नेभिगेशन
जीवित कोशिकाले गर्ने क्यान्सर उपचारः कार–टी सेल थेरापी कसरी काम गर्छ ?

नेपालमै सुरु हुँदै कार–टी सेल थेरापीः क्यान्सर उपचारमा नेपालको ऐतिहासिक फड्को

काठमाडौं क्यान्सर सेन्टर र सीआरएमको सहकार्यमा विश्वस्तरीय उपचार सेवा; बोन म्यारो ट्रान्सप्लान्ट, स्टेरियोट्याक्टिक रेडियोथेरापी  र अन्तर्राष्ट्रिय अनुसन्धानले थप्यो नयाँ आय

नेपाल हेल्थ न्युज, काठमाडौं । कुनै समय क्यान्सर लागेको खबर सुन्नासाथ अधिकांश नेपाली परिवारको पहिलो विकल्प भारत वा अन्य विदेशी अस्पताल हुन्थ्यो । उपचारभन्दा पहिले नै करोडौँ रुपैयाँको खर्च, महिनौँसम्म विदेश बस्नुपर्ने बाध्यता र परिवारमाथिको मानसिक तनाव नेपाली क्यान्सर बिरामीको साझा नियति बनेको थियो।तर अब यो अवस्थालाई परिवर्तन गर्ने लक्ष्यसहित नेपालमै क्यान्सर उपचारमा एउटा नयाँ अध्याय सुरु भएको छ ।

काठमाडौं क्यान्सर सेन्टरले नेपालमै कार–टी सेल थेरापी, बोन म्यारो ट्रान्सप्लान्ट, (बी–एम–टी), अत्याधुनिक स्टेरियोट्याक्टिक लाइनेक रेडियोथेरापी तथा अन्तर्राष्ट्रियस्तरको पेन एन्ड प्यालिएटिभ केयर रिसर्च प्रोग्राम विस्तार गर्दै क्यान्सर उपचारलाई नयाँ उचाइमा पु¥याउने घोषणा गरेको छ । अस्पतालका अनुसार यी सेवा विस्तारसँगै विदेशमा मात्र उपलब्ध हुने धेरै अत्याधुनिक उपचार अब नेपालमै सम्भव हुनेछन् ।


विदेश जानुपर्ने बाध्यता घटाउने लक्ष्य
भक्तपुरको ताथलीमा सन् २०१६ मा स्थापना भएको काठमाडौं क्यान्सर सेन्टर वरिष्ठ नेपाली क्यान्सर विशेषज्ञहरूको पहलमा सुरु भएको संस्था हो । उद्देश्य एउटै थियो—नेपाली बिरामीलाई उपचारका लागि विदेश धाउनुपर्ने बाध्यता कम गर्नु। अस्पतालमा प्रत्येक जटिल क्यान्सर बिरामीको उपचार योजना रेडियसन अन्कोलोजिस्ट, मेडिकल अन्कोलोजिस्ट, सर्जिकल अन्कोलोजिस्ट, रेडियोलोजिस्ट र प्याथोलोजिस्ट सम्मिलित मल्टिडिसिप्लिनरी ट्युमर बोर्डबाट तय गरिन्छ । आज अस्पतालले प्रारम्भिक स्क्रिनिङदेखि केमोथेरापी, इम्युनोथेरापी, टार्गेटेड थेरापी, जटिल क्यान्सर शल्यक्रिया, आधुनिक रेडियोथेरापी, पुनःस्थापना सेवा तथा प्यालिएटिभ केयरसम्मका सेवा एउटै छानामुनि उपलब्ध गराउँदै आएको छ ।

 

नेपालमा पहिलोपटक कार–टी सेल थेरापी 
पत्रकार सम्मेलनको केन्द्रबिन्दु थियो— कार–टी सेल थेरापी । यो संसारकै सबैभन्दा आधुनिक क्यान्सर उपचारमध्ये एक मानिन्छ ।

