नेभिगेशन
बढ्दो बिरामी चापले धान्न छाड्यो विद्यमान संरचना, क्षमता दोब्बर बनाउनेदेखि स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्मका प्रस्ताव

भक्तपुर क्यान्सर अस्पताल बिस्तारको बहसः बेडदेखि जग्गासम्म, अब ‘कुरा’ होइन कार्यान्वयनको दबाब

जग्गा प्राप्ति, वैकल्पिक भवन, अत्याधुनिक प्रविधि र स्क्रिनिङलाई एकीकृत योजनामा लैजान सरोकारवालाको जोड

नेपाल हेल्थ  न्युज, भक्तपुर । बढ्दो बिरामी चाप, सीमित बेड क्षमता र साँघुरिँदै गएको भौतिक पूर्वाधारले भक्तपुर क्यान्सर अस्पतालको भविष्यको विस्तारलाई गम्भीर बहसको विषय बनाएको छ । उपचारका लागि देशभरबाट बिरामी आउने अस्पतालले अहिले उपलब्ध संरचनाबाट माग धान्न कठिन हुँदै गएपछि थप बेड, नयाँ जग्गा, वैकल्पिक भवन, अत्याधुनिक प्रविधि र दक्ष जनशक्ति विस्तारको आवश्यकता औँल्याइएको छ ।

बढ्दो क्यान्सर बिरामीको चापलाई मध्यनजर गर्दै भक्तपुर क्यान्सर अस्पतालको सेवा, पूर्वाधार तथा क्षमता बिस्तारका विषयमा शुक्रबार भएको जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा  संघीय सांसदहरू रुकेश रञ्जित, डा. आनन्दबहादुर चन्द, प्रमिला कुलुङ, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालगायत विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो । 


dr-ujjwal-chalise-(2)-1787477073.jpg
अस्पतालको सरकारी स्वीकृति १०० बेडको भए पनि आईसीयू, इमर्जेन्सी, अप्रेसन थिएटर र डे–केयरसहित करिब १६५ बेडबाट सेवा दिइरहेको अस्पतालले जनाएको छ । तर भर्नाका लागि उपलब्ध १२७ बेडले बढ्दो चाप धान्न नसकेको कार्यकारी निर्देशक डा. उज्जवल चालिसेको भनाइ छ ।
उहाँका अनुसार बेड अभावकै कारण दैनिक २०–३० जना बिरामी फर्काउनुपर्ने अवस्था छ । कतिपय अवस्थामा शल्यक्रिया र केमोथेरापीसमेत स्थगित गर्नुपर्ने अवस्था आउने गरेको छ । एउटा बेड खाली हुनुअघि नै ५–७ जना बिरामी प्रतीक्षामा रहने अवस्था अस्पतालको चाप कति बढेको छ भन्ने देखाउने उदाहरण हो ।

बेड अभावको असर उपचारका सबै तहमा
भक्तपुर क्यान्सर अस्पतालमा दैनिक ८–१० वटा शल्यक्रिया हुँदै आए पनि शल्यक्रियापछि बिरामी राख्ने बेड अभाव हुँदा थप सर्जरी गर्न कठिन हुने गरेको अस्पतालका बोर्ड सदस्यहरुले बताएका छन् ।
बेडको अभावले एउटा विभाग मात्र होइन, सर्जरी, रेडियोथेरापी, केमोथेरापी र डे–केयरलगायत समग्र सेवा प्रणालीमै असर परेको छ ।

‘अहिले बढाउनुपर्ने भनेको बेड संख्या हो । बेड बढाउनलाई ठाउँ छैन, ठाउँको खोजीतिर लाग्नुपर्छ ।’—वोर्ड सदस्य एवं अर्वुद रोग निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठ भन्नुहुन्छ ।


रेडियोथेरापीका लागि बिरामीले एक महिनादेखि डेढ महिनासम्म कुर्नुपर्ने अवस्था रहेको डा. चालिसेले बताउनुभयो । यसले क्यान्सर उपचारमा समयमै सेवा उपलब्ध गराउने चुनौती थपिएको छ ।

‘तत्काल क्षमता दोब्बर बनाउनुपर्छ’
अस्पतालको बढ्दो मागलाई हेर्दा अब सामान्य रूपमा केही बेड थपेर मात्र समस्या समाधान नहुने देखिएको छ । कार्यकारी निर्देशक डा. चालिसेका अनुसार अस्पतालको सेवा क्षमता तत्काल दोब्बर बनाउने अवस्था आएको छ ।


bhaktapur-cancer-hospital-bahas-1787476987.png
अस्पतालले भविष्यमा रोबोटिक सर्जरी, जेनेटिक ल्याब तथा अत्याधुनिक क्यान्सर उपचार प्रविधि भित्र्याउने योजना बनाए पनि त्यसका लागि आवश्यक ठाउँ र पूर्वाधार अभाव प्रमुख चुनौती बनेको छ ।


जेनेटिक परीक्षणका लागि नमुना विदेश पठाउनुपर्ने तथा केही नयाँ क्यान्सर औषधि नेपालमा दर्ता नभएका कारण बिरामी उपचारका लागि भारत जानुपर्ने अवस्था पनि रहेको अस्पतालले जनाएको छ ।


यसले प्रश्न उठाएको छ—बिरामी बढिरहेका बेला उपचारको क्षमता मात्र बढाउने कि अब क्यान्सर उपचारको समग्र प्रणाली नै पुनर्संरचना गर्ने ?

