैशाख २८, २०८३
नेपालमा क्यान्सरको वास्तविक चित्र
मंगलबार, वैशाख २२, २०८३
क्यान्सर पर्खालभित्रको मानवीय कथा
मंगलबार, वैशाख २२, २०८३
क्यान्सरविरुद्धको रणनीति कागजमै सीमित
शुक्रबार, वैशाख ११, २०८३
युवावस्थामै क्यान्सरः अनुभूति होइन, डाटाले देखाएको गम्भीर संकट
बिहीबार, वैशाख १०, २०८३ट्रेन्डिङ