काठमाडौं क्यान्सर सेन्टरले स्पष्ट पारेको छ कि यो सेवा टोखास्थित सेन्टर फर रिजेनेरेटिभ मेडिसिन (सी–आर–एम) सँगको सहकार्यमा सञ्चालन हुनेछ। यसमा बिरामीको शरीरबाट टी सेल निकालिन्छ । त्यसपछि सी–आर–एमको अत्याधुनिक प्रयोगशालामा जेनेटिक इन्जिनियरिङ मार्फत ती कोषलाई क्यान्सर पहिचान गरी नष्ट गर्न सक्ने गरी परिवर्तन गरिन्छ । ती परिमार्जित कोशिका करोडौँ संख्यामा वृद्धि गरेपछि पुनः बिरामीकै शरीरमा हालिन्छ । त्यसपछि ती जीवित कोशिकाले शरीरभित्र नै क्यान्सर कोष खोज्दै नष्ट गर्न थाल्छन् ।

वरिष्ठ क्लिनिकल अंकोलोजिष्ट डा. सिमित सापकोटाका अनुसार यही कारण कार–टी सेल थेरापी लाई सेल्युलर थेरापी अर्थात् ‘जीवित कोशिकालाई नै औषधिको रूपमा प्रयोग गर्ने उपचार’ भनिन्छ ।

 

सबै क्यान्सरका लागि होइन
वरिष्ठ क्यान्सर विशेषज्ञ प्रा.डा. अञ्जनीकुमार झाका अनुसार अहिले नेपालमा सुरु हुन लागेको कार–टी सेल थेरापी मुख्यतः रिल्याप्स भएका ल्युकेमिया र लिम्फोमा बिरामीका लागि हो । विश्वका केही मुलुकमा मल्टिपल माइलोमाका लागि पनि कार–टी उपलब्ध भइसकेको छ । तर फोक्सो, पेट, स्तनलगायतका अधिकांश सोलिड ट्युमरका लागि भने अनुसन्धान भइरहेको छ। विशेषज्ञहरूको अनुमान छ—आगामी ५ देखि १० वर्षभित्र धेरै प्रकारका क्यान्सरमा पनि कार–टी सेल थेरापी उपलब्ध हुनेछ ।

 

कार भनेको के हो ?
कार को पूरा नाम काइमेरिक एन्टिजेन रिसेप्टर हो । सामान्य अवस्थामा शरीरका टी सेल ले धेरैजसो क्यान्सर कोषलाई पहिचान गर्न सक्दैनन्। तर जेनेटिक इन्जिनियरिङ मार्फत टी सेलमा कार नामक विशेष प्रोटिन जोडिएपछि ती कोशिकाले क्यान्सरलाई पहिचान गरी आक्रमण गर्न सक्छन् । त्यसैले कार–टी सेल थेरापीलाई क्यान्सर उपचारको नयाँ पुस्ताको प्रविधि मानिन्छ।


उपचार प्रक्रिया कस्तो हुन्छ ?
क्लिनिकल अंकोलोजिष्ट डा. सापकोटाकाअनुसार, उपचारका लागि योग्य बिरामी छनोट भएपछि सुरुमा रगतबाट टी सेल निकालिन्छ । ती कोष प्रयोगशालामा पठाइन्छ । जेनेटिक इन्जिनियरिङमार्फत् कार जोड्न र पर्याप्त कोशिका तयार गर्न करिब तीन हप्ता लाग्छ । त्यसपछि बिरामीलाई अस्पतालमा भर्ना गरिन्छ। कार–टी सेल दिनुभन्दा पाँच दिनअघि विशेष केमोथेरापी दिइन्छ । त्यसपछि एक दिनमै कार–टी सेल इन्फ्युजन गरिन्छ । इन्फ्युजनपछि सम्भावित जटिलताको जोखिम रहने भएकाले बिरामीलाई करिब दुई सातासम्म विशेष आइसोलेसन कक्षमा राखिन्छ । डिस्चार्ज भएको एक महिनापछि सी–टी स्क्यान वा पेट–सीटी स्क्यान गरेर उपचारको प्रभाव मूल्याङ्कन गरिन्छ ।