जग्गा नै विस्तारको सबैभन्दा ठूलो अड्चन
अस्पतालको वर्तमान परिसरमा थप भवन निर्माणका लागि पर्याप्त ठाउँ छैन । त्यसैले दीर्घकालीन विस्तारका लागि नयाँ जग्गा व्यवस्थापन अहिलेको सबैभन्दा महत्वपूर्ण विषय बनेको छ ।


चाँगुनारायण नगरपालिकाले अस्पताल विस्तारका लागि करिब ४५ रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनप्रतिनिधिहरूले बताएका छन् । तर जग्गा प्राप्तिको प्रशासनिक तथा कानुनी प्रक्रिया लामो समयदेखि टुंगिन सकेको छैन ।


अस्पताल विकास समिति वोर्ड सदस्य संगीता फुयाँलका अनुसार अस्पतालमा बेड माग्दै दैनिक जनप्रतिनिधिसहित विभिन्न ठाउँबाट फोन आउने गरेको छ । त्यसैले अब दीर्घकालीन पूर्वाधार विस्तारका लागि जग्गाको विषय टुंग्याउनुपर्ने उहाँको जोड छ ।sangita-phuyal-1787477195.jpg

सीडीओको स्पष्ट धारणाः ‘प्रक्रिया पूरा गर्नुस्, म फलोअप गर्छु’
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भने सरकारी जग्गा माग्दैमा सहजै प्राप्त हुने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । 

उहाँका अनुसार सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय, जग्गाको स्वामित्व स्पष्टता, नापी–मालपोतको राय, स्थलगत अध्ययन र सम्बन्धित निकायको सिफारिस आवश्यक हुन्छ । त्यसपछि मात्र प्रस्ताव सम्बन्धित मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्म पुग्ने प्रक्रिया हुन्छ ।


नगरप्रमुखको व्यक्तिगत पत्र मात्र पर्याप्त नहुने भन्दै उहाँले प्रक्रिया पूरा गर्न अस्पताल र स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।

साथै अस्पतालले वास्तवमै कति जग्गा आवश्यक छ भन्ने विषयमा ‘डिमान्ड एनालाइसिस’ गर्नुपर्ने उहाँको सुझाव छ ।

binod-kumar-khadka-1787477043.jpg
‘जमिन भेटियो भन्दैमा सबै चाहिने होइन । पूर्वाधारका लागि कति जमिन चाहिने हो, त्यसको अध्ययन हुनुपर्छ,’ खड्काले भन्नुभयो ।
जग्गा प्राप्तिको फाइल निरन्तर फलोअप गर्न अस्पतालले एक जना डेडिकेटेड व्यक्ति तोक्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

‘प्रक्रिया पूरा गर्नुस्, फाइल कहाँ रोकिएको छ म आफैं हेर्छु र फलोअप गर्छु,’ उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

‘गुनासो मात्रै गरेर हुँदैन, अब काम गरौँ’

बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले अस्पताल विस्तारको विषय वर्षौँसम्म छलफलमै सीमित हुन नहुने बताउनुभएको छ ।
उहाँका अनुसार अस्पतालको लागि प्रस्तावित ४५ रोपनी १२ आना जग्गाको प्रक्रिया टुंग्याउन सीडीओ, नापी, मालपोत, भूमि प्रशासन, स्थानीय तह र अस्पतालका प्रतिनिधि सम्मिलित टोली बनाएर एकैपटक स्थलगत निरीक्षण गर्न सकिन्छ ।

‘गुनासो मात्रै गरेर केही हुँदैन । कुरा गरेर मात्रै चिउरा भिज्दैन । अब कसले के गर्ने हो, जिम्मेवारी तोकेर काम गरौँ,’—श्रेष्ठले भन्नुभयो ।


suresh-shrestha-1787477215.jpg
अस्पतालको नयाँ भवन निर्माण गर्दा सेवा प्रभावित हुन सक्ने भएकाले त्यस अवधिका लागि भक्तपुरमा रहेका प्रयोगविहीन सरकारी भवनलाई अस्थायी रूपमा प्रयोग गर्ने विकल्प समेत खोज्नुपर्ने उहाँको सुझाव छ ।