कति सफल छ कार–टी सेल थेरापी ?
विशेषज्ञहरूका अनुसार कार–टी कुनै जादुई उपचार होइन। ‘क्यान्सरमा १०० प्रतिशत निको हुन्छ भन्ने उपचार संसारमै छैन,’ डा. सापकोटाले स्पष्ट पार्नुभयो । तर अन्य उपचार असफल भएका वा रोग दोहोरिएका बिरामीमा कार–टी ले उत्साहजनक परिणाम दिएको छ ।

सी–डी नाइन्टिन आधारित कार–टी थेरापी ले करिब ६० प्रतिशतसम्म दीर्घकालीन उपचार सफलता देखाएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको चिकित्सकहरूको भनाइ छ ।

नेपाल विश्वको सातौँ उत्पादक राष्ट्र बन्ने दाबी
क्यान्सर विशेषज्ञ डा. सुवास पण्डितका अनुसार कार–टी सेल उत्पादन गर्ने क्षमता अहिले विश्वका सीमित मुलुकमा मात्रै छ । सी–आर–एमले नेपालमै यसको उत्पादन सुरु गरेसँगै नेपाल विश्वको सातौँ उत्पादक राष्ट्र बन्ने दाबी गरिएको छ । उहाँका अनुसार उत्पादन गर्ने जिम्मा सी–आर–एम को हुनेछ भने बिरामीमा उपचार दिने सम्पूर्ण क्लिनिकल सेवा काठमाडौं क्यान्सर सेन्टरले सञ्चालन गर्नेछ ।

किन काठमाडौं क्यान्सर सेन्टर ?
अस्पतालका अनुसार कार–टी उत्पादन जसले पनि गर्न सक्छ भन्ने होइन। यसका लागि विशेष प्रयोगशाला, बोन म्यारो ट्रान्सप्लान्ट युनिट, आइसोलेसन वार्ड, प्रशिक्षित नर्सिङ टोली, विशेषज्ञ चिकित्सक तथा जटिलता व्यवस्थापन गर्न सक्ने क्षमता आवश्यक हुन्छ। करिब दुई वर्षदेखि अस्पतालले यही तयारी गर्दै आएको जनाएको छ ।

बोन म्यारो ट्रान्सप्लान्ट पनि नेपालमै


काठमाडौं क्यान्सर सेन्टरले जनवरी २०२७ देखि बोन म्यारो ट्रान्सप्लान्ट सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

हाल नेपालमा सीमित केन्द्रमा मात्र बोन म्यारो ट्रान्सप्लान्ट (बी–एम–टी) हुने भएकाले धेरै बिरामी अझै पनि भारत जान बाध्य छन्। नयाँ सेवा सुरु भएपछि यो समस्या कम हुने अस्पतालको विश्वास छ।

स्टेरियोट्याक्टिक रेडियोथेरापीः शल्यक्रियाबिनै उपचार
अस्पतालले अत्याधुनिक स्टेरियोट्याक्टिक लाइनेक पनि सञ्चालनमा ल्याएको छ। यसबाट मस्तिष्कका केही प्रकारका ट्युमर शल्यक्रिया नगरी नै उपचार गर्न सकिने चिकित्सकहरूले बताएका छन्। बोन म्यारो ट्रान्सप्लान्टका लागि आवश्यक टोटल बडी इराडिएसन (टी–बी–आई) तथा केही विशेष प्रकारका ब्रेकीथेरापी सेवा पनि नेपालमा काठमाडौं क्यान्सर सेन्टरमै उपलब्ध रहेको अस्पतालको दाबी छ।

विदेशभन्दा धेरै सस्तो
कार–टी थेरापी महँगो उपचार हो। अस्पतालका अनुसार—

  • अमेरिकामा  ६–८ करोड रुपैयाँ
  • सिंगापुरमा ४–५ करोड रुपैयाँ
  •  भारतमा  ४५–५० लाख रुपैयाँ