‘समस्या पनि हामी, समाधान पनि हामी’

चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले अस्पतालको समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहले एउटै टिमका रूपमा काम गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले अस्पताल विस्तारका लागि नगरपालिकाले उपलब्ध गराउन खोजेको जग्गाको प्रक्रिया टुंग्याउन पहल आवश्यक रहेको जानकारी गराउनुभयो । 


jivan-khatra-1787477159.jpg
मेयर खत्रीले बैठक र छलफल मात्र गर्नेभन्दा विज्ञ कार्यदल बनाएर बेड, जग्गा, जनशक्ति, पूर्वाधार, सेवा विस्तार र कानुनी संरचनाको स्पष्ट कार्ययोजना बनाउनुपर्ने प्रस्ताव अघि सार्नुभयो ।

राजनीतिक हस्तक्षेप होइन, साझा प्रतिबद्धता
भक्तपुर क्षेत्र नं. १ का सांसद रुकेश रञ्जितले अस्पतालको विकास राजनीतिक खिचातानीबाट नभई साझा प्रतिबद्धताबाट अघि बढाउनुपर्ने बताउनुभएको छ । 

rukesh-ranjit-1787476997.png
उहाँका अनुसार अस्पताललाई सकेसम्म स्वायत्त, संस्थागत र प्रणालीमा आधारित बनाएर सञ्चालन गर्नुपर्छ ।

‘राजनीतिक द्वेषले कुनै पनि संस्थालाई सिध्याउन सक्छ । संस्थालाई कहाँसम्म पु¥याउने र कुन भिजनमा लैजाने भन्ने विषयमा हामी सबै एकत्रित हुनुपर्छ,’— रञ्जितले भन्नुभयो ।

अस्पतालको सेवा विस्तारका लागि आवश्यक पेट स्क्यानलगायत उपकरण खरिद पनि राजनीतिक निर्णयका आधारमा नभई बिरामीको संख्या, अस्पतालको आवश्यकता र सेवाको प्रभावकारिता हेरेर गर्नुपर्ने उहाँको भनाइ छ ।

वैकल्पिक भवनदेखि स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म

दीर्घकालीन पूर्वाधार निर्माणमा समय लाग्ने भएकाले तत्कालका लागि वैकल्पिक संरचना प्रयोग गर्ने प्रस्ताव पनि अघि आएको छ ।

थिमिस्थित क्षयरोगको खाली भवनलगायत प्रयोग गर्न मिल्ने सरकारी संरचना पहिचान गरी अस्पतालको डे–केयर, प्यालियाटिभ केयर वा अन्य सेवा विस्तारमा प्रयोग गर्न सकिने सम्भावनाबारे छलफल भइरहेको छ ।

त्यसैगरी भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रबीच सहकार्य गर्दै भविष्यमा ‘भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने अवधारणासमेत अघि आएको छ ।

तीनवटै संस्थालाई एकैपटक गाभ्नेभन्दा सेवा, जनशक्ति र पूर्वाधारमा क्रमशः सहकार्य गर्दै जाने विकल्पमा जोड दिइएको छ ।

रञ्जितले मानव अंग प्रत्यारोपण केन्द्रमा क्याथल्याब सञ्चालन गर्न भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आईसीयू पूर्वाधार प्रयोग गर्ने गरी सहकार्यको तयारी भइरहेको समेत जानकारी दिनुभएको छ ।

बिरामीले पहुँच होइन, सिस्टम खोज्ने अवस्था कहिले ?

अस्पताल विस्तारसँगै सेवा प्रवाहको प्रणाली सुधार पनि अर्को महत्वपूर्ण विषय बनेको छ ।
सांसद रञ्जितले बिरामीले बेड वा उपचारका लागि सांसद, सीडीओ वा अन्य व्यक्तिको पहुँच खोज्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । 

‘माननीयज्यूलाई भनेर वा सीडीओ साबलाई भनेर बेड माग्नुपर्ने अवस्था नहोस् । अस्पतालमा आउने हरेक बिरामी सिस्टमअनुसार आफैँ एडमिट हुने, उपचार पाउने र डिस्चार्ज हुने वातावरण बनाउनुपर्छ,’—उहाँले भन्नुभयो । 

जनस्वास्थ्य कार्यालय भक्तपुरकी शाखा प्रमुख अञ्जना खड्काले पनि उपचार प्रक्रियामा बिरामीले लामो समय लाइन बस्नुपर्ने अवस्थालाई सुधार गर्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार सरकारी अस्पतालको सेवा अझ सहज, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन आवश्यक छ ।