नेपालमा भने प्रारम्भिक चरणमा करिब ४५ लाख रुपैयाँमै उपलब्ध गराउने तयारी गरिएको छ। अस्पतालले नेपाली बिरामीको आर्थिक क्षमता विचार गरेर मूल्य निर्धारण गरिएको जनाएको छ।

विदेश जाने सोच बदल्नुपर्ने समय
पत्रकार सम्मेलनमा चिकित्सकहरूले अर्को महत्वपूर्ण विषय पनि उठाए। उनीहरूका अनुसार नेपालमा दक्ष चिकित्सक, आधुनिक उपकरण र आवश्यक प्रविधि हुँदाहुँदै पनि ‘विदेशमै राम्रो उपचार हुन्छ’ भन्ने धारणा अझै बलियो छ । यही मानसिकता परिवर्तन गर्नु आवश्यक रहेको उनीहरूको भनाइ थियो । उनीहरूले नेपाली स्वास्थ्य प्रणालीमाथि विश्वास बढाउन सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।

गाउँमा क्यान्सर बढेको होइन, पहिचान बढेको हो
डा. अञ्जनी कुमार झाका अनुसार अहिले गाउँघरमा पनि क्यान्सर धेरै देखिनुको कारण रोग बढेको मात्र होइन । स्वास्थ्य चेतना बढ्नु, परीक्षण सहज हुनु र निदान सेवा विस्तार हुनु पनि यसको प्रमुख कारण हो । त्यसैगरी

जीवनशैलीमा आएको परिवर्तन, वैदेशिक रोजगारी र एच–पी–भी (ह्युमन प्यापिलोमाभाइरस) जस्ता भाइरस संक्रमणसँग सम्बन्धित जोखिमका कारण पनि केही प्रकारका क्यान्सर बढिरहेको चिकित्सकहरूको भनाइ छ ।

क्यान्सर उपचारमा आत्मनिर्भरताको नयाँ सुरुवात
कार–टी सेल थेरापी, बोन म्यारो ट्रान्सप्लान्ट, अत्याधुनिक स्टेरियोट्याक्टिक रेडियोथेरापी तथा अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्यको विस्तारसँगै काठमाडौं क्यान्सर सेन्टरले नेपाललाई क्यान्सर उपचारमा नयाँ युगतर्फ अघि बढाउने प्रयास गरेको छ ।

यदि यी सेवा प्रभावकारी रूपमा सञ्चालन भए भने नेपाली बिरामीले अत्याधुनिक उपचारका लागि विदेश धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा घट्न सक्छ। यो केवल एउटा अस्पतालको उपलब्धि मात्र नभई नेपालमा क्यान्सर उपचारलाई आत्मनिर्भर र विश्वसनीय बनाउने दिशामा एउटा ऐतिहासिक फड्कोका रूपमा पनि हेरिएको छ ।


अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्य विस्तार
क्यान्सर बिरामीको जीवनस्तर सुधार, प्रभावकारी दुखाइ व्यवस्थापन तथा प्यालिएटिभ केयरलाई थप सुदृढ बनाउने उद्देश्यले काठमाडौं क्यान्सर सेन्टरले पेन एन्ड प्यालिएटिभ केयर रिसर्च प्रोग्राम विस्तार गरेको जनाएको छ । यस कार्यक्रमअन्तर्गत बेलायतको किङ्ज् कलेज तथा जापानका विभिन्न विश्वविद्यालयसँग अनुसन्धान तथा शैक्षिक सहकार्य सुरु गरिएको अस्पतालले जानकारी दिएको छ। सेन्टरले उपचार, अनुसन्धान र आधुनिक प्रविधिलाई एकीकृत गर्दै नेपालमै अन्तर्राष्ट्रियस्तरको क्यान्सर सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप क्यान्सर