उपचारसँगै स्क्रिनिङ पनि विस्तार गर्नुपर्ने
अस्पताल विस्तारको बहस पूर्वाधार र उपचारमा मात्र सीमित नराखी क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानसँग पनि जोड्नुपर्ने खड्काको भनाइ छ ।

anjana-khadka-1787477029.jpg
जनस्वास्थ्य कार्यालयले भक्तपुरका चारवटै नगरपालिकामा समुदायस्तरमा क्यान्सर स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिरहेको र त्यसमा भक्तपुर क्यान्सर अस्पतालले जनशक्ति तथा प्राविधिक सहयोग गरिरहेको उहाँले बताउनुभयो । 

‘उपचारका लागि मात्र नभएर बेलैदेखि स्क्रिनिङ गर्ने कुरामा बढीभन्दा बढी फोकस गर्नुपर्छ,’ —खड्काले भन्नुभयो ।

उहाँका अनुसार संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य कार्यक्रममा रोकथाम, स्क्रिनिङ, प्रारम्भिक पहिचान र समयमै रेफरललाई प्राथमिकता दिन आवश्यक छ ।

‘टुक्रे’ सेवा होइन, ३६० डिग्रीको क्यान्सर उपचार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. आनन्दबहादुर चन्दले भक्तपुर क्यान्सर अस्पतालको विस्तारलाई एउटा अस्पतालको भौतिक dr-ananda-chand-1787477055.jpg
विकासका रूपमा मात्र हेर्न नहुने बताउनुभएको छ ।
उहाँका अनुसार क्यान्सर उपचारमा शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी, इमेजिङ, प्याथोलोजी, जेनेटिक तथा आणविक परीक्षणलगायत सेवा एकीकृत हुनुपर्छ ।

‘एउटा अस्पतालमा गएपछि उपचार ३६० डिग्रीमा हुन्छ भन्ने विश्वास बिरामीलाई दिन सक्नुपर्छ ।’

उहाँले एउटा रेडियोथेरापी मेसिन बिग्रिँदा सम्पूर्ण सेवा प्रभावित हुने अवस्था अन्त्य गर्न वैकल्पिक प्रणाली आवश्यक रहेको बताउनुभयो ।

उहाँले अब डाटामा आधारित योजना, बजेट र पूर्वाधार विकास आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । 

अब प्रश्न ‘जग्गा कहिले?’ मात्र होइन
भक्तपुर क्यान्सर अस्पतालमा देखिएको समस्या अहिले केही बेड थप्ने वा एउटा भवन बनाउने विषयमा मात्र सीमित छैन ।

बढ्दो बिरामी चाप,  बेड अभाव,  सर्जरीमा असर, रेडियोथेरापीमा चाप, सेवा विस्तारमा अवरोध, नयाँ पूर्वाधारको आवश्यकता अस्पतालको वर्तमान अवस्था यही चक्रमा घुमिरहेको देखिन्छ ।

त्यसैले अब अस्पताल विस्तारका लागि पाँचवटा विषयलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ—

  • तत्काल बेड क्षमता वृद्धि
  • ४५ रोपनीभन्दा बढी प्रस्तावित जग्गाको प्रक्रिया टुंग्याउने
  • नयाँ वा वैकल्पिक भवनबाट सेवा विस्तार
  • अत्याधुनिक प्रविधि र दक्ष जनशक्ति थप्ने
  • उपचारसँगै स्क्रिनिङ र एकीकृत क्यान्सर सेवा विकास गर्ने

यससँगै भक्तपुरका स्वास्थ्य संस्थाबीच सहकार्य, सम्भावित स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रणालीमा आधारित सेवा प्रवाहको अवधारणालाई पनि ठोस योजनामा बदल्नुपर्ने आवश्यकता छ ।

अबको असली परीक्षा
भक्तपुर क्यान्सर अस्पतालका लागि अहिलेको चुनौती समस्या पहिचान गर्नु मात्र नभई पहिचान भएका समस्यालाई समयसीमासहित समाधानमा बदल्नु हो ।

  • जनप्रतिनिधि भन्छन्—‘कुरा होइन, काम गरौँ ।’
  • प्रशासन भन्छ—प्रक्रिया पूरा गर्नुस्, फलोअप गर्छु ।
  • अस्पताल भन्छ—क्षमता दोब्बर गर्नुपर्ने अवस्था छ ।
  • जनस्वास्थ्य क्षेत्र भन्छ—उपचारसँगै स्क्रिनिङ बढाऔँ ।
  • नीति निर्माताको सुझाव छ—टुक्रे होइन, ३६० डिग्रीको प्रणाली बनाऔँ ।

अब यी सबै आवाजलाई एउटै कार्ययोजना, बजेट र समयसीमामा जोड्न सकिन्छ कि सकिँदैन—भक्तपुर क्यान्सर अस्पतालको भविष्य यही प्रश्नको उत्तरमा निर्भर देखिन्छ । bhaktapur-cancer-hospital1-1747836074.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप क्यान्सर